


लसएञ्जल्समा ड्रीम होम बनाउन चाहन्थे सुशान्त

मुम्बई(एजेन्सी)–बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको फिल्म ‘केदारनाथ’ प्रदर्शनको दुई वर्ष पुरा भएको छ । उनका मिल्ने साथी विश दुबेले सामाजिक सन्जालमा एक भावुक पोस्ट शेयर गर्दै उनको स्मरण गरेका छन् । उनले फिल्म ‘केदारनाथ’को सुटिङ समयको स्मरण गर्दै सुशान्तले आफूलाई हलिउड करियर र लसएन्जल्समा सपनाको घरको योजना सुनाउने गरेको खुलाएका छन् ।
‘जब सुशान्तले केदारनाथको सुटिङका लागि घर छोडे । तब उनले मलाई ४–५ वटा पुस्तक पढ्नका लागि छोडेर गएका थिए । दुई हप्ता पपछि उनले मलाई त्यहाँ बोलाए । मैले तयारी शुरु गरें, मैले केही कपडा प्याक गरें । त्यही समयमा मैले हामी त्यहाँ चर्चा गर्नेछौं र केही दिन पछि फर्किनेछौं भन्ने सोचें । तीन दिनपछि केदारनाथको गौरीकुण्ड पुगें र उसलाई भेटें’, उनले लेखेका छन् ।
उनले अगाडि लेखेका छन्, ‘दोस्रो रात हामी त्यहाँ कुरा गरिरहेका थियौं । करिब एक घण्टा कुराकानी गरेपछि सुशान्तले मलाई ‘सुन अब बलिउडमा मात्र गर्दिनँ । हामीले प्रतिबद्धता गरेका फिल्मको काम छिटो सक्ने हो । सन् २०२० सम्म हामी हलिउड जानुपर्छ । यो हो मेरो विस्तृत योजना’ भनेको थियो । उसले मलाई लस एन्जल्समा आफ्नो ड्रीम होमको एउटा रफ स्केच देखाएको थियो । यसका लागि कसरी तयारी गर्ने हो त्यो पनि बताएको थियो ।’
सुशान्त ३४ वर्षको उमेरमा मुम्बईको बान्द्रास्थित आफ्नो फ्ल्याटमा गत जून १४ मा मृत भेटिएका थिए । उनको मृत्युको विषयमा अनुसन्धान गरिरहेको सेन्ट्रल ब्यूरो अफ इन्भेस्टिगेसन एजेन्सीले सोमबार सुप्रिम कोर्टमा पब्लिक इन्टरेस्ट लिटिगेशनको फाइल दर्ता गराएको छ । यो लिटिगेशनमा सुशान्त मुद्दाको जाँच कहाँसम्म पुग्यो र त्यसको परिणाम के आयो भन्ने कुराको माग गरिएको छ ।

