एनसेलको चलाखीः आईपीओ खुले प्रतिकित्ता १ लाख २४ हजार १ सय !
केही समयदेखि हामीले ठूला–ठूला प्रख्यात कम्पनीहरुले साधारण शेयर जारी गर्ने भन्ने कुराको हल्ला त जताततै सुनेका नै थियौँ । जसमा डिसहोम, सिजी ग्रुप , एनसेल जस्ता कम्पनीहरुको नाम जोडिएको थियो । तर प्राईभेट कम्पनीबाट पब्लिक कम्पनी भएपछि साधारण शेयर निष्काशन गर्नुपर्ने प्रावधानलाई यस्ता कम्पनीहरु सम्बोधन गर्ने पक्षमा भने हाल देखिएका छैनन् । जसको रणनीतिक सुरुवात एक्जियटा कम्पनी (एनसेल) ले गरेको छ ।
तपाईहरुले लगभग हप्तादिन अघि एनसेलको एक कित्ता शेयरको कारोबार १ लाख २४ हजारमा भएको भन्ने हल्ला त सुन्नुभएकै होला । कि सुन्नुभएकै छैन ? ल छैन भनेपनि पढ्दै जानुस् म बताउँदै जानेछु ।
हामी आइपीओ भर्दा–भर्दा वाक्क भएका लगानीकर्ताहरुलाई, आइपीओ खुलाएर धितोपत्र बोर्डमा सूचिकृत कम्पनीको सुरुवाती चरणको शेयर मूल्य साधारणतया कति हुन्छ भनेर प्रायः सबैलाई थाहा नै छ । हामी एकिनका साथ भन्न सक्छौँ कि हाइड्रो भए ५०० देखि १००० अनि लघुवित्त भए १५०० देखि ५००० सम्म पुग्छ । तर यहाँ धितोपत्र बोर्डमा सूचिकृत नै नभएको कम्पनी एनसेलको शेयर मूल्य प्रतिकित्ता १ लाख २४ हजार १ सयमा गत साउन २४ गते कारोबार भइसकेको छ ।
अब तपाइँलाई लाग्न सक्छ यो कसरी सम्भव भयो ? किन भयो ? र यसको नतिजा के हुन्छ ?
नेपालका साधारणतया शेयरको कारोबार दुई तरिकाबाट गर्न सकिन्छ । हामीले कारोबार गर्दै आएको बजारलाई अर्गनाइज्ड मार्केट भनिन्छ । यो बजारमा धितोपत्र बोर्डमा सूचिकृत कम्पनिको शेयर निश्चित समयावधिमा ब्रोकरको सहयोग मार्फत तुरुन्तै कारोबार गर्न सकिन्छ । भने अर्को बजारलाई ओटिसी (ओभर दि काउन्टर) मार्केट भनिन्छ । यस बजार मार्फत धितोपत्र बोर्डमा सूचिकृत नभएका, हुन नसकेका र सूचिकरणबाट हटाइएका कम्पनीहरुको शेयर कारोबार गर्न सकिन्छ । यस बजारमा कुनैपनि ब्रोकर नहुने भएकाले शेयर खरिद बिक्रिको सम्पूर्ण काम नेप्सेले नै गर्दछ, जसले गर्दा लगानीकर्ताहरुको ब्रोकर कमिशन बराबरको रकम बचत हुन्छ । नेपालमा ओटीसी मार्केटको सुरुवात २०६५ सालदेखि भएपनि यस मार्फत पहिलो कारोबार भने २०६८ सालमा नेपाल बैंक लिमिटेडको शेयर भएको थियो ।
कसरी हुन्छ त ओटीसी मार्केटमा शेयर कारोबार ?
ओटीसी मार्केटमा कारोबार गर्न अर्गनाइज्ड मार्केटमा जस्तो सजिलो छैन । कुनै एउटा कारोबार सम्पन्नताको लागि निकै समय कुर्नुपर्ने हुन्छ । अझ भन्नुपर्दा कारोबार नै नहुनै सम्भावना पनि प्रबल हुन्छ । त्यसैले यो बजारमा एकदमै फितलो कारोबार हुने गर्दछ ।
नेप्सेले अर्गनाइज्ड मार्केटमा टिएमएस् को ब्यबस्था गरिदिए जस्तै ओटीसी मार्केटको लागि पनि ‘ओटीसी सेल’ विभागको व्यवस्था गरिदिएको छ । कसैलाई कुनैपनि कम्पनीको शेयर किन्न मनलागेमा उसले नेप्सेमा गएर किन्न मनलागेको कम्पनीको नाम, शेयर कित्ता, लगाउन चाहेको मूल्य सबै समेटिएको फारम र जम्मा मूल्यको १० प्रतिशत अग्रिम भुक्तानी रकम समेत बुझाउनुपर्दछ । यो फारमलाई नेप्सेले ओटीसी सेलमा प्रकाशित गर्दछ । आवेदन दिएका मुल्यहरु प्राइस कोटेड बोर्डमार्फत मेल खाएमा नेप्सेले आवश्यक प्रकृया पुरा गरि कारोबार सम्पन्न गराउँदछ । ओटीसी सेलमा सर्वप्रथम, किन्न वा बेच्न दुबैका लागि आवेदन दिन सकिन्छ ।
ओटीसी मार्केटमा ब्रोकरको काम ओटीसी नेप्से विभागले गर्दछ । त्यसैले यसमा कुनै ब्रोकर कमिशन लाग्दैन । तर सेवोन र नेप्से कमिशन भने अर्गनाइज्ड मार्केटमा भन्दा यसमा धेरै लाग्ने गर्दछ, जुन सेवोनको ०.०१५ प्रतिशत (प्रत्येक कारोबारमा समान) रहेको छ भने नेप्सेको कम्तिमा १ प्रतिशत देखि बढीमा २ प्रतिशतसम्म रहेको छ ।
ओटीसी मार्केटमा एकदमै फितलो कारोबार हुने र निकै समय लाग्ने हुनाले लगानीकर्ताहरु अर्गानाइज्ड बजारमा टिएम्एस्को माध्यमबाट मात्रै कारोबार गर्न रुचाउँछन् ।
त्यसोभए ओटीसी मार्केटमा कारोबार नै हुँदैनन् त ? हुन्छन्, ओटीसी मार्केट अन्र्तगत कारोबार हुन्छन् र भइरहेका पनि छन् तर यसमा धेरैजसो कारोबार कारोबारकर्ताकै मिलेमतो र सल्लाहमा आपसि मूल्य छनोट गरि एकजनाले बिक्रि गरेको शेयर अर्को आफन्त, साथि वा चिनजानका कसैले खरिद गर्ने गर्दछन् । यस्तो कारोबार प्रकृया संगठनात्मक फाईदाको लागि बढीजसो प्रयोग भएको पाइन्छ । एनसेलले पनि यसैगरि संगठनात्मक फाईदाको लागि पूर्व अवस्थित शेयरधारकहरुबीच कारोबार गराएको हुनसक्ने सम्भावना प्रबल छ ।
एक कित्ता शेयर कारोबार गराएर कम्पनीलाई फाईदा के त ?
धितोपत्र बोर्डले दूरसञ्चार सेवाप्रदायक प्राइभेट संस्थालाई पब्लिकमा लैजानुपर्ने नियम ल्याएपछि गतवर्ष मात्रै एनसेल पब्लिकमा गएको थियो । पब्लिकमा गएपछि कम्पनीले साधारण शेयर जारी गर्नुपर्ने ब्यवस्था रहेको छ । तर धितोपत्र बोर्डले दूरसञ्चार सेवा प्रदायक संस्थालाई पब्लिकमा जानैपर्ने नियम ल्याएतापनि साधारण शेयर जारी गर्नैपर्छ भन्ने नियम भने कतै उल्लेख गरेको छैन । त्यसैले एनसीएलले पब्लिकमा गएको एक बर्ष बितिसक्दा पनि साधारण शेयरको लागि साधारण सभामा कुनै कुरा उठान गरेको छैन । यसो बुझ्दा अब कम्पनीले साधारण शेयर जारी नगर्ने पक्का जस्तै देखिएको छ ।
आगामी दिनमा धितोपत्र बोर्डले नियम संशोधन गरेर, साधारण शेयर जारी गर्नैपर्ने ब्यवस्था ल्याएमा बिगतको समयमा नै भएको कारोबारको प्रतिकित्ता मूल्यलाई देखाउँदै, त्योभन्दा कम मूल्यमा साधारण शेयर जारी गर्न नसकिने अवस्था देखाउँदै, साधारण शेयर जारी गर्ने झन्झटबाट पन्छिन वा महँगो मूल्यमा साधारण शेयरको बिक्रि गर्न एनसेलले अहिले नै यस्तो रणनीति बनाएको हुनसक्छ ।