बोर्ड अध्यक्ष नहुँदा ६ अर्ब ८० करोडको आईपीओ निश्कासन रोकियो


काठमाडौं – पुँजी बजार क्षेत्रको नियामक निकाय नेपाल धितोपत्र बोर्ड नेतृत्वविहीन हुँदा अर्बाैंको आईपीओ निश्कासन प्रभावित भएको छ ।बोर्डमा २ दर्जन बढी कम्पनीको आईपिओ निश्कासनका लागि अनुमतिको पखाईमा छन् । तर, बोर्ड बैठक बस्न नसकेका कारण आईपीओ निश्कासन हुन सकेको छैन ।

अहिले बोर्डमा ६ अर्ब ८० करोड ७६ लाख ४ सय रुपैयाँ बराबरका ६ करोड १३ लाख ५६ हजार ४ कित्ता आईपीओ निश्कासनका लागि २ दर्जन बढी कम्पनीहरू अनुमतिको पर्खाइमा छन् ।

हकप्रद शेयर, डिवेञ्चर निष्कासन तथा एफपिओ र आईपीओ निस्कासन लागि बोर्डको सञ्चालक समितिबाट निर्णय गराएर निश्कासन अनुमति दिने गरेको थियो । तर, बोर्ड अध्यक्ष नहुँदा बैठक बस्न नसकेको हो ।

केही समय अघिसम्म लगातार सर्वसाधारणका लागि (आईपीओ) निष्कासन भए पनि लामो समयदेखि रोकिएको छ । बोर्डका तत्कालीन अध्यक्षलाई पदबाट बर्खास्त गरेपछि सरकारले नयाँ अध्यक्ष नियुक्ति गर्न सकेको छैन ।

नयाँ अध्यक्ष नियुक्त नहुँदा दैनिक प्रशासनिक काम बाहेक नीतिगत निर्णय बोर्डले गर्न सकेको छैन । अध्यक्ष निलम्बन भएपछि सरकारले दैनिक प्रशासनिक काम चलाउनका लागि कार्यकारी निर्देशक निरज गिरीलाई जिम्मा दिएको छ । तर, धेरै अधिकार नदिँदा काम कारबाही नियमित हुन सकेका छैनन् ।

धितोपत्र बोर्डका अनुसार आईपीओ निष्कासनका लागि आवेदन दिएका कम्पनीको संख्या २५ वटा छ । यी २५ कम्पनीले ६ अर्ब ८० करोड ७६ लाख ४ सय रुपैयाँ शेयर सर्वसाधारणका लागि जारी गर्न अनुमति माग गर्दै बोर्डमा निवेदन दिएका छन् ।

प्रतिक्रिया