कपी क्याट क्राइम: नेतृत्वले ‘थप्पड राजनीति’ चाहेका हुन्?


हिंसामा विल्कुल रुची छैन। शीर्षकले त्यो भावलाई प्रतीत गरेको हुनसक्छ। तर, यो यथार्थ र वाक्क दिक्क भएको गरिब तथा निम्न मध्यम पुस्ताले अपनाउनसक्ने बाध्यकारी बाटो हुनसक्छ।

यसका केही उदाहरण छिमेकका, केही त नेपालकै पनि छन्। राजनीतिले सुखद बाटो लिएन भने दुखद परिणाम भोग्छ नै, यहि सत्य हो। अहिलेको राजनीतिले महात्मा गान्धीको पथलाई भुलीसकेको छ। चन्द्रशेखर आजाद अथवा माओत्सेतुङको बाटोलाई परिवर्तनको मार्ग मान्न थालिसकेको छ।

कृषिमा समस्या भएपछि आक्रोशित भएका भारतीय एक युवाले त्यहाँका तत्कालिन कृषिमन्त्री शरद पावरलाई सार्वजनिक स्थलमा थप्पड हिर्काएका थिए। भारतका लागि यो खबर अत्यन्तै चर्चाको विषय भएको थियो र भारतीय सरकारका लागि लाजमर्दो पनि।

भारतीय संचार माध्यमहरूमा यसका अनेकन विश्लेषणहरू भए। हिन्दुस्तान दैनिकले सम्पादकीय लेख्दै घटनालाई ‘कपी क्याट क्राइम’को संज्ञा दियो। यो आक्रोशको एउटा रुप हो।

कृषि र वित्तिय क्षेत्रमा विश्वबजारमा आफ्नो स्थान बनाइरहेको भारतका जनतामा अझैपनि अपेक्षा अनुसारको सरकारी काम नभएको गुनासो बढीरहँदा यस्तो थप्पड संस्कृतिको निरन्तरता छ। तत्कालिन दूरसञ्चारमन्त्री सुखराममाथि पनि यीनै युवाले थप्पड हानेका थिए।

नेपाली कांग्रेसका तत्कालिन सभापति सुशिल कोइरालामाथि आक्रमण भएको खबर निमेषमै सनसनी बनेको थियो। आफ्नै कार्यकर्ताबाट उनले दुव्र्यवाहार खेपेको खबर छायो। माओवादी अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुई पटक यस्ता आक्रमणमा परेका थिए।

बाबुराम भट्टराईमाथि पनि बैठकमा नै आक्रमण भएको थियो। थप्पड संस्कार नेपालमा पनि भित्रिएको एउटा आक्रोशको परिणति हो । सुनसरीको इटहरीमा पूर्वप्रधानमन्त्री झलनाथ खनालमाथि देवीप्रसाद रेग्मीले थप्पड लगाए। त्यो आक्रोशको घेराबन्दिबाट तत्कालिन माओवादी सभासद झक्कु सुवेदी पनि बचेनन्। उनलाई तिनकुनेका एक चिया पसलले गालामा पड्काइदिए।

नेपाली समाजका लागि भने यो राजनीतिप्रतिको घृणा हो। रेग्मीले खनाललाई थप्पड हानेपछि प्रतिक्रियाका क्रममा भनेका थिए, ‘खनाल भएर एक थप्पड हानेको। सुजाता वा अरु भएको भए तीन थप्पड हिर्काउँथे। यीनै दल, यीनै नेतालाई खेप्यौं। खेपीरहेका छौं।

राजनीतिप्रतिको वितृष्णा देखाउने सांकेतिक विरोध के–के भएनन् र? संविधान समयमा नबनाउँदा ६ सय १ जनाको सामूहिक किरिया, श्राद्ध पनि गरे कतिपयले। त्यो समाजले यीनै नेताप्रति देखाएको बिम्बात्मक बिरोध र आक्रोश थियो।

आखिर आम मानिस त्यत्रो सुरक्षा घेरामा रहेको नेतामाथि आक्रमणको मनोदशा बनाउने हिम्मत किन गर्छ? त्यो जोखिम किन मोल्छ? आम मानिसभित्रको मनोदशाको बिम्ब होइन र?

यी आक्रोश साम्य छैनन्। राजनीतिको फोहोरी प्रकरण पनि शुन्यमा छैन। मानिसहरू क्रोधका अनेक ज्वारभाटा बोकेर बसेका छन्। त्यसलाई साम्य पार्ने दायित्वबाट जुनसुकै पार्टीका नेता हुन् उनीहरू तत्पर देखिँदैनन्। नेतृत्व हस्तान्तरणका निम्ति तयार भएका छैनन्।

प्रमुख राजनीतिक दलका प्रमुख नेतालाई सुझाव छ– मुलुकलाई गतिशील बनाउनका निम्ति नेतृत्व हस्तान्तरण गर्ने कि ‘कपि क्याट क्राइम’को समय पर्खिने?

तर विद्रोह कुनै व्यवस्था परिवर्तनका निम्ति मात्र होइन, नेतृत्व परिवर्तनका निम्ति अवश्यभावी छ र यो अनिवार्य हुन्छ। समयको बेग कहाँनेर रोकिँदा यो चरण आउला भन्ने प्रतिक्षा मात्र हो।

चे ग्वेभारा भन्छन्– दुष्ट नेताहरू त्यतिबेला मात्र प्रतिस्थापन हुन्छन् जब नयाँहरू धृष्ट बन्छन्। यो धृष्टता र दुष्टीकरणको अर्थ हो, पुस्ता हस्तान्तरणको सवाल। र, नेपालमा यो धृष्टता गर्ने पुस्ताको उदय हुन्छ, निश्चयभावी छ।

युवाको पंक्तिभित्र यो विद्रोहको आबाज बलियो हुन आवश्यक छ। ति युवा होइनन् जो दलीयकरणका नाममा अभियुक्तहरूको समूह खडा गरी नेतृत्व दिइएको छ। विद्यार्थी, युवा या तरुणका नाममा भएका ति संगठन फरक–फरक भए पनि चरित्र र नेतृत्व भनेको अभियुक्तहरुको क्लवकै देखिन्छ। जसलाई आजीवन कुर्सीमा टाँसिने स्वार्थले बाँचेका समान व्यवाहारका उस्तै उस्तै देखिने एमाले, कांग्रेस, माओवादी या अन्य दलका प्रमुख नेता छन्।

जसरी व्यवस्थामा युवाको हस्तक्षेपले यहाँसम्म आइपुगेको छ मुलुक, अब व्यवाहार परिवर्तनका निम्ति पनि आन्तरिक विद्रोह र त्यसका बाछिटा देखिन आवश्यक छन्।

राजनीतिक व्यवस्था परिवर्तनका आन्दोलनहरूमा युवाहरू सामेल भए, अगुवाई गरे, सहादत प्राप्त गरे, फाँसीमा परे, जेल बसे, घाईते भए। तर पनि युवाहरूको हक हितकालागी काम गर्ने छुट्टै संगठनहरू थिएनन्। युवाको हक हित र सरोकारका सवालमा काम गर्ने युवा संगठनको महसुश गरेर पुष्पलालको अगुवाईमा २००८ सालमा युवक संघको गठन गरियो।

२०१० सालमा विपी कोईरालालको अगुवाईमा तरुण दलको स्थापना भयो भने २०११ सालमा अखिल नेपाल विद्यार्थी फेडेरशन, २०१४ सालमा हिरण्यलाल श्रेष्ठको संयोजकत्वमा युवा कम्युनिष्ट लिगको स्थापना गरेर संगठित युवा आन्दोलनको शुरुवात गरिएको थियो।

२०२८ सालमा झापा विद्रोहकालीन अवस्थामा गठन र परिचालन भएको रेडगार्ड र २०२२ सालमा स्थापना भएको अनेरास्ववियुले गरेको आन्दोलनको जगमा भएको २०३६ को विद्यार्थिआन्दोलनले पञ्चायतको जग हल्लाउने काम गरेको थियो। परिणामतः पञ्चायती शासकले २०३६ सालमा जनमत संग्रह गर्न वाध्य भयो।

बहुदल पक्षलाई जवर्जस्त हराईए पनि त्यो पञ्चायती ब्यवस्था मक्किसकेको थियो। २०३६ को युवा तथा विद्यार्थी आन्दोलनको बीरासतको जगमा उठेको २०४६ को जनाआन्दोलनमा हजारौं युवाहरू अग्रीम मोर्चामा सामेल भएका थिए।

तर यस्तो इतिहास बोकेको युवा आन्दोलनको नेतृत्व गर्ने संगठन र तिनका नेता, अहिलेका तिनका भाइटल रोलमा रहेका व्यक्तिका अनुहार हेर्नुस् त? क्रान्तिकारी देखिन्छ? जो पसिना र श्रमका लागि विदेशिएको छ, उसको सहभागीता विस्तारै फरक ढंगले हुनेछ र विद्रोह हुन्छ।

मुलुक र संघ संगठन पिच्छेका युवा उमेर फरक फरक छन्। बेलायतमा १६–१८, अमेरिकामा १२–१८, उत्तर इटली, दक्षिण इटाली १४–३२, १४–२९, अफ्रिकी चार्टर १५–३५, फिलिपिन्स १५–३०, कमनवेल्थ १५–२९, केन्या १५–३५, तान्जानिया १५–३५, नाइजेरिया १२–३०, दक्षिण अफ्रिका १४–३५, जिम्बाबे १६–३५, मलेसिया १६–४०, सिङ्गापुर १५–२९, इन्डोनेसिया १६–३५, म्यान्मार १६–१८, भियतनाम १५–३०, हङकङ ६–२४ वर्ष उमेर समूहका व्यक्तिलाई युवाका परिभाषाभित्र पारिएका छन्। नेपालबाहेकका उल्लिखत उदाहरण भएका देशमा युवाको अवस्थालाई हेरौं त।

नेपालमा पनि त्यस्तो युवा पंक्तिको उदय हुन्छ। त्यो परदेशमा रहेको श्रमिक र गरिब वर्गको युवा हो। ५० औं लाख परदेशीएका युवासँग मताधिकार पो छैन, उनका विद्रोहका प्रतिनिधि आवाजहरू आक्रोशका रुपमा प्रत्येक नेताका अन्तरवार्ता र भाषणका प्रतिक्रियाले स्पष्ट पारेको छैन र?

अतः समय निक्कै टाढा छैन। प्रमुख राजनीतिक दलका प्रमुख नेतालाई सुझाव छ– मुलुकलाई गतिशील बनाउनका निम्ति नेतृत्व हस्तान्तरण गर्ने कि ‘कपि क्याट क्राइम’को समय पर्खिने? अहिलेकै नेतृत्व मध्यका धेरैले यसको सामना र उदाहरण देखेका छन्, अति भयो भनी खती हुन्छ भन्ने नेपाली उखान यसै बनेको होइन, नयाँ आक्रोशपूर्ण युवा विद्रोहको अनिवार्यता बन्नुअघि कुर्सी छाड्ने परम्परा सुरु गर!

प्रतिक्रिया