पत्नी व्रत बस्दा आयु लम्बिने भए बहुविवाह गरेका पुरुष दिर्घजीवि हुन्छन्?
नारी मुक्तिको गीत गाउने दिन भने पनि, स्वतन्त्रताको चाड भने पनि, बिलौना गाउने इतिहासको दिन भने पनि नेपाली हिन्दू महिलाहरुको तीज पर्व आज ब्रतसँगै चलिरहेको छ। यो पर्व कहिले शुरु भयो भन्ने यथार्थ नभेटिए पनि पौराणिक कथाअनुसार पार्वतीले शिवलाई पतिको रुपमा पाउन अन्न–जल नखाई उपवास बसेपछि उनले प्राप्त गरिन् भन्ने छ। त्यही पौराणिक कथा अनुसरण गर्दै हिन्दू महिलाहरुले आफ्ना पतिको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै निराहर व्रत बस्ने चलन चलिआएको पाइन्छ।
माइतीबाट छोरी–चेलीलाई लिन जाने, माइतीघरमा आफ्नो गछ्यअनुसारको मिठो–मसिनो खाने–खुवाउने, एक दिन भए पनि आराम गर्ने गरिन्छ। यो पर्वमा कतै व्रत बस्ने अघिल्लो दिन माइतीघर पुगेर उज्यालो हुनु अघिसम्म दरको रुपमा खीर, ढकने, चाम्रे इत्यादि खाने प्रचलन रहेको पाइन्छ।
हरितालिका तीज पर्व तृतीयाको दिन व्रत बस्नुभन्दा अगाडि गरिने भेटघाट र मिठो–मसिनो खानपिन हिजोआज साउने सङ्क्रान्तिकै दिन शुरु हुन थालेको छ। हिजोआज झन्डै दुई महिनासम्म मनाइने तीजमा सामाजिक सञ्जालका भित्ताहरु रङ्गिन थालेका छन्। गर्वका साथ धक फुकाएर मेरो चौधौं तीज भनेर तडकभडकसहित फोटोहरु प्रदर्शन गरेको पाइन्छ। यस्ता तडकभडक र उपभोक्तावादी संस्कृतिले तीजलाइ फेशन शोमा परिणत गर्दै लगेको छ। कहिले तीज आउँछ र साडी–गहना देखाऊँ जस्तो भएको छ। कसको साडी कति महङ्गो? कसको गहना कति भनेर देखाउने प्रतिस्पर्धा भएको छ।
हिन्दू धर्मग्रन्थमा पतिलाई परमेश्वरका रुपमा मान्नुपर्ने उल्लेख छ। अझ महिलालाई मानवको रुपमा नस्वीकार्ने मनु स्मृतिले महिलाले पतिभक्ति र जयजयकार गर्नुपर्ने, पतिलाई जवाफ फर्काउन नहुने, सधैं पतिको नियन्त्रणमा रहनुपर्ने, पतिको मृत्युपछि राम्रो हुन नहुने, मिठो पौष्टिक खाना खान नहुने उल्लेख गरेको पाइन्छ। तिनै धर्मग्रन्थलाई पक्षपोषण गर्दै आएको हाम्रो संस्कृति–रीतिरिवाज पितृसत्तात्मक सामन्ती चिन्तनले जकडिएको छ। समाज परिवर्तनको क्रममा मातृसत्तात्मक परिवारबाट पितृसत्तात्मक परिवारमा पुग्दा पुरुषले महिलामाथि शासनको शुरुआतमा महिलालाई बन्दीको रुपमा हातखुट्टा बाँध्न प्रयोग गरिएका नेलकडी र सिक्रीहरु अहिले गहनाका रुपमा प्रयोग भइरहेका छन्।
अहिले अविवाहित युवा महिलाले असल पति प्राप्त गर्न शिवजीको पूजा–आराधना गरेर व्रत बस्छन् भने विवाहित महिलाहरुले आफ्ना पतिको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै व्रत बस्छन्। तर, कुनै पुरुषले पत्नीको सुस्वास्थ्य र दीर्घायुको कामना गरेर व्रत बस्ने गरेको आजसम्म कहिल्यै पनि सुनिएको छैन। बरु एउटी पत्नी घरमा हुँदाहुँदै श्रीमतीहरु बटुल्दै हिँड्ने, धेरैवटी श्रीमती राख्ने व्यभिचारी पुरुषहरु भेटिन्छन्। पत्नीले व्रत बस्दा आयु लम्बिने भए धेरैवटी पत्नीका पतिको आयु कति लामो हुँदो हो?
त्यसो त सबै पुरुष व्यभिचारी हुन्छन् भन्ने पनि होइन। हाम्रो समाजमा अधिकांश महिला हिंसाको कुरा उठ्ने गरेको पाइन्छ। महिलाले पुरुषमाथि पनि हिंसा गर्ने गरेको पाइन्छ। हिजोआज चित्त नबुझे पतिको गालामा थप्पड बजार्ने पत्नीहरु पनि पाइन्छन्, तर तिनको चर्चा कहीँ गरिँदैन। यस्तो चर्चा गरिएमा विचरा ती पुरुषहरु जोईटिङ्ग्रेको दर्जामा पर्छन्। हाम्रो समाजको हेराइमा सधैं सहनशिला सुशिला हुँदै पुरुषको हरेक यातनालाई सहँदै घर गरिखाने महिलालाई असल ठानिन्छ। समाज बर्बर युगबाट सामन्ती युगमा रुपान्तरण भइसकेपछि महिलालाई नियन्त्रणमा राख्न नितान्त दासी र बच्चा जन्माउने साधनको रुपमा प्रयोग गर्न खोजिएको छ। यस्तै पुरुष चिन्तनलाई सामन्तवादी पितृसत्तात्मक समाजमा वैधता प्रदान गर्ने चाड तीज हो।
यो पर्व पुरुषको प्रभुत्वलाई संस्कारिक गर्ने, पतिबाहेक अरुलाई श्रेष्ठ नठान्ने, पतिलाई पूजा गर्ने, अलौकिक देवता होइन प्रत्यक्ष देवता मानिने पुरुष प्रभुत्वको पूजा गर्ने परम्परागत चाड हो यो। हाम्रो समाज अभैm पनि सामन्तवादी पितृसत्तात्मक सोचबाट ओतप्रोत छ। हामीभित्रै पितृसत्तात्मक चिन्तन हावी छ। युगौंदेखि महिलालाई दासीको रुपमा प्रयोग गर्दै आएको पुरुष चिन्तन पुरुषमा मात्र होइन, यो समाजको आधा हिस्सा महिलाभित्र पनि पाइन्छ। यो चिन्तनले सांस्कृतिक रीतिरिवाजमा मात्र नभई सामाजिक, आर्थिक, राजनैतिक हरेक पाटोमा छाएको पाइन्छ। समाज विकासको रुप आजको स्थितिमा आइपुग्दा हामीकहाँ दुई खाले पुरुष चिन्तन भेटिन्छन् ।
एकले तीजको व्रत बस्दा मेरो स्वास्थ्य राम्रो हुने होइन, तिम्रै स्वास्थ्य चाहिँ बिग्रन्छ। त्यसैले व्रत नबस। तिम्रो व्रतले मेरो आयु लम्बिने होइन, तिम्रो आयु छोट्टिन सक्छ भन्छ। अर्का थरी पुरुष भने के गर्ने? हाम्रो संस्कृति हो, चलिआएको परम्परा हो। गोडा धोएर पानी खाऊ भनेर गोडा तेस्र्याउँछन् भने उनीहरु व्रतै नबसे पनि रातो साडी चाहिँ लाउनू है भन्छन्। व्रत बसेको दिन श्रीमानले साँझ खाऊ नभनी खान नहुने, टाढा छ भने श्रीमानले फोनबाट खाऊ नभनेकाले भोकै बस्नु परेको गुनासो सुन्न पाइन्छ।
हामीकहाँ सबै पुरुषहरु पितृसत्तात्मक सोचले ग्रस्त छन् भन्ने होइन । महिलावादी सोच राख्ने, महिला र पुरुष समान हुन् भन्ने धारणा राख्ने पुरुषहरु पनि पाइन्छन्। महिलाले महिलालाई हिंसा गर्ने, दुव्र्यवहार गर्ने तीतो सत्य छँदैछ। सासू–बुुहारी, नन्द–भाउजूबीच न्यानोभन्दा चिसो सम्बन्ध, एउटी महिला अर्की महिलालाई विस्थापित गरेर सौता बन्ने, महिलाले नै महिलाको चियोचर्चा महिलाले नै गरेको पाइन्छ। त्यसैले यस्ता प्रवृत्तिलाई हटाउन सामन्तवादी पितृसत्तात्मक चिन्तनलाई हटाउन सामन्तवादको जरो कहाँ छ, खोजी गरिनुपर्छ र उखेल्नुपर्छ।
हिजोआज परम्परागत रुपमा हिन्दू महिलाहरुले महान् चाडको रुपमा मनाउने गरेको तीज तडकभडकसहित महिना दिनअघि नै मनाउन थालिएको छ। कोरोना महामारीको आतंकले तिज भोज होटलका हलहरुमा केहि कम भए पनि तिजको रौनक उत्साहमा कमी भएको छैन।
तीजमा खाइने खीर, चाम्रेहरु परिवर्तन भएर अरु खाद्य पदार्थ पनि भेटिन थालेका छन्। धैरै गहना, रातो साडी र तडकभडक जहाँ छ, त्यहाँ मिडियाको पनि उपस्थिति पाइन्छ। प्रचार–प्रसार त्यहाँ पाइन्छ। सासूले, नन्द–आमाजूले दिएका दुःख र पीडा साटासाट गर्ने, गुनासा पोख्ने महान् चाड मानिएको तीज आज कसको साडी कति महङ्गो, कसको गहना कति भनेर प्रदर्शन गर्ने पर्वको रुपमा स्थापित हुँदै गएको पाइन्छ। यसरी हैसियत प्रदर्शनले सम्पन्न परिवारमा त रमाइलै होला, तर विपन्न परिवारमा भैंझगडा र आत्महीनता बोध गराउन सक्छ।
तीजको अवसर पारेर एकै दिनमा ४–५ ठाउँमा तीजका आधुनिक परिकार खान छड्के तीलहरी र गहनाले झ्याप्प भएर हटाउँदै सकारात्मक सोचको विकास गर्दै विकृति उन्मुख तडकभडकपूर्ण तीजको अन्त्य गर्नुपर्छ। हुँदा खाने र हुने खानेबीचको खाडललाई पुर्नुपर्छ। परिवर्तन हुँदै आयको तिज पर्वलाई बिश्वास भरोसा र प्रेमको पर्व बनाउन पर्छ।
सधै पुरुषले महिलामाथि हिंसा भएको समाचार सुनिने हाम्रो समाजलाई पितृसत्तात्मक जन्जालबाट मुक्त गराउँन पर्छ भनिरहदा हिजोआज महिलाले पुरुषमाथि गरीदै आएका हिंसाहरु बाहिर आउन थालेका छन्। पितृसत्तात्मक समाजको सोच को अन्त्य गर्नुपर्छ भन्नुको तात्पर्य पुरुषमाथि हिंसा गरेर घरमा पुरुषलाई दुख दिनु,नियन्त्रणमा राख्नु होईन, समतामूलक समाजको निर्माण गर्न लाग्नुपर्छ। एकले अर्कालाई हेप्ने र दमन गर्ने समाज होइन, खुल्ला आकाश र खुल्ला धर्तीमा रम्ने समाज निर्माण गर्नुपर्छ अनि मात्र जीवन जिउनुको सार्थक हुन्छ। आफ्नो स्वास्थ्यको ख्याल गर्दै व्रत बसौं,प्रेम र आत्मीयता साटौ।