यथार्थमा ४–१२ करोड क्यापको असरः किन घट्यो शेयर बजार ?  


शेयर लगानी गर्ने लगानीकर्ताहरुले बैंकबाट शेयर ऋण लिएर पनि शेयर लगानी गर्न सक्दछन् । यो नेपाल राष्ट्र बैंकले शेयर लगानीकर्ताहरुलाई दिएको एकप्रकारको बिशेष सुबिधा हो । विगतका समयमा यस्तो शेयर धितो ऋण शेयर बजारका पुराना तथा ठुला लगानीकर्ताहरुले ठुलै मात्रामा लिएर शेयरमा कारोबार गर्दथे । तर, हालै सार्वजनिक भएको नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा यस्तो शेयर ऋण सिमालाई १२ करोडमा सिमित गर्नुपर्ने निर्देशिका जारी भएको छ । अर्थात कुनैपनि लगानीकर्ताले जम्मा-जम्मी पारिवारीक रुपमा १२ करोडभन्दा बढी शेयर ऋण निकाल्न पाउँदैनन् र निकालेको भएपनि त्यसलाई अबको एकबर्ष भित्र १२ करोडको सिमिततामा झार्नपर्ने भनि सार्वजनिक भएको निर्देशिका नै १२ करोड क्याप हो ।

ठुला लगानीकर्ताहरु (जो बैंक तथा वित्तिय संस्थाहरुबाट ठुलो मात्रामा शेयर ऋण झिकेर शेयर कारोबार गर्छन्) ले विगतका समयमा कर्नरिङ्ग गरेर बजारलाई अनियमित तरिकाबाट बढाउने र घटाउने गर्दथे । जसलाई हामीले सामान्य भाषामा खेलाडिहरुले बजार घट्बढ् गराए भन्ने गर्दथ्यौँ । शेयर बजारको यस्तो अनियमिततालाई  रोकेर बजारलाई दिगो रुपमा बलियो र स्थिर बनाइराख्नका लागि नेपाल राष्ट्र बैंकले शेयर ऋण सिमालाई १२ करोडमा झारेको हो ।

 

४–१२ करोड क्यापले कसरी बजार घटाइरहेको छ ?

नेपालको शेयर बजारमा ठूला लगानीकर्ताको भाग झण्डै दुईतिहाई रहेको छ भने साना तथा मध्यम लगानीकर्ताको भाग एकतिहाईको हाराहारीमा मात्रै रहेको छ । विगतका दिनमा ठूला लगानीकर्ताहरुले बजारलाई अझै धेरै ओगटेका थिए । तर हाल शेयर बजारमा बढ्दो नयाँ लगानीकर्ताको प्रवेशले त्यो माथिको रेसियोमा केहि थोरै फेरबदल भएको छ । नेपाल राष्ट्र बैंकले ल्याएको अधिकतम १२ करोड शेयर ऋण सिमा नीति अनुसार बैंकबाट ऋण झिकेर शेयर कारोबार गर्ने जोकोही लगानीकर्ताले पनि अबको एकबर्षभित्र आफ्नो ऋण सीमालाई १२ करोडको सीमामा झार्नुपर्ने प्राबधान छ । विगतका दिनमा अरबौँ रकम ऋण झिकेर शेयर कारोवार गर्ने ठूला लगानीकर्ताहरुले अब आफुले झिकेको बैंक ऋणलाई चुक्ता गर्दै एकबर्षभित्र १२ करोडको सीमामा झार्नुपर्ने भयो । त्यसमा पनि एउटा बैंकमा ४ करोडको अधिकतम सीमा गरेर जम्मा ३ वटा बैंकबाट १२ करोड (आफ्नो परिवारका सबै सदस्यको नामबाट जम्मा, प्रतिब्यक्ति हैन) मात्र शेयर ऋण झिक्न पाउने भए । यो व्यवस्थाले गर्दा बषौँदेखि अरबौँको ऋण झिकेर बजारलाई आफ्नो हातमा नचाउँदै (कर्नरिङ्ग गर्दै) आएका ठूला लगानीकर्ताहरुले आफ्नो ऋण सीमा १२ करोडमा झार्नुपर्ने भएपछि उनिहरुको कारोबारमा एक्कासी बाधा पर्न गयो ।

अर्कोतर्फबाट बुझ्दा, अबको एकबर्षभित्र ठूला लगानीकर्ताहरुले लिएका अरबौँको शेयर ऋणलाई चुक्त गर्दै १२ करोडको सीमामा झार्नुपर्ने भयो । उनीहरुले विगतमा लिएको अरबौँको शेयर ऋणलाई शेयर बजारमा नै लगानी गरेका हुन्छन् । हाल बजार बुलिसको अवस्थामा रहेकोले बजारको ट्रेण्ड एकदमै राम्रो छ । अबको एकबर्षमा बजार कस्तो अवस्थामा गुज्रन्छ कसैलाई थाहा छैन । त्यसैले यस्तो राम्रो मौका पारेर आफुसँग भएको अरबौँको शेयरलाई बेचेर प्रोफिट बुकिङ्ग पनि गर्दै उनीहरु आफ्नो अरबौँको ऋणलाई सोहि शेयर बेचेको पैसाले चुक्त पनि गर्दै आफ्नो ऋण सीमालाई अधिकतम १२ करोडमा झार्न चाहन्छन् । त्यसैले हाल ठूला लगानीकर्ताहरुले सेलिङ्ग प्रेसर दिइरहेका छन् भने मध्यम तथा साना लगानीकर्ताहरुले मात्र त्यो सेलिङ्ग प्रेसरलाई थेग्न सक्दैनन् । ठूला लगानीकर्ताको सेलिङ्ग प्रेसर थेग्न ठूलै लगानीकर्ता चाहिन्छ तर हाल सबै ठूलाहरु प्रोफिट बुकिङ्गमै ब्यस्त देखिन्छन् । त्योभन्दा अझ साना लगानीकर्ताहरु निरन्तरको बजार घटाइको डरैडरमा किन्नुको सट्टा प्यानिक भएर उल्टो सेलिङ्ग प्रेसर बढाउँदै छन् । यसरी ठूलाले फालेका शेयरलाई मध्यम तथा साना लगानीकर्ताहरुले थेग्न नसकेको र उल्टै प्यानिक सेलिङ्गतिर लागेको हुनाले बजार नसोचिएको दरमा घट्दै गइरहेको छ ।

 

अब बजार कहिले र कसरी बढ्ला ?

नेपालको शेयर बजार सत्तरी प्रतिशतको हाराहारीमा ठूला लगानीकर्ताले ओगटेका छन् । यस्तो बजारमा बजारका मुख्य लगानीकर्ताहरुनै आफूसँग भएका शेयर बेचेर ऋणलाई सीमामा ल्याउनका लागि पैसा जम्मा पार्नमा नै ब्यस्त देखिन्छन् । यस्तो बेलामा बजार बढ्नका लागि दुइवटा अवस्थाहरु हुन आवश्यक देखिन्छ ।

 

पहिलो अवस्था

आक्रामक रुपमा नयाँ नयाँ रेकर्ड बनाउँदै घटिरहेको शेयर बजार बढ्नमा लागि, जुन एकबर्षभित्र अधिकतम शेयर ऋण सीमा १२ करोडमा झार्नुपर्ने हो, त्यसको समय राष्ट्र बैंकले लम्ब्याएर अलि पर धकेलेमा तुरुन्तै बजार केहि समय सम्हालिएर बस्न सक्छ भने अधिकतम ऋण सीमालाई १२ करोडबाट धकेलेर केहि बढी बनाएमा ठूला लगानीकर्तालाई केहि राहत मिल्न गई बजारमा वर्तमान समयमो लागि केहि स्थिरता आउन सक्छ ।

 

दोश्रो अवस्था

नेपाल राष्ट्र बैंकले आफ्नो नयाँ निर्देशिकामा कुनै फेरबदल नगरेमा ठूला लगानीकर्ताले आफ्नो ऋण सीमा एकबर्षभित्र १२ करोड सम्ममा झार्नका लागि आफूसँग भएका धेरै शेयरलाई बिक्रि गर्दै जान्छन् । बजार अझै घट्दै जान सक्छ । शेयर बेचेको पैसाले बैंकको शेयर ऋण तिरेर तोकिएको ऋण सीमामा आइपुग्छन् । त्यसपछि ठूला लगानीकर्ताले तिरेको ठूलै परिमाणको रकम बैंकले अधिकतम १२ करोडको सीमामा साना लगानीकर्ताहरुको पहुँचमा पुर्याउन थाल्दछ । साना लगानीकर्ताहरु त्यो शेयर ऋणका लागि सक्रिय र योग्य भएमा सो फिर्ता आएको पैसा धैरैजसो शेयरमा नै लगानी हुन थाल्दछ । त्यसको लागि भने केहि समय लाग्दछ तर बजार स्थिर र मजबुद भने पक्का हुन्छ ।

 

राष्ट्र बैंकले बजारलाई घट्नबाट रोक्नका लागि के कदम चाल्छ त ?

नेपाल राष्ट्र बैंकका गर्भनर महप्रसाद अधिकारीले हालसालै एक कार्यक्रममा भनेअनुसार, वर्तमान अवस्थामा अर्थतन्त्रका अन्य क्षेत्रका लगानीकर्ताहरु र ब्यापारीहरु पनि आफ्नो ब्यापार र लगानीलाई छाडेर वा बेचेर सहजताको ब्यापार भन्दै शेयर बजारमा मात्रै प्रवेश गरिरहेका पाइएको र शेयर बजारले मात्रै सिङ्गो अर्थतन्त्र चल्न नसक्ने भन्दै शेयर बजारमा लगानीकर्ताको बढ्दो आक्रामकतालाई गलत साबित गरिदिएका छन् । उनका अनुसार १२ करोडको क्यापमा कुनै फेरबदल नहुने कुरा प्रष्ट बुझिन्छ भने ठूला लगानीकर्ताबाट बैंकलाई फिर्ता जाने शेयर ऋण रकमलाई बैंकले शेयर ऋण भन्दापनि उत्पादनशिल कार्यमा लगानी गरेस् भन्ने राष्ट्र बैंकको मनसाय रहेको कुरा पनि प्रष्ट हुन्छ । तर शेयर बजारलाई यसरी एक्कासी डुब्न नदिने र त्यसका लागि केहि आवश्यक कदम चाल्ने कुरा राष्ट्र बैंकले जनाएको छ ।

 

४-१२ करोड क्याप नीति राम्रो कि नराम्रो ?

यो नीति व्यवस्थालाई दुई तरिकाबाट हेर्न सकिन्छ ।

 

ठूला लगानीकर्ताको नजरबाट (जो अरबौँमा खेल्छन्)

ठूला लगानीकर्ताको नजरबाट हेर्दा यो नीति ब्यबस्था एकदमै नकारात्मक हो । यदि म ठूलो लगानीकर्ता हुँ भने मैले अरबौँको शेयर ऋण पाइरहेको थिएँ । त्यसलाई शेयर बजारमा लगानी गर्दै बजारलाई आफ्नो हातमा (कर्नरिङ्ग गर्दै) नचाउन पाइरहेको थिएँ । तर अब अधिकतम १२ करोड ऋण सीमाले गर्दा मैले ऋणको आडमा बजारलाई आफ्नो हातमा नचाउन नपाउने भएँ । त्यसैले ठूला लगानीकर्ता (जो अरबौँको ऋण लिएर बजारलाई आफ्नो हातमा नचाउँछन्) को लागि यो नीति बिल्कुल ठिक हैन ।

 

साना तथा मध्यम लगानीकर्ताको नजरबाट (जो लाखौँ, करोडौँमा खेल्छन्)

विगतको अवस्थालाई नियाल्ने हो भने साना तथा मध्यम लगानीकर्ताहरु कैयौँ पटक कर्नरिङ्गको चपेटामा फसेका छन् । ठूला लगानीकर्ताले जता नचायो उतै नाचिरहेका छन् । तर यो राष्ट्र बैंकको १२ करोड ऋण सीमा नीतिले बजार ठूला लगानीकर्ताको मात्र हैन कि यो साना र मध्यम लगानीकर्ताको पनि साझा ठाउँ हो भन्ने हक दिलाउन खोजेको छ । यस नीति अनुसार बजारलाई अरबौँ ऋणको आडमा नचाउने ठूला लगानीकर्ताहरुलाई केहि सीमीततामा बाँधेर मध्यम तथा साना लगानीकर्ताहरुलाई पनि ठाउँ दिन खोजिएको छ ।

यस नीति अनुसार अब आगामी दिनमा अधिकतम १२ करोड ऋण सीमा लागु भए पश्चात ठूला लगानीकर्ताको हातमा धेरै शेयर रहन्न । ठूला, मध्यम र साना, बजारमा सबैको बराबर पहुँच रहन्छ । ठूला लगानीकर्ताले कर्नरिङ्ग गर्दै बजार आफ्नो हातमा नचाउन पाउँदैनन् । जसले गर्दा शेयर बजार स्वच्छ, मजबुद र टिकाउ हुन्छ ।

अन्ततः, त्यसैले हाल शेयर मूल्य धेरै घटेर आफ्नो पोर्टफोलियोमा निकै भर्चुअल नोक्सान ब्यर्होनु परेपनि यो बजार घटाई अभियानले बजारलाई स्वच्छ बनाउँदै बजारलाई ठूला लगानीकर्ता मात्रैको हातबाट खोसेर मध्यम तथा साना सबै लगानीकर्ताको पहुँचमा पुर्याउँदैछ । वर्तमान अन्धकारमय होला तर शेयर बजारमा कुलमान प्रबृत्ति प्रबेश हुँदैछ । एकदिन उज्यालो अवश्य हुन्छ । हतासिनुपर्ने अवस्था छैन । जे हुन्छ राम्रैका लागि हुन्छ ।

प्रतिक्रिया