प्रधानमन्त्री ओलीद्वारा त्रिवि रंगशालाको निरीक्षण, काम छिटो गर्न निर्देशन


काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालाको निरीक्षण गरेका छन्। अनेरास्ववियुको महाधिवेशनमा सहभागी हुन कीर्तिपुर पुगेका प्रधानमन्त्री ओलीले फर्किने क्रममा रंगशालाको प्रगति अवलोकन गरेका हुन्।

रंगशालाको प्यारापिट निर्माण कार्य फागुन २० गतेबाट सुरु भएको भए पनि निर्माण कार्य निर्धारित समयमै सम्पन्न हुन नसकेपछि प्रधानमन्त्री ओलीले चासो व्यक्त गरेका हुन्। उनले निर्माण प्रगति र निर्धारित म्यादभित्र काम सकिने वा नसकिनेबारे जानकारी लिएका थिए।

प्यारापिट निर्माणको ठेक्का बीकेओआई–केसीडीसी–बिजी जेभीले ४३ करोड ७७ लाख रुपैयाँमा लिएको छ। कम्पनीलाई वैशाख २४ गतेभित्र काम सम्पन्न गर्ने समय दिइएको थियो। तर, तोकिएको म्याद कटिसक्दा पनि निर्माण कार्य अधुरै रहेकाले प्रधानमन्त्री ओलीले निर्माण कार्य छिटो गर्न निर्देशन दिएका हुन्।

प्रधानमन्त्री नियुक्त भएसँगै उनले पहिलो मन्त्रिपरिषद् बैठकबाट त्रिवि रंगशालामा सय दिनभित्र प्यारापिट र फ्लडलाइट जडान गर्ने निर्णय गरेका थिए। तर, सो निर्णय कार्यान्वयनमा भने ढिलाइ भएको छ।

निरीक्षणका क्रममा प्रधानमन्त्रीसँगै सहरी विकास मन्त्री प्रकाशमान सिंह पनि रंगशाला पुगेका थिए।

प्रतिक्रिया