


काठमाडाैंमा ट्यांकरको भरमा बस्नुपर्ने अवस्था अन्त्य हुन्छ : खानेपानीमन्त्री यादव

काठमाडौं- खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले अब काठमाडौं उपत्यकामा खानेपानीका लागि ट्यांकरको भर पर्नुपर्ने अवस्था चाँडै अन्त्य हुने बताएका छन्।
खानेपानी तथा सरसफाइ महसुल निर्धारण आयोगले आइतबार आयोजना गरेको उपत्यकाभित्रका खानेपानी उपभोक्ता समितिहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री यादवले मेलम्ची खानेपानीको आपूर्ति अब वर्षभर नियमित रूपमा सुनिश्चित गरिने जानकारी दिए।
उनले भने, “अब ट्यांकर कुर्दै बस्नुपर्ने दिन सकिएका छन्। असारमा पनि मेलम्चीको पानी बन्द हुने छैन। सरकारले आवश्यक पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ।”
मन्त्री यादवले खानेपानी पहुँच सबै नागरिकको मौलिक अधिकार भएकाले यसको सुनिश्चिततामा मन्त्रालय कटिबद्ध रहेको बताए। आगामी दिनमा काठमाडौं मात्र नभई अन्य शहरी क्षेत्रहरूमा पनि सुरक्षित र पर्याप्त पानी आपूर्ति गर्ने योजना रहेको उनले स्पष्ट पारे।
उनका अनुसार, बर्खाको समयमा मेलम्चीको मुहानमा बाढीको जोखिमका कारण ढोका मात्र बन्द गरिने हो, पानी भने बन्द हुने छैन। मेलम्ची सुरुङमार्फत काठमाडौंमा दैनिक आपूर्ति नियमित गर्न योजना अन्तिम चरणमा पुगेको पनि उनले जानकारी दिए।

