सुन्धारामा सर्वसाधारण कुटपिट गर्ने ट्राफिक प्रहरीसहित ४ जना कारबाहीमा


काठमाडौं- सुन्धारास्थित आकाशे पुलमुनि सर्वसाधारणमाथि निर्घात कुटपिटमा संलग्न ट्राफिक प्रहरीका नायब निरीक्षक (सई) ईश्वर महर्जनसहित चार जनालाई कारबाही गरिएको छ।

उनीहरूलाई ट्राफिक प्रहरी सेवाका लागि ‘अनफिट’ ठहर गर्दै साधारण समूहमा रूपान्तरण गरिएको हो। उपत्यका प्रहरी कार्यालयका अनुसार उनीहरूलाई सशस्त्र प्रहरी गण नम्बर–२, महाराजगञ्जमा सरुवा गरिएको छ।

कुटपिटको घटना २०८१ मंसिर २३ मा भए पनि २०८२ वैशाख ११ मा सार्वजनिक भएको थियो। भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि आलोचना चुलिएको थियो। प्रयोगकर्ताहरूले ‘राज्य आतङ्क’ भन्दै ती दृश्य शेयर गरेका थिए।

उक्त घटनापछि ट्राफिक प्रहरी वृत्त जनसेवाबाट उनीहरूलाई तानेर उपत्यका ट्राफिक प्रहरी कार्यालयले आन्तरिक छानबिन थालेको थियो। छानबिनको क्रममा कुटपिटमा संलग्नले मोटरसाइकल चेकजाँच गर्ने क्रममा पीडितले थुकेपछि विवाद उत्पन्न भएको बताएका छन्।

पीडित गौशालामा कपडा पसल सञ्चालन गर्ने व्यापारी हुन्। प्रहरीले मोटरसाइकलमा साँचो नदेखिएको भन्दै सोधपुछ गरेका थिए। साथै, उनले बोकिरहेको कपडाको परिमाण धेरै भएको भन्दै प्रश्न गर्दा आफूलाई थुकेको ट्राफिक प्रहरीले दाबी गरेका छन्।

उक्त घटनामा संलग्न ४ जना प्रहरीलाई ट्राफिक ड्युटीका लागि अयोग्य ठहर गरिएको हो। पीडितको हातमा लिगामेन्टसम्बन्धी चोट देखिएपछि कुटपिटमा संलग्नहरूले उनको उपचार गरिदिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया