गंगाधरको अपराधले ‘न्यायको बाटो पहिल्याएको’ दुई सैनिकका कथा!


काठमाडौं– ‘देशका लागि लड्छुु भन्दै छोरो नेपाली सेनामा भर्ती भएको थियो,’ मोरङ सुन्दर हरैचा घर भएका कृष्णबहादुर तामाङले गत शनिबार चितवनको आशिर्वाद होटलमा सुनाए,‘म ०५५ सालमा प्रहरी सेवाबाट रिटायर्ड भएको थिएँ। त्यतिबेला ऊ अब म तपाईंको बिडो थाम्छु। देशका लागि लड्छुु भन्दै सेनामा भर्ती भयो।’

१० पुस २०५० मा जन्मिएका सरोज तामाङ सानैदेखि शारीरिक व्ययामहरू गरिरहन्थे। स्कुलमा पनि यस्तो क्रियाकलापमा भाग लिन्थे। जब उनको ‘प्लस टू’सम्मको पढाई सकियो– अनि उनलाई नेपाली सेना (आर्मी) मा जागिर खाएर देश र जनताको राष्ट्र सेवक बन्नलाई बुबाको हौसलाले प्रेरित गर्यो। ८ वर्षअघि उनी सेनामा भर्ती भए।

उनको इच्छा र लगनले सेनामा जागिरे हुनासाथ सरोजको पोस्टिङ  झापास्थित चारआली बाहिनीमा भयो। जवान सरोजको जागिर एकातिर द्रुग्दतामा थियो, अर्कातिर खुदुनाबारीकी उर्मिलासँग प्रेम पनि अंकुराइरहेको थियो।

प्रेमले बैवाहिक बन्धनको रुप लियो। त्यसको चार बर्षपछि ०७५ असोजमा सरोज–उर्मिलाले एउटा सन्तान हुँदा कृष्णबहादुरको परिवारमा खुशीको बहार छायो। सरोज–उर्मिला छोरीको जन्म भएपछि सीमाहिन खुशीमा थिए।

उनी सरुवा हुँदै कालीबहादुर गण पुगेका थिए। सिपाहीले हत्तपत्त विदा कहाँ पाउनु? छोरीको आगमनलाई उनले उत्सवका रुपमा तत्कालै मनाउन पाएनन्। तीन महिनापछि पाएको विदामा अधिक हर्षविभोरता बोकी सुन्दर हरैंचास्थित घरमा पुगे। उनले चार दिनको मात्र विदा पाएका थिए। उल्लास एकातिर थियो तर नवजात छोरी बिरामी परिन्। सरोज र उर्मिला बिराटनगरमा उपचार गराउनका लागि पुगे।

लामो समयपछि विदा पाएको एउटा सिपाहीलाई चार दिन परिवारसँग बस्दा चार पल जस्तो पनि भएन। उदास मन बनाएर सरोज कर्तव्यको यात्रामा निस्कनु नै थियो। १ पुसमा उनी गण फर्किए।

तर जब उनी गण फर्किए अनि सरोजले नखाएको विष सहनुपर्ने र परिवारमाथि छोराबारेको अभियोगको ठूलो बज्रपात आइलाग्यो।

०००

कालीबहादुर गणमा अमलदार पदमा कार्यरत थिए उदयपुर गाईघाटका स्थायी वासिन्दा लबकुमार गुरुङ। देश र जनताको सुरक्षाको लागि कसम खाएर नेपाली सेनामा भर्ती भएका लबकुमार ५ माघ ०६०मा सेनामा छिर्दा कम्ति खुसी थिएनन्। २० वर्षे लक्का जवानले सेनामा पास गर्नु त्यसबेला चानचुने कुरा पनि थिएन।

१९ पुस २०४१ म उदयपुरमै जन्मिएका लबकुमारले सेनामा जागिर खाएको २० बर्ष पुग्न लागेको छ। घरपरिवारमा अनुशासित लबकुमार पनि बच्चादेखि नै पढ्न र खेल्नमा रुची राख्थे।

सेनामा जागिर खाए पनि उनी विदामा घर आउनेजाने गरिरहन्थे। परिवार राम्रैसँग चलिरहेको थियो। ०७१ मा उनले उदयपुरकी प्रमिला तामाङसँग मागी बिहे गरे। आफ्नो दरबन्दी जहाँ हुन्छ, श्रीमति प्रमिलालाई पनि त्यहिँ लैजान्थे। बिहे गरेको केही वर्षपछि लबकुमार–प्रमिलाको एक सन्तान भयो।

अहिले छोरी ६ वर्षकी छिन्।

आजभन्दा ३ वर्षअघि चितवनको कालीबहादुर गणमा दरबन्दी भएको बेला लबकुमार र सरोजलाई एउटै प्रकरणले लखेट्यो। त्यो बज्रपातको प्रताडनामा दुवै परे।

०००

लबकुमार र सरोजलाई एउटै मुद्दामा फँसाइयो। कालीबहादुर गणबाट सर्ट मेसिन गन (एसएमजी) २ पुस ०७५ मा हरायो। जुन दिन लबकुमार र सरोज गणमा थिएनन्। एसएमजी चोरीको अभियोग उनीहरूको थाप्लोमा लगाइयो।

सोही दिन सरोज दोहोरी साँझमा रमाउँदै थिए भने लबकुमार परिवारसँग डेरामा थिए।

कालीबहादुर गणबाट एसएमजी हराएको आरोपमा उदयपुरका लबकुमार र मोरङका सरोजलाई दोषी ठहर गर्दै ६ वैशाख २०७६ मा तत्कालिन सैनिक अदालतका अध्यक्ष सहायक रथी (दुई तारे जर्नेल) सहदेव खड्काले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिए। हाल उनीहरू सोही आदेशानुसार चितवन कारागारमा छन्।

छोरालाई त्यसरी सजाय सुनाए नै पनि कृष्णबहादुरलाई लागेको थियो– उनीहरू निर्दोष छन्। उनी स्मरण गर्छन्,‘हाम्रो छोराहरूलाई आरोप लगाउँदा मेरो मन यति डराएको थियो कि, निर्दोष मान्छेलाई पनि सेनाले फसाउँदो रहेछ भन्ने लाग्यो।’

सैनिक अदालतले कस्तो अनुसन्धान गरेर उनीहरूलाई जेल पठाउन आदेश दिएको हो? विस्तारै खुल्दै जाला। यतिबेदा उनीहरूको आ–आफ्नै व्यथा छ। उनीहरूको कारण आफन्त, परिवारले समेत यातना पाएका कथा यसअघि नै प्रकाशित गरिएको छ। कतिपय प्रताडनाका व्यथा नेपथ्यमै छन्।

पछिल्लो समय दुई वर्षदेखि जेलमा रहेका उनीहरूमाथि लगाएको अभियोग गलत सावित भएको छ। चर्को यातना, सेनाभित्रको कोर्टमार्सलका क्रममा भएका गहिरो प्रताडनाबाट उनीहरूलाई चोरी गरेको जबरजस्ती कबुल गराइयो।

पछिल्ला चरणमा यस प्रकरणमा खुलेका नयाँ तथ्य र घटनाक्रमले उनीहरूलाई जेल पठाउन आदेश दिने तत्कालिन सैनिक अदालतका अध्यक्ष खड्का, गणका मेजर दीपेन्द्र श्रेष्ठ र क्याप्टेन गणेश ढकालको ‘नियत’माथि प्रश्न उठेको छ।

खासगरी मेजर श्रेष्ठ र क्याप्टेन ढकाल अनुसन्धान अधिकारीका रुपमा तोकिँदा नियतवस पीडितहरूमाथि प्रताडना दिन्थे, यस प्रकरणमा हावी पनि हुन्थे।

सत्यले एक दिन विजयी हुन्छ भनेझैं यस प्रकरणमा लबकुमार र सरोज निर्दोष रहेको भन्ने प्रमाण जुटाउन अर्को अपराध पटाक्षेपका रुपमा देखियो।

त्यसबेला कालीबहादुर गणमै कार्यरत गंगाधर ढकालको अपराधले उनीहरूलाई न्यायको बाटो खोलिदिएको छ।

भरत गुरुङ हत्याकाण्ड प्रकरणमा फेला परेको हतियारका कारण ‘कोर्टमार्सल’को आदेशअनुसार जेलमा रहेका ती दुई सैनिकहरू निर्दोष रहेको र उनीहरूलाई व्यक्तिगत रिसईबीका कारण फसाइएको भन्ने पीडितका परिवारको दाबीले न्याय पाउने भएको छ।

यसअघिको श्रृंखलाहरूमा पीडितका परिवारहरूसँग भेटरै कुराकानी गरिसकेका छौं। भेटको क्रममा लबकुमारकी पत्नी प्रमिलाले आफ्नो श्रीमानलाई मेजर श्रेष्ठ र क्याप्टेन ढकालको मिलमतोमा फसाइएको बताइन्। जतिबेला आफ्नो श्रीमानको नाम लिन्थिन्, त्यतिबेला उनको आँखा रसाइहाल्थ्यो।

गंगाधरको अपराध नियाल्दा!

‘दि फेमस महिन्द्र दल गण’ दरबन्दी भएका नेपाली सेनाका हुद्दा भरत गुरुङले ५ साउनमा सोही गणमा कार्यरत गंगाधर ढकाललाई फोन गरेर आफू जग्गा पास गर्न चितवन आउन लागेको जानकारी गराए। ढकाल विदामा आफ्नो घर भरतपुर महानगरपालिका–२१ चितवनमै थिए।

भरतलाई लिन ढकाल नै मोटरसाइकल लिएर काठमाडौं आए। ५ साउनमा उनीहरू चितवन गएर नारायणघाटको एक होटलमा बास बसे। सोही दिन उनीहरूले सँगै रक्सी समेत पिए। भोलिपल्ट मात्रै भरत गुरुङ भरतपुर–१९ शारदानगर टाउनमा रहेको आफन्तको घर गए। फेरी ढकालले आफन्तको घरबाट ६ साउनमा गुरुङलाई खाजा खान भनेर बोलाए।

त्यसपछि ढकालले भरतलाई आफ्नो मोटरसाइकलमा राखेर विभिन्न ठाउँमा रातभर डुलाए। उक्त दिन पनि उनीहरूले सँगै रक्सी खाए। भोलिपल्ट बिहानै भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडा खेत नहर पुगेपछि ढकालले आफ्नो झोलामा रहेको एसएमजीले विहान ५ बजे भरत गुरुङको हत्या गरे।

भरतको हत्यापछि गंगाधरले भरतपुर–८ बिसहजारी ताल जाने गेट आडको जंगलको झाडीमा उक्त एसएमजी फाले। त्यसपछि उनी सौराहा चोकमा रहेको फूपुको घर पुगे। एसएमजीमा लाग्ने सात थान गोली र सेनाको पोसाक रहेको झोला त्यहिँ छोडेर उनी फरार भए।

चितवन प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेको थियो। मोबाइलको कल डिटेल्स हेरेपछि प्रारम्भिक अनुसन्धानको क्रममा गुरुङको हत्या ढकालले नै गरेको खुलिसकेको थियो। त्यसपछि प्रहरीले ढकालको खोजी सुरु गर्यो।

अन्ततः प्रहरीले भोलिपल्टै अर्थात ८ साउनमा ढकाललाई भरतपुर–२० चनौलीबाट नियन्त्रणमा लिएर अनुसन्धान थाल्यो। ढकालको बयानका आधारमा भरतपुर–८ बिसहजारी ताल जाने गेट आडको जंगलको झाडीबाट एसएमजी बरामद भएको थियो। हतियार फेला परेपछि गंगाधरले उक्त एसएमजी चोरी गरेको बयान दिए। उनले भनेका थिए,‘३ वर्षअघि सेनाको कालीबहादुर गणबाट चोरी गरेको थिएँ।’

ढकालको बयान सार्वजनिक भएको बयान लबकुमार गुरुङ र सरोज तामाङको परिवारले सुनेपछि यस उनीहरू निर्दोष छन् भन्ने विषय उधिनियो।

त्यसपछि जाग्यो आशा

कालीबहादुर गणबाट हराएको ‘स्टर्लिङ ९ एमएम एनकेआर १००७९२’ नम्बरको एसएमजी त्यहि हो, जुन ढकालको साथबाट बरामद भयो। जिल्ला अदालत चितवनमा ढकालले दिएको बयान मिसिलमा ‘स्टर्लिङ ९ एमएम एनकेआर १००७९२’कै एसएमजी भनेर लेखिएको छ।

उनले हतियार चोरीको अभियोग स्वीकारर्दै बयानमा भनेका छन्,‘ब्यारेकको चौबिसकोठीतिरको तारबाट रातको करिब १० बजेतिर छिरेर करिब २ घण्टा जति झाडीमा लुकेर बसें। करिब रातको १२ बजेपछि ड्युटीमा सेनाहरू अगाडि ढोकामा बसेको समयमा पछाडिको झ्यालबाट हतियार राखेको ठाउँमा गएर हतियार निकालें।’

चोरेर लगेको एमएमजी अरुले थाहा नपाओस् भनेर ३ वर्षदेखि टौवा मुनी लुकाएर राखेको ढकालको बयानमा उल्लिखित छ। चोरीको हतियारबारे ढकालले परिवारका कसैलाई पनि जानकारी नभएको बयानका क्रममा बताएका थिए। मिसिलपत्रमा उल्लेख छ,‘हतियार किन चोरें भन्ने मलाई थाहा भएन। चोरी गर्ने समयमा मेरो दिमागले काम नै गरेको थिएन।’

ढकालको यो बयानसँगै घटनाले नयाँ मोड लिएको थियो। चितवन अदालतका न्यायाधीश हेमन्त रावलको इजलासमा भएको थुनछेक बहसपछि ढकाललाई बुधबार मिसिलसहित सैनिक अदालत पठाइएको छ। गंगाधरले नै हतियार चोरी गरेर हत्या गरेको स्वीकारिसकेका अवस्थामा नेपाली सेनाको जङ्गी अड्डाले छानबिनका लागि पठाएको अर्को टोलीले कस्तो रिपोर्ट बुझाउला? योचाहिँ सबैले प्रतिक्षा गरेका छन्। एसएमजी चारी गर्ने ढकालको बयानपछि सरोज र लबकुमारको परिवार यतिखेर न्यायको लागि काठमाडौं आएका छन्।

प्रतिक्रिया