मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं– जिल्ला अदालत, काठमाडौँले मानव तस्करी प्रकरणमा मुछिएका कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
पूर्वमन्त्री अधिकारी आइतबार विराटनगरबाट पक्राउ परेका थिए। यसअघि उनलाई दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो ।
दुई दिनको म्याद सकिएपछि म्याद थपका लागि मंगलबार फेरि अदालतमा पेश गरिएकोमा अदालतले ७ दिनको म्याद दिएको हो।
सरकारको अनुमतिबिना जापान पुगेका उनलाई त्यहाँको अध्यागमनले विमानस्थलबाटै फिर्ता पठाएको थियो। उनीसँगै अन्य तीन जना पनि जापान पुगेपछि मानव तस्करीको आशंकामा उनीहरुलाई नेपाल फर्काइएको थियो ।
विवादमा परेपछि अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका थिए। कोशी प्रदेशसभाका सांसदसमेत रहेका उनलाई नेकपा एमालेले पार्टीबाट निलम्बनसमेत गरेको थियो ।