भारतीय दुई सुरक्षा प्रमुख नेपाल आउँदै
काठमाडौं — भारतीय दुई सुरक्षा अंगका प्रमुखहरु नेपाल आउने भएका छन् ।
भारतीय स्थल सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी र सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) प्रमुख अमृतमोहन प्रसाद नेपाल आउने भएका हुन् ।
एसएसबी प्रमुख यही कात्तिक ३० गते र भारतीय स्थल सेनाध्यक्ष आगामी मंसिर ५ गते नेपाल आउन लागेको स्रोतले जनाएको छ ।
नेपाल र भारतले एकअर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको पदवी दिने प्रचलन रहेकाले सोही पदवी ग्रहणका लागि भारतीय सेनाप्रमुख नेपाल आउन लागेका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा नेपालको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछन् ।
द्विवेदीले १ नोभेम्बर २०२४ देखि भारतीय स्थल सेनाको २९ औं प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।
त्यस्तै एसएसबी प्रमुख हरेक वर्ष हुने समन्वय बैठकमा भाग लिन नेपाल आउन लागेका छन् । नेपालको सशस्त्र प्रहरी बल र भारतको एसएसबी बीच हुने समन्वय बैठक मंसिर १ र २ गते काठमाडौंमा हुँदैछ ।