

फूली लाउन बाँकी प्रधानसेनापतिले ‘कोर्टमार्सल’ गरिएका दुई सैनिकलाई न्याय देलान्?
जङ्गी अड्डाको चार भित्तामा निर्दोषका चित्कार गुञ्जिन्छ, गुञ्जिँदैन?

उदयपुर गाईघाटका स्थायी बासिन्दा रही चितवनको कालिबहादुर गणमा कार्यरत सेनाका अमल्दार लबकुमार गुरुङ र सुन्दर हरैचा मोरङ घर भएका सरोज तामाङ अढाई वर्षदेखि झूठा मुद्दामा जेल राखिएका समाचारपछि विभिन्न प्रकारका प्रतिक्रिया सतहमा आएका छन्।
उनीहरूलाई सर्ट मेसिन गन (एसएमजी) चोरीको आरोप नियतबस लगाइयो र कोर्टमार्सल गरी यातना दिइयो। त्यसपछि प्रहरी हिरासतमा राखी मुद्दा चलाइयो।
तर ‘ढाँटी कुरो काटी मिल्दैन’ भन्ने उखान जस्तै उक्त प्रकरणको तथ्य सतहमा आउनु नै थियो। त्यसको कारण बन्यो चितवनमा भरत गुरुङको हत्या प्रकरणपछिका तथ्यका चाङ।
उनीहरूलाई व्यक्तिगत रिसिइबीका कारण फँसाइएको भन्ने पीडित परिवारको दाबीमा सत्यता देखिएको छ। यसरी उनीहरूलाई फसाइँदा अवकाशपछिको विदामा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापा मौन छन्। उनी विदामा रहेका कारण अब न्यायका लागि कसरी अगाडि बढ्ने भन्ने निर्णयका हकदार छन् फूली नलगाएका प्रधानसेनापति प्रभुराम शर्मा। उनी हाल कायममुकायमको जिम्मेवारीमा छन्।
जति बेला अनुसन्धानलाई नै प्रभावित हुनेगरी सेनाका केही हाकिमहरू हाबी भए, दुई जना जेल पुगे।
तत्कालिन गणका मेजर दीपेन्द्र श्रेष्ठ र क्याप्टेन गणेश ढकालको कारण निर्दोष रहेका उनीहरूलाई फसाइएको कुरामा सत्यता रहेको पाइएको छ।
जतिबेला सैनिक जनरल अदालतले उनीहरूलाई जेल पठाउन आदेश दियो– त्यतिबेला फितलो अनुसन्धानको कारण उनीहरू जेल गएको पुष्टि छ। त्यतिबेला एसएमजी चोरीको छानबिन गर्ने जिम्मा पाएका सहायक रथी सहदेव खड्का, मेजर श्रेष्ठ, क्याप्टेन ढकाललगायतले उनीहरूलाई फसाएको हो।
हत्याकाण्डले खुलेको रहस्यपछि जेलमा रहँदै गर्दा उनीहरू छुट्लान् कि नछुट्लान भनेर बहस हुन थालेको छ। केही व्यक्तिहरू भने ‘यो केस सेनाको भएको कारण उनीहरू छुट्न गाह्रो’ रहेको बताउँछन्। त्यस्तै कतिपय निर्दोष व्यक्तिलाई फसाइएको पुष्टि भइसकेपछि मेजर र क्याप्टेनलाई कारबाही हुनुपर्ने माग गरेका छन्।
उनीहरू छुट्ने÷नछुट्ने कुरा संगठन प्रमुखमा पनि भर पर्छ। त्यसैले हालै कामु प्रधानसेनापति भएका प्रभुराम शर्मा कसरी अगाडि बढ्लान्? चासोको विषय छ। त्यस्ता निर्दोष व्यक्तिहरूलाई क्षतिपूर्तिसहित जेलबाट छुटाउनको लागि शर्माको भूमिका महत्वपूर्ण हुने कतिपयको बुझाइ छ।
शर्माले ९० हजारभन्दा बढी फौज रहेको नेपाली सेनाको नेतृत्वको कमाण्डर सम्हालेका एक महिना पनि पुगेको छैन। शर्मा सेनामा व्यवसायिक सैनिक अधिकृतको रुपमा चिनिन्छन्। त्यसैले उनीप्रति पीडित परिवारले आशा राखेका छन्।
नेपाली सेनामा स्वच्छ छवि बनाएका शर्मामाथि यस्तै यस्तै कारणले बद्नाम भएको संगठनलाई सुधार गर्नुपर्ने चूनौती त छँदैछ, यो घटनालाई पनि शर्माले चासोका साथ हेरेर वास्तविक कुरालाई बाहिर ल्याउन आवश्यक छ। के ती दुई निर्दोष सैनिकलाई शर्माले न्याय दिलाउलान्?
उनीहरूलाई न्याय दिँदा आफ्नो संगठनको बद्नाम हुन्छ भनेर झनै पीडितलाई पीडा थप्ने काम गर्छन् कि उनीहरूलाई छुटाउन अग्रसर हुन्छन्। त्यो हेर्न बाँकी छ।
उनी त्यस्तो व्यक्ति हुन्– नेपाली सेनामा ३७ वर्ष बिताएका शर्मा ब्राह्मण जातिबाट नेपालको एकीकरण जति नै पुरानो इतिहास रहेको संगठनको नेतृत्व गर्ने पहिलो सेनापति हुन्
त्यसरी एउटा निर्दोष व्यक्तिलाई फसाइरहँदा तत्कालिन सेनाको नेतृत्वमा रहेका पूर्णचन्द्र थापाले केही गर्न सकेनन्। थापाले ती पीडित सैनिकको परिवारलाई समेत भेट्न इच्छा राखेनन्। देशको लागि लड्छु भन्दै सेनामा भर्ती भएका उनीहरूमाथि त्यतिठूलो अन्याय हुँदा संगठन प्रमुख किन बोल्न चाहन्न?
त्यसैले हालका सेनापति शर्माले उक्त मुद्दालाई छिटो भन्दा छिटो टुंग्याउने आशामा छन् पीडितहरू। सेनामा स्वच्छ छवीको ‘ट्याग’ बनाएका शर्माले अनाहकमा जेल परेका उनीहरूलाई न्याय दिन्छन् भन्ने कुरामा पीडितका परिवारहरूले पनि आश गरेका छन्।
केही दिनअघि हामीले पीडितका परिवारलाई भेट्ने अवसर जुरेको थियो। पछिल्लो एक हत्याकाण्डले खोलेको रहस्यपछि यतिबेला पीडितका परिवारहरू न्याय खोज्दै चितवन आएका छन्। उनीहरूसँग चितवनमै भेट्ने अवसर मिलेको हो।
भेटको क्रममा उनीहरूले तत्कालिन गणका मेजर श्रेष्ठ र क्याप्टेन ढकालको कारण आफ्नो श्रीमानहरू जेल जानुपरेको पीडितका श्रीमतीहरूले हामीसँग भन्नुभएको थियो। त्यसैले हाल सेनाका सेनापति शर्माले उनीहरूको कुरा सुनेर पीडितलाई न्याय दिँदा सर्वसाधारणको सेना र सेना प्रमुखप्रतिको विश्वास झनै बढ्दै जाने कुरामा दुईमत छैन।
शर्माले आफूलाई संगठनको सफल कमाण्डर बनाउनुपर्ने चुनौती छ। किनिक उनी त्यस्तो व्यक्ति हुन्– नेपाली सेनामा ३७ वर्ष बिताएका शर्मा ब्राह्मण जातिबाट नेपालको एकीकरण जति नै पुरानो इतिहास रहेको संगठनको नेतृत्व गर्ने पहिलो सेनापति हुन्।
गुरुङ हत्याको लहरोले झारेको पहरो!
७ साउनमा चितवनमा सेनाका हुद्धा भरत गुरुङको हत्या भयो। गुरुङको हत्या गर्ने सेनाकै सिपाही गंगाधर ढकालले प्रहरीसँगको बयानमा– दुई वर्षअघि कालीबहादुर गणबाट चोरेको एसएमजीले हानेर गुरुङको हत्या गरेको बताए।
त्यसपछि थप अनुसन्धान गर्दै जाँदा हराएको एसएमजीको लट नम्बर र अहिले ढकालको साथबाट बरामद भएको एसएमजीको लट नम्बर ठ्याक्कै मिल्यो। चोरीको आरोप लगाई मुद्दा लगाइएका र कोर्टमार्सलमा चरम यातना दिइएका दुई सिपाहीका परिवारदेखि सबैसँग नभेटिएको उक्त हतियार अर्का हत्यारा सिपाहीबाट फेला पर्दा सेनाले कस्तो न्याय गर्छ?, स्वभाविक प्रश्न बनेको छ।
केआर १००७९२ नम्बरको एसएमजी ढकालको साथबाट फेला मात्र परेको होइन, उनले चोरेकै बयान दिइसकेका छन्। के, उक्त बयान फेर्नका लागि दबाब दिने मुडमा छ जंगी अड्डा? के पीडितका चित्कारले जंगी अड्डाका चारभित्ता गुञ्जयमान भएको छैन? यसको उत्तर खोज्ने र दिने ठाउँमा छन्, प्रभुराम शर्मा।
ढकालको बयानले सरोज र लबकुमारले न्याय पाउने आशा पलाएको परिवारको भावुकतासँग खेलवाड नहोस्। एसएमजी प्रकरणको अनुसन्धानका लागि सैनिक मुख्यालयबाट सहायक रथीको नेतृत्वको टोली चितवन पुगेर अनुसन्धान गरिरहेको छ।
सेनामा हाकिमको दबदबामा तल्लो दर्जाका सिपाहीलाई पेल्ने कुरा आम प्रतिक्रियाका रुपमा आइरहेका छन्। निर्दोष परिवारका चित्कार र भावुकताका विवरण आएपछि सर्वसाधारणले सोधिरहेका छन्– के मेजर श्रेष्ठलाई कारबाही हुन्छ? यी प्रश्न र अभियोगबाट मुक्त नेपाली सेना बनाउन कायममुकायम प्रधानसेनापति शर्माले सत्यलाई साथ दिनैपर्छ।

