

मेरो सिन्दुर खोसेर सिउँदो भर्न आएकी ‘ऊ’

एउटी महिलाको जीवन संघर्ष भाग ‘२’
मायाँ त मायाँ हो । भन्छन् नि, बैगुनीलाई गुणले मार्नु । अग्नी साक्षी राखेर सँगै बाच्ने सँगै मर्ने कसम खाएको कस्ले पो चटक्कै भुल्न सक्छ होला ? विवाहपछि करिब आठ वर्ष घरपरिवारसँग बिताएँ । त्यसपछि परिवारसँग छुटेको पन्ध्र वर्षमा श्रीमानको दुई पटकको फोन । म पनि कहाँ कम्ति कि थिएँ र ? सम्झना मनैभरि भएपनि फोन गर्न खोज्दा हात कापेर आउँथ्यो । श्रीमानको दोस्रो पटकको फोनले ती विगतको दिनहरु सम्झन आफैँले आफैँलाई बाध्य बनाएँ । करिब एक घण्टा टोलाएर बसेछु, पछि छोरीले ममि भनेर भनेर बोलाउँदा निद्राबाट ब्यूँझिएजस्तै झस्किएँ । एकातिर जीवनमा छोरीले खुसी थपिदिई रहेकी थिई, अर्कोतिर पन्ध्र वर्षपछि घरपरिवारको हालखबर बुझ्न पाएँ ।
मन चंगासरी हल्का भएको हो कि फलामसरी गह्रौं भएको हो पत्तै पाइँन । कहाँ थाम्न सक्थें र ? त्यो आफू खुसी बग्ने आँसुलाई । छोरीले सम्झाउने निकै प्रयास गरी, तर अचानोको घाउ खुकुरीलाई के थाहा ? केहीबेरमा आँफै सम्हालिए । र नदीको वेगसरी घरपरिवारको याद आउन थाल्यो । दोस्रो पटकको फोनमा श्रीमानले सुनाउनु भएको घरको अवस्थाले मन आगोले पोले सरी पोल्न थाल्यो । बाहिरि समाजले आफुलाई र छोरीलाई कसैले नहेपुन् भनेर आफ्नो यथार्थ कहिँ पनि खुलाएकी थिईनँ । तर, त्यस दिन छोरीलाई नभनी बस्न सकिनँ । केही केही कुरा त पहिले पनि भनिसकेकी थिएँ । त्यसपछि छोरीले भनिन्, ‘काठमाडौं बोलाउनु न त बुवा र हजुरआमालाई’ छोरीको जुन शब्दले मलाई २३ बर्षअघि पुर्यायो, ताकि बिवाहको भएको दिन सम्झिन पुगें ।
नयाँ ठाउँ, नयाँ घर, अनि नयाँ परिवार, कसरी सामेल हुने होला भन्ने लाग्थ्यो । २३ वर्षपछि पनि त्यही महसुस गरेँ । मनमा हजारौं कुरा उब्जिन थाले । तर त्यसपछि एउटै निर्णय गरेँ । श्रीमान् र सासुलाई बोलाउने । छोरीको त्यो आग्रह पछि हावाले उडाएको मेरो घर हावाले नै फिर्ता ल्याईदिन खोजेको भान भयो । त्यसपछि श्रीमानलाई फोन गरेँ र काठमाडौं आउन आग्रह गरे । सायद अप्ठ्यारोमा पर्नु भएको थियो होला, मेरो आग्रहलाई सहजै स्विकार गर्नुभयो । आउने दिन बस चढ्नु अघि फोन गर्नुभयो । बिहान सबैर बस चढ्नु भएकोले मैले यता खाना तयार गरेँ । कोटेश्वर आईपुगेपछि फोन गर्नुभयो । छोरीलाई लिएर म हतारिएर बालकुमारीबाट कोटेश्वर पुगेँ । पन्ध्र वर्षपछिको त्यो भेट । केही बोल्न सकिनँ । न त उहाँहरु नै बोल्न सक्नुभयो … उहाँहरु दुवै जनाको अनुहारमाका पहिलेको जस्तो चमक कहाँ थियो र, कसैको साहारा बिना केही गर्न नसक्ने अवस्थामा देखिन्थ्यो ।
केही समयमा टेम्पु आयो, सबै जना चढ्यौं, जुन बेलाको अवस्था यस्तो थियो कि त्यहाँ हामी चार जनाले कसैले–कसैलाई चिन्दैनौं । चारै जना मौन अवस्थामा । घरमा कोही नहुने भएकोले बस्तु भाउ पल्लाघरे हरि काकालाई जिम्मा लगाएर आउनु भएछ ।
श्रीमानले टिलपिल आँखासाथ मेरो अनुहार हेर्नुभयो, मैले उहाँको आँखामा हेर्न सकिनँ, आँशु टप्प खस्यो, तर मैले भुइँमा खस्न दिइनँ, थापेँ हात, जुन हातले उहाँको पाउको जल खाएर कसैकी छोरीबाट श्रीमती भएकी थिएँ । आखिर मेरो सिउँदो उहाँकै हातले भरिदिनुभएको थियो, कसैकी छोरीबाट श्रीमती उहाँले नै बनाउनुभएको थियो र अनि श्रीमतीबाट आमा ।
सासु आमाको ज्यान हेर्दा राम्रै उपचारको खाँचो परिसकेको देखिन्थ्यो । भोलिपल्ट नै हस्पिटल लगियौ । महिलाहरुको समस्या त्यही त होनी, पहिले लुकाएर राख्ने र अन्तिम समयमा आएर अपरेसन …पाठेघरमा आएको समस्याले शिथिल भैसक्नु भएको रहेछ । डाक्टरले अपरेसन नै गर्नुपर्ने बताउनु भयो । जुनबेला मैले श्रीमानको अनुहार हेरेँ, यतिसम्म माया लाग्दो देखिन्थ्यो कि, छातीमै टाँसेर राखौं जस्तो । त्यसबेला पहिले उहाँहरुले मलाई गर्नु भएको व्यवहार सबै भूलेँ । दुःखै गरेर भएपनि धेरथोर रकम जम्मा गरेकी थिएँ, र सासुको उपचारका लागी पचास हजार रकम डिपोजिट गराएँ । अपरेसन सफल भयो । उहाँहरु काठमाडौं आउनु भएको पनि एक महिना हुन आँटेछ । वर्षौपछिको एक महिनाको भेटमा उहाँहरु कुरा गर्ने प्रयास गर्नु हुन्थ्यो तर घरको काम र बाहिरको कामले म अलि व्यस्त हुन्थें । जसकारण हाम्रो खास कुराकानी केही पनि हुन सकेन । अनि श्रीमानले पनि घर जाने कुरा गर्नुभयो । सासुआमा भने जाने मनस्थितिमा देखिनुहुन्थ्यो । अनि श्रीमानलाई केही दिन बस्न आग्रह गरे ।
त्यही दिनहरुको आसपासमा संयोगले एकदिन चिनजानकै साथीबाट एक रोपनी खेत कमाईदिन प्रस्ताव आयो । सोही कुरा घरमा आएर भने । अनि सासु र श्रीमानको एउटै जवाफ आयो ‘पहिले ठाउँ हेरौंनँ’ । र तीनै जना ठाउँ हेर्न गयौं, काठमाडौंको माटो त हो, गरे के हुन्न र भने जस्तो । अनि श्रीमानले भन्नु भयो ‘यतिको ठाउँमा गरेको दुःख खेर जान्न । सासुले पनि मुन्टो हल्लाउँदै ‘उउम्म्मम’ भन्नुभयो ।
घर फर्किएपछि परिवारसँग अन्तिम निर्णय गर्ने सोचें । कि त मिल्नु पर्यो कित छुटिनु पर्यो । मनमनै त सँगै मिलेर बस्न पाए हुने पनि लागिरहेको थियो । तर अर्को मन सोच्थ्यो, नारी भएर नारीकै मर्म नबुभ्mने उ, मेरो सिन्दुर खोसेर आफ्नो सिउँदो भर्न आएकी उ… मलाई के मतलब ?
अनि श्रीमानलाई सोधे ‘कान्छी कहिले आउँछे माईतबाट ?’ उहाँको जवाफ– ‘खै’… सासुले पनि पुर्लुक्क मेरो मुखमा हेर्नुभयो । अनि झनै प्रश्न सोध्ने आँट गरे । ‘किन यतिको समयसम्म नआएकी ? कतै कान्छीसँग पनि सम्बन्ध मेरो जस्तै त भएको हैननी ? अब म सँगको सम्बन्धलाई कसरी निभाउनु हुन्छ ? प्रश्नै प्रश्न उठाँए । त्यतिका प्रश्नको श्रीमानको एउटै जवाफ– ‘अब कान्छीलाई नै एकपटक बोलाएर सल्लाह गरौं’ । उहाँको भनाई सुन्दा सम्बन्ध फेरी अघि बढाउन पाए हुन्थ्यो भन्ने भाव प्रष्ट झल्किन्थ्यो । त्यो समयसम्म म आफूमा आत्मनिर्भर भैसकेकी भएर होला श्रीमान र सासुको निर्णय जे आउँछ त्यै स्विकार्ने पक्षमा थिएँ । दुःख गर्ने बानी बसिसकेकोले दुःखदेखी निडर भैसकेकी थिए । र, कान्छीलाई केही दिनमा नै बोलाउन आग्रह गरेँ । यता छोरीको भने कलेज चलिरहेको थियो । उसले पनि सबै कुरा थाहा पाईरहेकी थिई तर केही बोल्दिन थिई । कारण मेरो निर्णय नै उस्को निर्णय र खुसी ठान्थी ।
भाग १ : छोरी काखमा च्यापेर सौताको स्वागत गर्न विवश ‘म’ !
म सँगको सल्लाहपछि श्रीमानले कान्छी अर्थात् (कान्छी श्रीमती, यानकी मेरी सौता) लाई बोलाउनु भएछ । कान्छीदेखि म मा कुनै रिस, राग र डाहा थिएन । किनकी म आफ्नै भाग्यलाई दोष दिन्थें । नभन्दै उ पनि श्रीमान सँगसँगै बस्ने कि छुट्टिने भन्ने अन्तिम निर्णय लिने हिसाबले काठमाडौं आईछे । ‘दुई स्वास्नीको पोई, कुना पसी रोई,’ भन्ने उखान सम्झिएँ, जसले मलाई नाबालिका छोरीसँग घर छाड्न विवश बनाएको थियो, उसैले दुवै जनाको साथ नपाउने सम्भावना देखिएको थियो । साँच्चै नै मेरो श्रीमान दुवै ढुंगाबाट चिप्लिने अवस्थामा पुग्नुभयो । सासु, श्रीमान्, कान्छी र म बसेर सामान्य छलफल गर्यौं । कान्छीबाट पनि बालबच्चा भएको रहेनछ । र उनी अंश लिएर छुट्टिने नै निर्णय गरिन् । श्रीमान्, सासु केही बोल्नु भएन । श्रीमानले टिलपिल आँखासाथ मेरो अनुहार हेर्नुभयो, मैले उहाँको आँखामा हेर्न सकिनँ, आँशु टप्प खस्यो, तर मैले भुइँमा खस्न दिइनँ, थापेँ हात, जुन हातले उहाँको पाउको जल खाएर कसैकी छोरीबाट श्रीमती भएकी थिएँ । आखिर मेरो सिउँदो उहाँकै हातले भरिदिनुभएको थियो, कसैकी छोरीबाट श्रीमती उहाँले नै बनाउनुभएको थियो र अनि श्रीमतीबाट आमा । सोचे झै जिन्दगी कहाँ हुँदो रहेछ र ?
त्यसपछि श्रीमान् र कान्छीको छोडपत्रका लागी सबै जना गाउँ गयौं । छिमेकीहरु चकित पर्न थाले । नराम्रा कुरा कसैले पनि गरेनन् । मिलेमतोमा नै कान्छीसँगको छोडपत्रको काम सकायौं । १५ वर्षपछि परिवारमा भन्दा पनि मेरो मनमा खुसीको पहाड चुलियो । सुनेको थिएँ बाह्र वर्षपछि खोला पनि फर्किन्छ, तर मेरो त पन्ध्र वर्षपछि सपरिवार फर्कियो । दुखीको पनि एकदिन सुदिन फिर्छ भन्थे साँच्चै हो रहेछ ।

