लामो दूरीका सार्वजनिक सवारी सल्लाघारीबाट सञ्चालनमा ल्याउन कार्यदलको सुझाव


काठमाडौं – काठमाडौं महानगरपालिकाद्वारा गठित यातायात सञ्चालनसम्बन्धी अध्ययन कार्यदलले लामो दूरीका ठूला सार्वजनिक सवारी साधन मनोहरा खोला करिडोर अथवा सल्लाघारीबाट सञ्चालनमा ल्याउन सुझाव दिएको छ ।

कामपाको उपप्रमुख उपप्रमुख हरिप्रभा खड्गीको संयोजकत्वमा गठित ‘कामपा भएर गुड्ने लामो दूरीका सार्वजनिक सवारी साधन व्यवस्थापन अध्ययन समिति’ले प्रमुख शाक्यलाई शुक्रबार तीनबुँदे अध्ययन प्रतिवेदन हस्तान्तरण गर्दै उक्त सुझाव दिएको हो । ठूला सार्वजनिक सवारी साधनको ‘पिक एन्ड ड्रप’ लाई थप व्यवस्थापन गर्नका लागि एक हप्ताअघि कार्यदल गठन गरिएको थियो ।

उक्त कार्यदलमार्फत तयार गरिएको प्रतिवेदनमा तत्काल सार्वजनिक यात्रुवाहक ठूला सवारी साधनको व्यवस्थापन जडीबुटी पुल पूर्वको मनोहरा खोला करिडोर सर्मत-सम्भार गरी वा सल्लाघारी तीनकुने सडक किनाराबाट धुलिखेल पूर्वतर्फका सार्वजनिक सवारी सञ्चालन गर्न सकिने उल्लेख छ ।

सङ्घीय सरकार, प्रदेश सरकार, उपत्यकाभित्रका पालिका र सवारी साधन व्यवसायीको समन्वय, सहकार्य र लागत सहभागितामा सवारी साधनको कार्य प्रकृति तथा सञ्चालन हुने दूरीका आधारमा लामो दूरी र सहरी यातायातका छुट्टाछुट्टै सवारी साधन टर्मिनलको विकास गर्न आवश्यक रहेको पनि प्रतिवेदनमा भनिएको छ ।

हाल कामपाले खुल्ला मञ्चबाट सञ्चालिन बसपार्क हटाएर सिटी यातायातका लागि ‘पिक एन्ड ड्रप’ र मध्यम दूरीका यातायातलाई नयाँ बसपार्कबाट सञ्चालन गर्ने व्यवस्था गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्को व्यवस्था नभएसम्मका लागि खुल्ला मञ्चमा साबिकबमोजिम बसपार्कका रुपमा प्रयोगका लागि माग गरे पनि कामपाले त्यो सम्भव नहुने बताउँदै आएको छ ।

प्रतिवेदनमा काठमाडौँ उपत्यकामा १४ लाख विभिन्न खाले सवारी सञ्चालनमा रहेको र त्यसमध्ये ८० प्रतिशत सवारी कामपाका क्षेत्र भएर सञ्चालन हुने पनि जानकारी दिएको छ । खुल्ला मञ्चबाट सञ्चालन भएको बसपार्क गत वैशाख १६ बाट बन्द गरेको थियो । खुल्ला मञ्च बन्द भएपछि यातायात व्यवसायीले उपयुक्त स्थानको माग राख्दै आएका छन् । व्यवसायीको मागका विषयमा अध्ययन गर्न साउन १५ गते बसेको कामपाको ६५औँ कार्यपालिका बैठकले उपप्रमुख खड्गीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो ।

यसैबीच कामपाले आगामी तिहारसम्ममा आफ्नो क्षेत्रका विभिन्न स्थानमा ८८ थान हाई मास्ट बत्ती जडान गर्ने भएको छ । मेयर उज्यालो कार्यक्रमअन्तर्गत कामपाको क्षेत्राधिकारभित्र पर्ने सार्वजनिक स्थान, उद्यान र सहरका भित्री स्थानमा रहेका बहाल र चोकहरुमा बत्ती जडान गरिने जनाइएको छ ।

यस कार्यका लागि अहिले बोलपत्र आह्वान गरी बत्ती जडान गर्ने कम्पनी छनोट गरिसकेको कामपा पूर्वाधार विकास विभाग प्रमुख राम थापाले जानकारी दिए । “अबको केही दिनभित्र जडान गर्ने कम्पनीसँग सम्झौता गरी आगामी भदौ दोस्रो साताबाट काम सुरु हुन्छ”, प्रमुख थापाले भने ।

यो स्वचालित बत्ती हो, प्राकृतिक उज्यालो कम हन थालेपछि आफैँ बल्ने आवश्यकता नभएको बेला आफैँ निभ्ने गर्दछ । आवश्यकता हेरी सहरको बाहिरी तथा खुल्ला स्थानमा १६ मिटरको पोल र मानिसको बस्ती नजिक भने १२ मिटरको पोलमा बत्ती जडान गरीनेछ । एक स्थानमा राखेको उक्त बत्तीले एक सय मिटरसम्म उज्यालो दिने बताइएको छ । यसअघि परीक्षणका लागि राष्ट्रिय सभागृहमा बत्ती जडान भइसकेको छ ।

बत्ती जडान कार्य भएसँगै रातका समयमा हुने विभिन्न किसिमका आपराधिक घटना नियन्त्रणका लागि ठूलो सहयोग पुग्ने कामपाले विश्वास लिएको छ । हाल कामपाको मुख्य सडक कालीमाटी, त्रिपुरेश्वर, कलङ्की, बालाजु लगायतका स्थानमा कहीँ बत्ती नै छैन भने भएका केही स्थानमा पनि पर्याप्त रूपमा सडक बत्ती नहुँदा सडक दुर्घटना र अपराधका घटनाहरू घटिरहेका छन् । यस कार्यका लागि कामपाले चालु आर्थिक वर्षमा १० करोड बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया