

शान्ति मिसनमा धाँधलीः एसपीलाई विभागीय कारबाही, तीन जना जागिरबाटै बर्खास्त

काठमाडौं – प्रहरी यूएन मिसनमा जान प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट)को प्रश्नपत्र बाहिरिएको घटनामा १४ जनालाई कारबाहीको लागि सिफारिस गरिएको छ। छानबिन समितिले तयार गरेको प्रतिवेदनअनुसार ३ जनालाई तत्काल निलम्बन गरेर जागिरबाट बर्खास्त गर्ने र ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ।
प्रश्नपत्र बाहिरिएको सूचना आएलगत्तै प्रहरी प्रधान कार्यालयले प्रहरी नायव महानिरीक्षक (डिआईजी) वसन्त लामा नेतृत्वमा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी), प्रहरी उपरीक्षक (एसपी), प्रहरी नायब उपरीक्षक (डिएसपी) र प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहितको ६ जनाको टोली गठन गरेको थियो। समितिले छानबिन सकेर बुधवार प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई प्रतिवेदन बुझाएको छ।
प्रतिवेदन ५ सय ५० पृष्ठको छ।
छानबिन समितिले बुझाएको प्रतिवेदनमा प्रहरी नायव निरीक्षक (सई) जनक विष्ट, हवल्दार कुमार शाह र परिचर सुरेश बमलाई तत्काल निलम्बन गरेर जागिरबाट बर्खास्त गर्न सिफारिस गरिएको छ। साइबर ब्यूरोमा कार्यरत हवल्दार शाहको योजनामा यूएन शाखामा कार्यरत परिचर बमलाई प्रयोग गरेर प्रश्नपत्र बाहिरिएको समितिको दाबी छ।
त्यस्तै प्रश्नपत्र प्रहरी प्रधान कार्यालयस्थित युएन शाखाका प्रमुख एसपी अनुपम शमशेर जबराको टेबलको घर्राबाट कार्यालय सहयोगी बमले चोरेर हवल्दार शाहमार्फत लिक गराएको छानबिनबाट पुष्टि भएको छ। यूएन मिसनको प्रश्नपत्र १ सय १९ जना परीक्षार्थीहरूको हातमा पुगेको छानबिनबाट खुलेको समितिका एक सदस्यले अनलाइनन्युजलाई बताए।
प्रश्नपत्रको संरक्षण गर्न नसकेको भन्दै समितिले एसपी शमशेर, प्रश्नपत्र तयार गर्ने अर्का एसपी वेद बिष्ट र इन्सपेक्टर ईश्वरी भण्डारीलाई विभागीय कारबाहीको लागि सिफारिस गरेको छ। ‘उनीहरुलाई सामान्य विभागीय कारबाहीको लागि सिफारिस गरिएको हो,’ समितिका ती सदस्यले अनलाइनन्युजसँग भने।
यस्तै डिएसपी रुपेश खड्का, सुगन्ध श्रेष्ठलगायतलाई हदैसम्म्मको विभागीय कारबाहीको लागि सिफारिस गरिएको ती सदस्यले बताए। ‘उनीहरु प्रश्नपत्र लिक गराउने समूहका मुख्य व्यक्ति हुन्। त्यसैले उनीहरुलाई कारबाहीको लागि समितिले आईजीपीसमक्ष प्रतिवेदनमै हदैसम्म्मको लागि कारबाही गर्नुपर्ने भनेर सिफारिस गरिएको छ,’ ती सदस्यले भने।
डिएसपी खड्का उनी आफैं परीक्षार्थी थिए। हवल्दार शाहले समितिसँगको बयानमा डिएसपी खड्कालाई आफूले प्रश्नपत्र दिएको स्वीकारेका थिए। ‘प्रधान कार्यालयबाट तेस्रो लेयरसम्म प्रश्नपत्र लिक भएको देखिया,’ समितिका ती सदस्यले भने, ‘प्रश्नपत्र लिक गराउने र पाउने समेत गरि करिब ३६ जनालाई बोलाएर सोधपुछ गरेका थियौँ।’
गत १५ र १६ साउनमा प्रहरी प्रधान कार्यालय तथा ७ वटा प्रदेश प्रहरी कार्यालयमा परीक्षा सञ्चालन भएको थियो। प्रश्नपत्र परीक्षा हुनुभन्दा दुई दिन अघि नै ‘लिक’ भएको छानबिनबाट खुलेको छ। चार सेटको प्रश्न तयार गरेर परीक्षा लिइएको थियो। चारवटै सेटको प्रश्नपत्र लिक भएको समितिको निष्कर्ष छ।
यस्तै समितिले प्रश्नपत्र लिक भएको हुनाले परीक्षा समेत रद्द गर्द सिफारिस गरेको छ। ‘परीक्षा रद्द गरेर नयाँ परीक्षा सञ्चालन गर्न समितिले सुझाव दिएको छ,’ प्रहरी प्रवक्ता वसन्त कुँवरले भने, ‘संलग्नलाई कारबाही गर्न र युएन शाखामा विगतदेखि नै लापरबाही हुँदै आएको निष्कर्षसहित छानबिन समितिले आगामी दिनमा सुधार गर्नुपर्ने सुझाव दिएको छ।’
परीक्षामा जवानदेखि एसएसपीसम्मका २ हजार ४ सय परीक्षार्थी सहभागि थिए।
प्रिस्याट परीक्षा पास गरेपछि स्याट परीक्षा लिइन्छ। त्यो उत्तीर्ण गरेपछि मात्र मिसनमा जान पाइन्छ। मिसनमा जाँदा छोटो समयमा राम्रो आम्दानी हुने भएकाले प्रहरीहरूको आकर्षण त्यसमा देखिन्छ। त्यसैले उक्त परीक्षामा पास हुनको लागि सहभागि हुने परीक्षार्थीहरुले जस्तोसुकै कदम चाल्न पनि पछि हट्दैनन्। त्यसको पछिल्लो उदाहरण हो– प्रश्नपत्र नै लिक।
यो पनि पढ्नुहोस्…
शान्ति मिसनमा धाँधलीः यसरी चोरी भयो एसपीको दराजबाट प्रश्नपत्र?

