शान्ति मिसनमा धाँधलीः यसरी चोरी भयो एसपीको दराजबाट प्रश्नपत्र?


काठमाडौं – गत १५ र १६ साउनमा प्रहरी प्रधान कार्यालय तथा ७ वटा प्रदेश प्रहरी कार्यालयमा संयुक्त राष्ट्रसंघको शान्ति मिशनमा जानका लागि नेपाल प्रहरीले लिने आन्तरिक (प्रि–स्याट) को परीक्षा सञ्चालन भएको थियो। परीक्षामा जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मका २ हजार ४ सय परीक्षार्थी सहभागि थिए।

युएन मिसनमा जानको लागि लिने परीक्षाको प्रश्न सेट प्रहरी प्रधान कार्यालय मातहतको युएन शाखाले गरेको हुन्छ। परीक्षा हुनुभन्दा एक दुई दिनअघि प्रश्नपत्र सेट गरिएको हुन्छ। सोही अनुसार युएन शाखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनुप शमशेर राणाले प्रश्नपत्र सेट गरेर आफ्नो दराजमा राखे।

प्रिस्याट परीक्षा पास गरेपछि स्याट परीक्षा लिइन्छ। त्यो उत्तीर्ण गरेपछि मात्र मिसनमा जान पाइन्छ। मिसनमा जाँदा छोटो समयमा राम्रो आम्दानी हुने भएकाले प्रहरीहरूको आकर्षण त्यसमा देखिन्छ। त्यसैले उक्त परीक्षामा पास हुनको लागि सहभागि हुने परीक्षार्थीहरुले जस्तोसुकै कदम चाल्न पनि पछि हट्दैनन्।

यसको एउटा उदाहरण हो – प्रश्नपत्र नै आउट! यतिबेला प्री–स्याटको प्रश्नपत्र चोरीपछि ‘लिक’ भएको घटनाले प्रहरी प्रधान कार्यालयमा हंगामा मच्चिएको छ। जति नै सुरक्षाकर्मीले घेरिएको सुरक्षित ठाउँ भएपनि प्रश्नपत्र चोरी भएर आउट भएपछि प्रहरी संगठनको बदनाम भएको छ।

१५ गते दुई सिफ्टमा २५० जनाको दरले परीक्षा भएको थियो। १६ गते पनि दुई सिफ्टमा त्यति नै परीक्षार्थी थिए। १६ गतेमात्र प्रश्नपत्र आउट भएको गुनासो परीक्षार्थीहरुले गरेका थिए। अन्तिम सिफ्टमा भएको परीक्षाको प्रश्नपत्र लिक भएको हो। त्यसपछि एक घण्टा ढिलो गरेर परीक्षा लिइएको थियो।

प्रश्नपत्र चोरी भएर आउट भएपछि प्रहरी प्रधान कार्यालयले छानबिन समिति नै गठन गरेर अहिले अनुसन्धान गरिरहेको छ। प्रहरी नायब महानिरीक्षक (डिआईजी) वसन्त लामाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेर अनुसन्धान गर्दा प्रश्नपत्र युएन शाखाका एसपी राणाको दराजबाट चोरी भएको खुलेको छ।

उक्त प्रश्नपत्र यूएन शाखाकै कार्यालय सहयोगीबाट लिक भएको खुलासा भएको हो। छानबिन समिति स्रोतका अनुसार यूएन शाखाकै कार्यालय सहयोगी सुरेश बमबाट प्रश्नपत्र बाहिरिएको हो। बमले यूएन शाखाको एसपी राणाको दराजबाट प्रश्नपत्र चोरी गरेर साइबर ब्युरोमा कार्यरत प्रहरी हबल्दार कुमार शाहलाई उपलब्ध गराएको खुलेको छ।

हवल्दार शाहले भनेपछि बमले परीक्षाको दुई दिन पहिले राति ८ बजे प्रश्नपत्र फोटोकपी गरेको खुलेको छ। प्रश्नपत्र रहेको दराजको चाबी परिचरसँग पनि थियो।

त्यसपछि उक्त प्रश्नपत्र विभिन्न अधिकृतसम्म पुगेको पाइएको छ। प्री–स्याटको प्रश्नपत्र प्रहरी नायब उपरीक्षक (डिएसपी) रुपेश खड्कासम्म पुगेको लामा नेतृत्वको छानबिन समितिको निष्कर्ष छ। प्रहरी स्रोतका अनुसार खड्काले ल्याण्ड लाइन नम्बर ०१–४४१०५९९ मार्फत युएन शाखामा सम्पर्क गरेर प्रश्नपत्र मगाएका थिए।

उक्त परीक्षामा सहभागि भएका डिएसपी बासुदेव पाठकको नाम पनि प्रश्नपत्र आउट प्रकरणमा जोडिएको छ। पाठक यूएन शाखामा कार्यरत छन्। यद्यपी छानबिन समितिले पाठकको संलग्नता रहेको/नरहेको बारे केही खुलाएको छैन।

यसअघि युएन शाखामा काम गरेका डिएसपी खड्कालाई भर्खरै निरीक्षकमा बढुवा भएका दिनेश पुनले प्रश्नपत्र पठाएका हुन्। डिएसपी खड्कालाई प्रश्नपत्र पु¥याउन प्रहरी नायव निरीक्षक (सई) जनक थापा उनको घरमा पुगेका थिए। डिएसपी खड्कासहित ८ जना परीक्षार्थीले परीक्षा हुनुअगावै प्रश्नपत्र पाएको छानबिन समितिको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

यसबाहेक अन्य क–कसले प्रश्नपत्र प्राप्त गरे भन्नबारे अनुसन्धान जारी छ। लामा नेतृत्वको छानबिन समितिले युनएन शाखामा कार्यरत एसपी, डिएसपीको बयान गरिसकेको छ। त्यस्तै बम र शाहलाई भने नियन्त्रणमै लिएर अनुसन्धान भइरहेको छ। शाहले आफैँले डिएसपी रुपेश खड्कालाई शान्ति मिसनको प्रश्नपत्र दिएको बयान दिएका छन्।

समितिसँगको बयानमा उनले भनेका छन्, ‘डिएसपी सा’पलाई मैले नै प्रश्नपत्र दिएको हुँ।’ यसअघि युएन शाखामा बसेका खड्का र शाहको बिचमा पुरानो चिनजान थियो। बम र शाहहरुलाई नक्सालस्थित सशस्त्र प्रहरी गण नम्बर–१ मा आन्तरिक थुनामा राखिएको छ। शाहको भाइबरमा प्रश्नपत्र भेटिएको बताइएको छ।

बम र शाहको बीचमा लेनदेन थियो। व्यवसाय पनि सुरु गर्न लागेका उनले हबल्दार शाहसँग १ लाख रुपैयाँ ऋण लिएका थिए। प्रश्नपत्र ‘लिक’ गराए सो ऋण चुक्ता हुने आश्वासनपछि आफूले ‘दराजको घर्राबाट प्रश्नपत्र चोरेको’ सुरेश बमले समितिसमक्ष बयान दिएका छन्।

यसरी बाहिरियो प्रश्नपत्र आउटको सूचना

प्रश्नपत्र बाहिरिएको प्रकरणमा ३० बढी प्रहरी जोडिएको छानबिन स्रोतले जनाएको छ। ‘यो प्रकरणमा मुख्य भूमिका हवल्दार साह र परिचर बमको देखिएको भएपनि उनीहरुलाई उत्प्रेरित गर्ने सबैलाई छानबिनमा तानिएको छ,’ छानबिन समितिका एक सदस्यले भने।

परीक्षा सञ्चालनको तयारी भइरहँदा गत शनिबार यूएन शाखाकै एक अधिकारीसम्म प्रश्नपत्र पुगेको थियो। उनी पनि परीक्षा दिने तयारीमा थिए। उनले यो प्रश्नपत्र कहाँबाट आयो भनेर सोधे। ती प्रहरीले आफूलाई अर्कैले पठाएको भनेर नाम दिए। ती अधिकारीले यूएन शाखा प्रमुखलाई त्यो प्रश्नपत्र सही हो कि होइन भनेर निश्चित गर्दा प्रश्नपत्र बाहिरिएको थियो।

राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत प्रहरी परामर्श अनपोल मिसनका रुपमा जान अंग्रेजी भाषा, ड्राइभिङ तथा हतियार सञ्चालन लगायत विषयमा परीक्षा उत्तीर्ण हुनुपर्छ। प्रारम्भिक अर्थात प्री–स्याट परीक्षा उतीर्ण भए पश्चात अन्तिम परीक्षा राष्ट्रसंघकै प्रतिनिधिको निगरानीमा सञ्चालन हुन्छ।

०००००

डिआईजी लामा नेतृत्वको समितिले विस्तृत अध्ययनपछि प्रतिवेदन प्रहरी महानिरीक्षक (आईजी)लाई बुझाउनेछ। घटनामा संग्लनमाथि कारबाहीको सिफारिस, परीक्षा रद्द र निलम्बन र सेवाबाट बर्खास्तसम्मको सिफारिस गर्ने सम्भावना छ। छानबिनको दायरामा प्रहरीका एसएसपीदेखि जवानसम्म छन्।

‘छानबिन जारी छ’, प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले भने, ‘छानबिन सकिएपछि यथार्थ बाहिर आउँछ, संलग्नहरूलाई विभागीय कारबाही हुन्छ।’ प्रश्नपत्र बाहिरिएको घटनाले शान्ति मिसनमा नेपालको छविमाथि नै आँच आउने जोखिम बढेकाले छिट्टै सत्यतथ्य सार्वजनिक गर्ने प्रहरी प्रवक्ता कुँवरले बताए।

यसरी युएन मिसनको प्रश्नपत्र चोरी हुनु नौलो कुरा नभएको एक पूर्वडिआईजी बताउँछन्। यसअघि पनि भएका परीक्षाको पनि प्रश्नपत्र आउट भएका थिए। नेपाल प्रहरीमा मात्र होइन सशस्त्र प्रहरीमा पनि मिसनमा जानको लागि लिइने परीक्षाको प्रश्नपत्र आउट भएको उदाहरणहरु छन्।

यसअघि सन् २०१८ मा भएको प्रि स्याट परीक्षाको प्रश्न पत्र परीक्षा अगावै बाहिरिएको पाइएपछि अर्को परीक्षा लिइएको थियो।

प्रतिक्रिया