थुइक्क! तेरो अन्धो देशभक्ति


पछिल्लो समय नेपालको सुदूरपश्चिम क्षेत्र दार्चुला जिल्लामा भारतीय प्रहरीका एसएसपीले तुइन काटेको घटनाले देश र राष्ट्रभक्तिको विषयमा सवाल उठेको छ।

राष्ट्र प्रमुखदेखि सर्वसाधारणसम्म सबैको ध्यान दार्चुलातिर मोडिएको छ भने सदनदेखि सडकसम्म उक्त घटनाले चर्चा पाएको छ। रोजगारीका शिलशिलामा भारततर्फ लागेका जयसिंह धामी र उनका साथीहरु महाकाली नदिमाथि राखिएको तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गरेको अमानवीय व्यवहारले निम्त्याएको दुर्घटना हो ।

सबैभन्दा नराम्रो घटना अमानवीय व्यावहार भाएको छ। चाहे त्यो भारतीय नागरिक होस् वा नेपाली एउटा निरिहको ज्यान गएको अनुमान छ, उनी बेपत्ता छन्।

आफ्नो ज्यान पाल्न र परिवारको गर्जो टार्न भारततिर लागेका ती निरिहको हत्या भएको आशंका छ। मानवताको नाताले नै सहि तुइन तर्दै गरेको बेला डोरी चुडिँन लागेको देखे थामेर ज्यान बचाउँनु पर्ने अवस्थामा महाकाली नदि उर्लेको भेलमाथि डोरीको भरमा यात्रा गर्ने यात्रीको गन्तव्य मेटिएको छ।

साँच्चै मानिस मानव भइदिएको भए

अहिले विश्व साझा घर बनिरहेको छ। र, हो पनि। जसले जहाँ गएर पनि जीवन चलाउन सक्नु पर्ने हो। आफ्नो जीवन यापन गर्न सक्नु पर्ने हो। यीनै मानव दानव भइदिँदा सीमा र सुरक्षा निर्धारण गरिएको छ। तर यो सीमा के सीमा? यो सुरक्षा के सुरक्षा जहाँ एउटा निरिहको शरीरको रक्षा हुनुको साटो भक्ष हुन्छ। त्यो सीमामा बस्ने सुरक्षाकर्मी (एसएसबी)ले के पायो एउटा निरिहको ज्यान लिएर? अपराधी नै भएको भए पनि केही समय सजाए भोगेर ज्यान बकस पाउँथ्यो। अब त्यो निर्दोष कहिले आउने छैन। किन यस्तो भयो भने बेकारको अन्धभक्त देशको सीमा भक्तिले। त्यसैले भन्छु– थुइक्क! तेरो अन्धो देशभक्ति।

जीवन गुजारा कै शिलशिलामा कति भारतीय नागरिक नेपालमा पेशा व्यवसाय गर्दै छन्। ती भारतीयलाई नेपालमा कसैले होच्याएर मात्रै बोल्दा पनि मेरो मनमा मान्छे भएर मानवता नभएको व्यक्ति भूगोल र सीमाको आधारमा विचरालाई यस्तो तुच्छ बचन, घृणित व्यवहार गर्दछ भन्ने सोचाई आउँछ। त्यसैले यो लेखाईमा कसैलाई भड्काउने उद्देश्य छैन।

राजनीति र कुटनीतिका नाममा सीमाको यो पीडालाई लुकाउने प्रयत्न नहोस्। एक पटक सीमा मारिएका गोविन्द गौतमलाई स्मरण गरी सरकारले यो प्रकरणमा बलियो पहल गरोस्, अन्यथा मानवता हराएको मुलुकमा हामी पनि दरिनेछौं

आफ्नो देशमा नै चाहे त्यो जो सुकै होस् स्वदेशी होस् वा विदेशी अन्यायमा परेको छ भन्ने लाग्यो भने म बोली दिन्छु। चाहे त्यहाँ सुनुवाई होस् वा नहोस्। कोही यसलाई मेरो खराव बानी पनि भन्छन्। तर जे होस् मेरो दृष्टिकोण राख्छु। देशको सीमा एउटा होला तर मानवता त सीमाहिन हुन्छ नि!

आज दार्चुलाको यो घटनाले मेरो मनमा धेरै पहिलेदेखि घुमेको एउटा कुरा विश्व त एउटा साझा घर हो आखिर यो कुरा मानिसले कहिले बुझ्छ? भन्ने प्रश्न जागेको छ। यो कुरा कसले कसलाई बुझाउँछ भन्ने विषयमा केन्द्रित भएको छ। अनायासै एउटा निर्दोष महाकाली नदिमा बग्यो। त्यो एसएसबीलाई थाहा भइदिएको भए, कति भारतीय नेपालमा आएर जीविकापार्जन गरिरहेका छन् भन्ने पनि।

भारतमा सम्भावना देखेर जान लागेको यसको मद्दत गर्नुपर्छ भन्ने सोचाई आउँथ्यो होला। तर त्यो एउटा भेडाको जस्तो बुद्धि भएको सिपाही जसले मान्छेको जीवन भन्दा ठूलो एक धूर जमिनको मोल देख्यो। त्यसले त्यो जमिन जति नै च्यापेर राखे पनि आखिर जाने त कँही थिएन। रह्यो कुरा सुरक्षाको त्यो दुखीले टेकेर जमिन अपराधी बढ्ने वा घट्ने पनि त थिएन।

माटोको माया गर्नु पर्छ किनकी यही माटोले हामीलाई हामी बनाउँछ। मानवलाई जीवन दिन्छ तर दानवीय प्रवृत्ति भएको एसएसबीलाई के थाहा सीमा किन बनाइन्छ भनेर? देशको रक्षा कसरी गरिन्छ? यदि त्यसले यो कुरा बुझेको भए यो तुक्ष दानबीय सोचको परिणाम दिने थिएन।

मुकदर्शक सरकार लाचार प्रशासन

महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न आएको समिति सात दिनपछि भारतीय बाटो हुँदै घटनास्थल पुगेर फर्किएको छ। नेपाल र भारतका सुरक्षा अधिकारीसहित छानबिन टोली घटनास्थल निरीक्षणमा पुगेको थियो।

व्यास गाउँपालिका–२, मालघाटको स्थलगत निरीक्षण गर्न नेपाली सुरक्षा अधिकारी र छानबिन समिति भारतीय एसएसबीसँगै घटनास्थल पुगेका थिए। गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको छानबिन टोली दार्चुलाबाट धारचुला भारत हुँदै गस्कु–मालघाट पुगेको थियो।

घटनास्थल पुगेको समितिले तुइन बाँधिएको रुखको नापजाँच लिएको छ। यसअघि जिल्लाबाट खटिएको अनुसन्धान टोलीले दिएको विवरणानुसार घटनास्थलको निरीक्षण गरिएको अनुगमन समितिका सदस्य एवं सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले बताइन्। छानबिन समितिले नेपालतर्फबाट स्थलगत निरीक्षण र पीडित परिवार भेट्ने योजना बनाएको छ। नेपालतिरबाट पैदलै हिँडेर जान सम्भव छैन। समितिे हेलिकोप्टरमार्फत व्यासको मालगाउँ पुग्यो।

यता धामीसँगै गएका उनका साथी र स्थानीयवासी प्रत्यक्षदर्शीको भनाइलाई निरीक्षण टोलीले वेवास्ता गरेको र भारतीय प्रहरीकै साथ लागेर आएपछि टोलीसँग आक्रोशित बनेका स्थानीय पदर्शनमा उत्रिएका छन्। सरकारले घटनालाई गम्भीरतापूर्वक नलिएको भन्दै निष्पक्ष छानविन हुनेमा आशंका छ।

छानबिन समितिले काटिएको तुईनका विषयमा आधिकारिकता फेला पारेन भन्ने प्रारम्भिक जानकारी आएको छ। तर, राजनीति र कुटनीतिका नाममा सीमाको यो पीडालाई लुकाउने प्रयत्न नहोस्। एक पटक सीमा मारिएका गोविन्द गौतमलाई स्मरण गरी सरकारले यो प्रकरणमा बलियो पहल गरोस्, अन्यथा मानवता हराएको मुलुकमा हामी पनि दरिनेछौं।

प्रतिक्रिया