एउटा अपेक्षा- चीलको उडान भरेका प्रचण्ड कमिलाको प्वाँखमा नखुम्चिउन्


सत्ता राजनीतिको केन्द्रविन्दुमा फेरि पनि पुष्पकमल दाहाल प्रचण्ड छन्, प्रधानमन्त्री पदमा नभए पनि। सत्ता सहकार्यको दोस्रो ठूलो दल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सत्ता साझेदारी, पार्टी एकता, विभाजन र त्यसपछिको सत्ता गठबन्धनको मियोँका रुपमा आएका परिघटनाका एक पात्रका रुपमा प्रचण्डको परिचय पुनःस्थापित भयो, प्रतिनिधि सभा पुनःस्थापनासँगै।

कम्युनिस्ट पार्टीको सरकार गिराएका छन् र दक्षिणपन्थी सत्ता साझेदारीको संसदीय मोडलको खेलमा प्रचण्ड विगत १५ बर्षदेखि ‘रोलमोडल’कै रुपमा उभिएका छन्। किनभने, शान्ति सम्झौतापछि तत्कालिन पुनःस्थापित व्यवस्थापिका संसदमा चुनाव नै नलडी ८३ सीट (एमाले बराबर हैसियत)मा उभिए। एउटा हातमा बन्दुक र अर्को हातमा ब्यालेटसहित बिना प्रतिस्पर्धा सदनमा उत्रिने यो हिम्मत र सम्झौता गरेको इतिहास कसैले लेखेको थिएन, प्रचण्डले खोपिदिए।

यो इतिहाससँगै प्रचण्ड ‘कम्युनिज्म ट्रयाक’बाट स्खलित र दक्षिणपन्थी मार्गमा तिव्र गतिमा रिले दौडमा अग्रपंक्तिमा रहेका नेता बन्दै अघि बढे। माओत्सेतुङले भनेजस्तो बन्दुकबाट सत्तासम्म पुगे। तर माओले नै भनेविपरित लाभ र प्रेममा कम्युनिज्मलाई स्खलनको अर्को पाटोमा दौडाए।

कुनै पनि कम्युनिस्ट सैद्धान्तिक प्रतिपादकका भनाईभन्दा विपरित यात्रा सुरु गरे, मौलिक आयामको उठान गर्न सकेनन्। लालचको टाकुरामा रहेका दलाल पूँजीपतिसँगको संगतीले कम्युनिस्ट पार्टीभित्र असंगतीका अनेक घटनाक्रमलाई बचाऊ गर्दै हिँडे। उनी भन्छन्– मर्ने बेलामा गिरीजाप्रसाद कोइरालाले मलाई देश जिम्मा लगाएका हुन्। स्वभाविक रुपमा शान्ति सम्झौताका जीवित व्यक्ति भएका कारण गिरीजाले लगाएको जिम्मेवारी संगतीपूर्ण हिसाबले त लिए होला तर उनले संसदीय राजनीतिमा गरेका अवगुणको भारी पनि जिम्मा लिएछन् त्यसैले कम्युनिस्ट भन्दा एक कदम पर सरेर संसदीय राजनीतिको कुरुप हिलोमा पौडिन थाले। यसैका उदाहरण थिए सत्ता उलटपुलट र अस्थिरताको चरणबद्ध श्रृङ्खला।

के कम्युनिस्ट त्यस्तो हुन्छ? प्रचण्डको पछिल्लो संसदीय तिकडमपथीय हुन्छ?

कार्ल माक्र्स भन्छन्– कम्युनिस्टको पहिलो सिद्धान्त नै व्यक्तिगत सम्पत्ति त्याग गर्नु हो। त्यसलाई वितरण गर्नु हो। तर, नेपालमा छारस्ट रहेका कम्युनिस्ट नेता कार्यकर्ताले त्यो विचारधारालाई सैद्धान्तिक रुपमा आत्मसाथ गरेका छन् त? कम्युनिस्टको भरथेगमा रहेको सरकारले सुकुम्बासीका लागि बनेको आयोग नै खारेज गर्छ, बिरालाले आची लुकाएजस्तो सम्पत्ति लुकाउँछ।

व्यक्तिगत लाभ र लोभमा यति लिप्त भएका कम्युनिस्ट नामका आडम्बरहरुलाई हामीले पालेका छौं, रविन्द्र मिश्रको भनाईमा यी विकृत बामपन्थका कारणले नै मुलुकले प्रगति गर्न सकेको छैन। यसको प्रमुख हिस्सेदार प्रचण्ड नै हुन्। जसका वरिपरि नै १५ बर्षदेखि सत्ता र सरकार घुमिरहेको छ। न अघि बढेको छ, न पछि हटेको भेटिन्छ। तरल छ तरल।

नेपाली राजनीतिमा माओवादीको हस्तक्षेपकारी उदयसँगै पत्रकारिताको यात्राले चरण–चरणमा गति लिएका कारण नयाँ आयामका रुपमा प्रचण्डमाथि नजर गहिरो बनाइयो। उनका हरेक राजनीतिक भाषणले उद्वेलित बनाएको स्मरणीय छन्। एक पटक उनले भनेका थिए,‘एमाले भनेको हिङ बाँधेको टालो हो, माओवादी पूरै हिङ नै आएपछि टालोको के काम?’

संसदीय प्रणाली र भ्रष्टाचारको फोहोरी राजनीतिको हिलोमा प्रचण्ड यसरी भासिए की पछिल्ला चरणमा अहिले त्यहि टालोको एउटा धागोको सहारामा सत्ता राजनीतिमा खेलवाड गरिरहेका छन्। हरेक दिन कोटेश्वरको कुनामा माधव नेपालसँगका गन्थन यसका उदाहरणका लागि पर्याप्त छन्।

‘फ्ल्यासब्याक’मा प्रचण्डलाई हेर्दा र वर्तमानमा उनलाई केलाउँदा धेरै भिन्नता छन्। शान्तिपूर्ण, खुला र संसदीय राजनीतिमा प्रचण्डको जुन राप र ताप थियो त्यो चीलको उडान थियो। त्यसैले अथाह जनशक्ति देखेका उनले खुलामञ्चमा हौसिएर भाषण गरेका थिए,‘माओवादी भनेको चील हो, अरु भनेका चल्ला हुन्।’

वास्तवमै भरीभराऊ खुलामञ्चमा प्रचण्डको भाषण सुन्नका लागि उत्रिएका हज्जारौंको भिँडले यसलाई पचाएको थियो। तर विस्तारै माओवादीको विभाजन, अपरादर्शी पार्टी सञ्चालनको अभ्याससँगै पदम कुँवर र रतन तिरुवाहरुको आवेगको प्रतिक्रियाले प्रचण्डलाई खुम्च्याएको अनुभूति सम्भवतः धेरैले गरेका होलान्।

धुजा–धुजामा रहेको माओवादीका अन्य घटक चुनावी मैदानमा उत्रिने छैनन्। किनभने नेत्रविक्रम चन्द विप्लव जनमत संग्रहको पक्षमा वकालत गरिरहेका छन् भने मोहन वैद्यहरु संसदीय प्रणालीभन्दा पर नै छन् र चुनावमा सहभागी हुनेछैनन्। यस्तो हुँदा प्रचण्डको अबको उडान के हुन सक्ला?

प्रचण्ड दशकअघि भन्थे, एमाले भन्ने पार्टीको काम छैन। प्रगतीशील विचार भएका जति माओवादीमा र त्यसबाहेकका विचार बोकेका कांग्रेसमा मिसिए हुन्छ। आखिर अहिलेको अवस्था हेर्दा एमाले दुई पक्षमा विभक्त त भएको छ तर प्रचण्ड एउटा झुन्ड बोकेर कांग्रेससँगको सत्तारोहणमा छन्। यो अवस्थामा आइपुग्दा उनको उडान चीलको छ कि, केही दिनका लागि ‘पुतली’को रहर बोकेको प्वाँख पलाएको कमिलाको? योचाहिँ संश्लेषणका लागि ‘इन्टेलेक्चुअल प्ल्याटफर्म’मा छाडेको छु।

ओलीको आक्रामक उदय, प्रचण्डको अस्वभाविक स्वार्थ सहकार्य

एमाले अध्यक्ष केपी शर्मा ओलीको उदय यति चाँडो आक्रामक रुपमा हुने थिएन। यो त प्रचण्डकै ‘ब्याक फायर’को कमाल थियो। अर्ध सैनिक बलका रुपमा स्थापित गराइएको योङ कम्युनिस्ट लिगले जब बुटबलमा एमाले कार्यकर्ता प्रचण्ड थैवको हत्या गरिदियो, ओलीको आक्रामक उदयका लागि आगो झेसेको थियो।

एमालेभित्र कर्नरमा रहेका उनी युवा पंक्तिमाझ सक्रिय हुने मौका पाए र माओवादीसँगको प्रतिरोधका लागि युथ फोर्स गठन गरी महेश बस्नेतमार्फत देशव्यापी रुपमा चर्चित भए। उनी महाधिवेशनमा पराजित भए पनि माओवादीसँग लड्ने र माओवादीमाथि प्रतिवाद गरेका कारण सदाबहार चर्चामा भए।

वाइसीएलको आपराधिक र हिंस्रक गतिविधि जति बढ्यो त्यति नै युथ फोर्सको प्रतिरोध ग्राउन्डमा र माओवादीमाथि भयानक प्रहार केन्द्रमा ओलीले गरेका कारण एमालेभित्र अस्वभाविक उदय भयो। यहाँसम्मकी प्रचण्डले झलनाथ खनाललाई प्रधानमन्त्री बनाउँदा त्यसको कडा आलोचक र त्यसअघि प्रधानमन्त्री रहेका माधव नेपालको सत्ता बचाऊमा बढी आक्रामक हुँदा ओली एमालेभित्र लोकप्रिय बन्दै उदाए।

प्रचण्डका लागि अर्को व्याक फायर त्यसबेला भयो जतिबेला नाकाबन्दीको विरोध गर्दा लोकप्रियताले चरम शिखरमा पुगेका ओलीको पहिलो प्रधानमन्त्रीत्वकालमा आफैंले गरेको समर्थन फिर्ता लिँदै अविश्वासको प्रस्ताव दर्ता भयो। त्यसबेला ‘राष्ट्रवादी न्यारेशन’का अमुक पात्रका रुपमा ओलीको उदयले अझ उर्जा पायो।

प्रचण्डले संसदमा नै भनेका थिए,‘राजनीति सम्भावनाहरुको खेल हो।’ यो सम्भावनालाई फेरि उनले उपयोग गरे, ओलीसँग चुनावी गठबन्धन र माओवादीको ग्राउन्डलाई त्राण दिने कामका लागि। उनले सोचेजस्तो त भयो तर स्वार्थसँग जडित एकता भएका कारण लामो टिक्ने सम्भावना नै थिएन।

पछिल्ला घटनाक्रमका विषयमा सबै जानकार नै भएकाले अब प्रचण्डको राजनीतिक प्रयोग के होला? यसको अनुमान लगाउन कठिन छ।

कमिलाको प्वाँख कि, चीलको उडान?

प्रचण्ड अहिले ओलीबाहेकको बाम एकताको प्रस्तावमा कम्युनिस्ट पार्टीहरुसँग र चुनावी तालमेलका लागि सत्ता गठबन्धनसँगको बहस र परामर्शमा छन्। राजनीतिमा सबैको स्वार्थ आत्मकेन्द्रित हुने भएकाले नेपाली कांग्रेसले प्रचण्डको यो प्रस्तावलाई मान्ने छैन। उसको आगामी महाधिवेशनमा यस विषयमा व्यापक चर्चा हुनेछ।

मधेसमा एकछत्र क्षेत्रीय मत आर्जन गरेको उपेन्द्र यादवले पनि प्रचण्डको प्रस्तावलाई तत्कालका लागि सकारात्मक लिए पनि उसको सहकार्य भित्री वा बाह्य प्रभावका आधारमा महन्थ ठाकुरहरुसँग नै सम्भावित छ। एमाले विभाजन भएको खण्डमा प्रचण्डसँग माधव नेपालको सहकार्य हुने सम्भावना देखिन्छ तर एकीकृत भएको खण्डमा भने ओली नै हावी हुनेछन्।

धुजा–धुजामा रहेको माओवादीका अन्य घटक चुनावी मैदानमा उत्रिने छैनन्। किनभने नेत्रविक्रम चन्द विप्लव जनमत संग्रहको पक्षमा वकालत गरिरहेका छन् भने मोहन वैद्यहरु संसदीय प्रणालीभन्दा पर नै छन् र चुनावमा सहभागी हुनेछैनन्। यस्तो हुँदा प्रचण्डको अबको उडान के हुन सक्ला? उनले अधिक प्रयोग आफूलाई बलियो बनाउने कोशीश गर्नेछन्। तर, शुभेच्छा छ– चीलको उडान भरेका प्रचण्ड कमिलाको प्वाँखमा नखुम्चिउन्!

प्रतिक्रिया