

नाइजेरियामा सेना द्वारा हालसम्मकै ठुलो परिमाणमा वन्यजन्तुका अङ्ग बरामद

नाइजेरिया- अफ्रिकी देश नाइजेरियामा सेनाले अहिलेसम्मकै ठुलो परिमाणमा वन्यजन्तुका अङ्ग बरामद गरेको छ ।
तस्करीको एक अखडामा सरकारी सेनाले छापा मारेको र यो कारबाही अहिलेसम्मकै ठुलो भएको सरकारी अधिकारीलाई जनाएको छ ।
१७ हजार एक सय ३७ किलो सालकको खपटा, ४४ किलो हात्तीको दाह्रा र ६० किलो नङ्ग्रा बरामद गरेको र यसको मूल्य ५४ मिलियन डलर बराबरको रहेको सेनाका कर्नेल मोहम्मद इब्राहिम अलीले जनाएको खबरमा उल्लेख छ ।
वन्यजन्तु र अङ्ग तस्करीमा संलग्न भएको आरोपमा तीन जना विदेशी यसअघि पक्राउ परिसकेका र आज चौथो व्यक्ति पनि पक्राउ परेका कर्नेल अलीले बताएका छन् ।
वन्यजन्तु विशेषज्ञहरुका अनुसार नाइजेरिया एसियालाई वन्यजन्तु र अङ्ग पठाउने गिरोहको केन्द्र बनेको छ । असुरक्षित सिमाना, कमजोर कानुन, भ्रष्टाचार र ठुला बन्दरगाहको पहुँचका कारण तस्करहरूका लागि नाइजेरिया सुरक्षित देश रहेको खबरमा उल्लेख छ ।
नाइजेरियाले बेलायत, अमेरिका, र जर्मन अधिकारी तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्थासँग मिलेर तस्करविरुद्धको कारबाहीलाई तीव्रता दिएको छ । एजेन्सी

