

म भित्रको ‘म’!

मान्छेहरुमा आजकाल ‘म’ हराउन थालेको छ। म आफै पनि म भित्रको ‘म’ हराएर त्यसको खोजीमा छु। मलाई मेरो ‘म’ हराएको अनुभुति भइसकेको छ त्यसैले मेरो ‘म’ को खोजीमा लाग्दैछु।
वास्तवमा मेरो जस्तै आम मानिसहरुको पनि मभित्रको ‘म’ हराएको हुनुपर्छ यसको अनुभूति नहुनु बेग्लै कुरा हो। उता कस्तुरीलाई भने महसुस भैसकेको छ। ऊ आफ्नै नाभि (मृगनाभि) को खोजीका लागि भौतारिरहेको छ।
म भित्रको ‘म’ हराएर त्यसको खोजी गरि फेला पार्ने मानिसहरु सायदै होलान्। हुन त म जस्तै आफ्नो ‘म’ हराएको महसुस गरेको एवं आफ्नो ‘म’ को पहिचान समेत गर्न नसकेको जमात निकै नै हुनुपर्छ।
खासगरी मैले पनि मेरो ‘म’ हराएको महसुस मात्रै गरेको हुँ तर मलाई हराएको मेरो ‘म’ को आकार, प्रकार, तौल, रङ्ग एवं त्यसको क्षेत्र समेतको ज्ञान छैन्, तथापि म मेरो ‘म’ खोज्ने कार्यमा लागेको छु तर के खोज्दैछु म?
यति प्रश्न आफैंलाई गरेपछि मलाई थाहा छ, मेरो पहिलो काम मेरो हराएको ‘म’ को पहिचान गर्नु हो। थाहै नभएको कुरा त मेरो ‘म’ को पहिचान गर्ने आधार न हो। अर्को मुख्य प्रश्नहरु बाँकी नै छन्, ‘यो पहिचान नै नभएको कुरा हरायो चाहिँ कसरी? हराएको महसुस गरियो कसरी?’
यसमा सबैको मेरो जस्तो प्रतिक्रिया हुनुपर्छ भन्ने त छैन्, यद्यपि कसरी हरायो भन्नेमा म पनि बेखबर नै छु। तर हराएको महसुस भने मलाई मानिसहरूको भिड भन्दा अलि टाढा रहँदा अझै प्रष्ट भन्ने हो भने एक्लोपनको महसुस गर्दा मैले के गुमाएँ र यस्तो महसुस भयो भनेर खोजी गर्दा मैले मेरो म भित्रको ‘म’ फेलापार्न नसकेपछि गरेको हुँ।
यहि शिलशिलामा मैले मेरो ‘म’ को पहिचान हुन नसक्नुको कारण मेरो युग एकदमै व्यस्त भएर हुनुपर्छ भन्ने अनुमान पनि गरेको थिएँ। किनकि मलाई आजसम्म आइपुग्दा ऊ भित्रको ‘ऊ’ उनीहरु भित्रको ‘त्यो’ एकअर्कासँग तुलना गर्दागर्दै समय बितिरहेको छ।
मलाई लाग्छ, आम मानिसहरुको हालत पनि यहि नै हुनुपर्छ। किनभने मेरो र आम समुदायको युग त एउटै चलिरहेको छ नि! अनि एकै युगका मान्छेहरु फरक–फरक हुने भन्दापनि एकै किसिमको हुने सम्भावना बढी रहन्छ होला।
‘म’ हराएकाहरुको देशमा ऊ भित्रको ‘ऊ’ लाई फरक–फरक दृष्टिकोणले हेर्ने, उसको सोचाइ, क्रियाकलाप एवम् प्रस्तुतिलाई हेरेर थुप्रै ‘ऊ’ हरुसँग तुलना गर्ने एवम् तिनीहरुको मुल्यांकन गर्दै कुनैकुनै ठाउँमा आफूलाई समेत समाहित गरेर हेरिन्छ भने कुनै ठाउँबाट टाढा भागिन्छ, किनकि याहाँ देखावटी ‘म’ को चरित्रलाई बढी प्रश्रय दिइन्छ।
त्यसैले अरुको अपेक्षा बमोजिमको काम गर्ने शिलशिलामा यहाँ मानिसहरूले आफ्नो ‘म’ लाई पहिचान नै गर्न नपाई गुमाइरहेका हुन्छन्। तर मैले जस्तै ‘म’ हराइरहेको भेउ पाउँदैनन्।
आम मानिसहरूले जस्तै आजभोलि मैले मेरो म भित्रको ‘म’ लाई धेरै नै ‘miss’ गरिरहेको छु। म आजकाल म भित्रको ‘म’ खोजिरहेको छु! लाग्दैछ मेरो ‘म’ ले मलाई परिचय दिनै भुलेको थियो। लाग्दैछ कतै मेरो युगले मेरो ‘म’ लाई लुटि लगेको हो। तथापि म मेरो ‘म’ फेला नपरेसम्म प्रतीक्षा गरिरहने छु, खोजिरहने छु।
वास्तवमा मेरो ‘म’ कतै हराएको हुनुहुँदैन। यो म भित्रै कतै दबिएको हुनुपर्छ। मेरो जस्तै आम मानिसहरूको हालत यहि नै त हैन कतै?
किनभने हामीहरु ऊ, उनी एवं तिनीहरुलाई चिनाउने आधार तय गर्नका लागि एउटा देखावटि लोकप्रिय ‘म’ निर्माणमा तल्लीन छौं। तर, अझैसम्म आफ्नो वास्तविक ‘म’ को बारेमा बेखबर छौं।
यहाँ एउटा प्रसङ्ग रोचक अनि उल्लेखनीय छ, अहिले विश्व कोरोना भाइरसको महामारीमा जुधिरहेको परिवेश छ। यसबाट हामी र हाम्रा आफन्तहरुसमेत ग्रसित हुनुपरेको भोगाइ सँगसँगै कतिपय अप्रिय घटनाहरु पनि नभएका हैनन्।
यसै सन्दर्भमा मेरो आफन्त भित्रपनि एकै परिवारमा चार जनालाई एकैसाथ सङ्क्रमण भएको थियो। जसमध्ये एकजना हजुरआमा हुनुहुन्छ, उहाँले सधैं आफुले खाना खाने समयमा आफ्नो भागबाट केही अंश काग एवम् चराहरुको लागि छुट्टाउने गर्नुहुन्छ।
त्यो काम आफूलाई कोरोना सङक्रमण हुँदा पनि जारी नै रह्यो। तर अचम्मको कुरा के छ भने अरुबेला सधैं त्यसरी छुट्टयाइएको खाना चराहरुले खाने गर्दथे भने उक्त संक्रमणको अवधिभर त्यसरी छुट्टाएर राखिएको खाना चराहरुले खाएनन्।
नजिकै एकजना आन्टीलाई पनि कोरोना संक्रमण भएको थियो। उक्त अवधिमा स्वास्थ्यलाभका लागि तयार गरिएको खाना खाएर बाँकी रहेपछि संक्रमित (आन्टी) ले नै आफ्नै कुकुरलाई दिनुहुन्छ, जुन सामान्य अवस्थामा कुकुरले निकै रुचाउँछन्। तर त्यहाँ पनि कुकुरले उक्त खाना खान त परैको कुरा हो। खानाको नजिक पनि पर्दैन त्यो यत्तिकै सडेर जान्छ।
भन्न खोजिएको के हो भने ‘म’ मानिसहरूको मात्रै हराएको छ अन्य चराचर प्राणिहरुको हराएको छैन।
‘म’ जन्मसिद्ध आएको थियो। यसको पहिचान गर्न सकिएन, त्यसैले ‘म’ हराएको पनि पत्तो भएन। हामी छुट्टै ‘म’ निर्माणमा छौं। ‘किन त?’ किनभने ‘म’ हरु हराएको युगमा कसैलाई ऊ भनेर चिनाउने आधार तय गरिदिनका लागि हो, जुन क्षणिक उपलब्धि हो।
यद्यपि यो उपलब्धिका लागि नियमित संघर्ष गर्दैगर्दा समेत हामी हाम्रो वरपरका ऊ, उनी, एवं तिनीहरुको बारेमा धेरै सोच्छौं र एउटा भयमा रहन्छौं, कसैले केही भन्ने हुन कि? केहि गलत सोचिदिने हुन् कि?
यी यावत् कुराहरुको भयमा रहनुको कारण मध्येको एउटा जल्दोबल्दो कारण भनेको चाहिँ सुचना प्रविधिको विकास र यसको प्रयोग पनि हो। जहाँ सस्तो लोकप्रियता बटुल्नका लागि आफ्नो वास्तविक ‘म’ लाई दबाइएको हुन्छ।
‘म’ हराएको बजारमा प्रचारबाजी बढी बिक्री हुने गर्छ। कतिले त न्याय दिलाउने नाममा आफूभित्रको ‘म’ सँगसँगै उनीहरुको ‘म’ समेत उनीहरुबाटै लुटाइन्छ र अन्यायमा पारिरहेको पाइन्छ। अब म जस्तै ‘म’ हराएकाहरुले एकीकृत धारणा निर्माण गरि अन्यायमा नपर्नका लागि दायरा निर्धारण गर्न पहल समेत गर्नुपर्छ जस्तो लाग्छ।
अन्त्यमाः नेपाली शब्दकोषमा म को अर्थ ‘देवनागरी वर्णमालाको व्यञ्जनवर्ण मध्ये पच्चीसौँ वर्ण, ओष्ठ्य, सघोष, अल्पप्राण, अनुनासिक ध्वनि, पवर्गको अन्तिम तथा पाँचौ वर्ण लेख्य रुपमा सो वर्णको प्रतिनिधित्व गर्ने लिपिचिन्ह, राम्रो म।’
र व्याकरणमा उत्तम पुरुषको एकबचनलाई बुझाउने सर्वनाम शब्द आफू, स्वयम् उल्लेख छ, तर ‘म’ को बारेमा छैन। भन्नुको तात्पर्य के हो भने तपाईं हामी कसैले आफ्नो ‘म’ हराएका छैनौं यो त सबैले ढिला नगरिकन आ–आफ्नो म भित्र दबिएको ‘म’ खोजी गर्न आवश्यक छ।
बरु म भित्र को ‘म’ लाई पहिचान गर्न नसक्नु बेग्लै कुरा हो। अब रह्यो ‘म’ लाई पहिचान गर्ने आधार के हो त? वास्तवमा यो अनुत्तरित प्रश्न हो। सामाजिक विज्ञानमा यसमाथि फरकफरक तर्कहरु आउन सक्छन् यसको पहिचानको आधार खोज्ने काम सबैले बराबर बाँडेर लिनुपर्छ।
मेरो राय बुझ्न चाहानुहुन्छ भने मसँग मभित्रको ‘म’ पहिचानको आधार देखाउनसक्ने खुबी छैन्, तर यसको आधार खोज्ने बाटोहरुको अनुमान भने मैले गरेको छु। ती बाटाहरु अविराम चिन्तन, विलिफ सिष्टम, आत्मविश्वास, आत्मअनुशासन, दृढसंकल्प र निरन्तर प्रयास हुन्।
यी बाटाहरु मैले मेरो दृष्टिकोणमा पहिचान गरिएका हुन्। जुन सबैमा लागू नहुन पनि सक्छन र लागू गराउने जबरजस्त मिहिनेत पनि गर्न मिल्दैन। वास्तवमा म भित्रको ‘म’ को सन्दर्भमा यो सामाजिक विज्ञानमा आधारित रहेर लेखिरहँदा कतैकतै आध्यात्मिकता समेतलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सम्बोधन भएको हुनसक्छ।
यसले के कति ओज लिन सफल रह्यो, यसलाई कति न्याय गर्न सकियो भन्ने कुरा पाठकहरुले मुल्यांकन गर्ने विषय भयो। कसैको दृष्टिकोणसँग, तर्कसँग बाझिएको पनि हुनसक्छ, त्यो फरकै कुरा हो। यद्यपी म भित्रको ‘म’ हराएका हरुको युगमा कुनै पनि बहसको अपेक्षा भने गरिएको छैन।
(लेखक नेपाल प्रहरीका प्रहरी निरीक्षक हुन्।)

