

पत्रकार महासंघ महाधिवेशनः इतिहासको गलत खेस्रा, व्यावसायीकता कन्दनीको जुम्रा

एउटा भनाई छ नि– समाचार नहुनु राम्रो खबर हो, पत्रकारै नहुनु त त्यो भन्दा अझ सुखद समाचार हो।
सामाजिक सञ्जालमा विभिन्न पार्टीका नेताले अहिले नेपाल पत्रकार महासंघको निर्वाचनको परिणामलाई देखाउँदै भन्ने गरेका छन्– देख्यौ, पत्रकार महासंघको चुनावी परिणामको रुझानले के भन्यो?
खासगरी या परिणामबाट नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधवकुमार नेपाल गुटका नेता खुसी भएका छन्। कहिँ कतै एमाले अध्यक्ष केपी शर्मा ओली गुटको बिजयमा पनि यस्तै यस्तै लेखिएका छन्।
नेपाली कांग्रेसका नेताहरूले त महासंघ नै कब्जा गरेको भनेर हर्षविभोरताको पराकाष्ट गरेका छन्। तर यी सबै तर्क वितर्कमा पत्रकारिता, व्यावसायीकता र प्रेस स्वतन्त्रता, आगामी पत्रकारिताको विकास लक्ष्यका विषयमा कसैले केही भनेको पाइएको छैन।
यहाँ समाचार छैन। त्यो राम्रो हो। तर यी तमाम तर्ककाबीच नेपाल पत्रकार महासंघको चुनावमा पत्रकार रहेछ त? यो गम्भीर प्रश्न हो। पत्रकारिता कहाँ रहेछ त? दलको पाउमा, दलदलमा, कुन्ठामा या कहाँ? खोजीनीति हुन आवश्यक छैन र?
व्यावसायीकताको चीर हरण
प्रतिस्पर्धाको एक छेउ पनि नआएका गजेन्द्र बुढाथोकीको पत्रकारिताको निष्ठा मात्र होइन, उनका हरेक क्षमतामाथि नेपाल पत्रकार महासंघका सदस्यहरूले गम्भीर प्रहार गरेका छन्। व्यावसायीकतालाई कन्दनीको जुम्रा ठानेर पार्टीकारितालाई आदर्शको नेतामा चुनेका छन्।
मत परिणामले भन्छ– नेपाली पत्रकारितामा व्यावसायीकता भन्ने चिजले निक्कै अघि नै बाटो बिराइसकेको छ। त्यसैले नेताको हुर्मत लिने र कसैको चाकरी गर्नेहरू नै नेतृत्वमा बिजयी भएका छन्।
नेकपा विभाजनका बेला प्रेस संगठनका दुई खेमाका भिन्न भेला भएका थिए। आफूलाई पत्रकार दाबी गर्ने तर पत्रकारितामा लेखनको थोरै सीप पनि नभएकाहरूका महाभेलामा राजनीतिक नेतृत्वको चीर हरण भयो।
साथीहरू, महासंघ भनेको कुनै राजनीतिक व्यक्तिलाई जिताउने थलोचाहिँ होइन। हामीसँग विकल्प थियो। हामी रोज्न सक्ने थियौं भन्ने पछि महशुस हुन सक्छ। तर, एउटा कुरा हेक्का राखौं– यदि तपाई पत्रकारितामा विश्वास गर्नु हुन्छ भने एउटा असल पत्रकारको हुर्मत नलिनु होला!
प्रधानमन्त्री ओलीले भेलामा कुनै पार्टीको पत्रकार भन्दा गर्व महसुस होस् भनी दिएको अभिव्यक्तिको अर्को पार्टीका पत्रकारले खिल्ली उडाए। अहिले तिनैका मुहार चम्किला छन् र अक्षरमा चिच्याई चिच्याई लेखिरहेका छन्– हाम्रो जीत भयो, प्रतिगमनकारी शक्तिको हार भयो।
यो पत्रकारिता हो कि अदालतलाई धम्क्याउने एउटा प्रायोजित सभा? कहाँ छ व्यावसायीकता? यहि हो, व्यावसायीक पत्रकारिता?
कुनै दल विशेषको नेताको चाकरी गरी टिकट लिने, कुनै पार्टी विशेषको चाकरीमा प्रचार गर्ने, पत्रकारिता र व्यावसायीकतालाई कन्दनीको जुम्रा बनाएर पार्टीको वकालत गर्नेबाट अमुक पत्रकारको पेशागत सुरक्षाको सुनिश्चितता हुन्छ कि कुनै नेता विशेषको चरणमा नेतृत्व पुग्छ भन्ने मूल प्रश्न छ।
सारमा पत्रकारको हकहितका विषयमा चर्का भाषणबाजी गरे पनि नेपथ्यको सत्यचाहिँ जसले टिकट दियो पत्रकारिता उसको चरणमा लगेर विसौनी बनाउने पक्कापक्की छ। र, यो हिजोदेखि चलिआएको परम्परागत शैली हो।
हिजोका पत्रकारका नेता कुनै पार्टीका केन्द्रीय सदस्य थिए, आजका नेता भोली कुनै पार्टीका केन्द्रीय सदस्य हुनेछन्। तिनको लक्ष्य १३ हजार पत्रकार मतदाता र २५ हजार पत्रकारको नेतृत्वको बार्गेनिङमा राजनीतिको अवसर, लाभ र निजी स्वार्थलाई परिपूर्ति गर्नुभन्दा केही हुनेछैन।
एउटा अध्यायका रुपमा महासंघको चुनावी परिणामलाई स्वीकार गर्नुको विकल्प छैन। तर हर क्षेत्रमा राजनीतिकरण भयो भनी विचारका प्रवाह गर्ने पत्रकारिता क्षेत्र शुद्धिकरण हुनु पर्छ कि पर्दैन? पत्रकार व्यक्ति पनि भएकाले उसको निजी विचार र मतदान गर्ने अधिकार हुन्छ।
तर के एउटा पेशागत महासंघको छाता संगठनको नेतृत्वका लागि कुनै अमुक राजनीतिक दलको अनुमतिमा टिकट चाहिने? पत्रकार त्यो हो जसले भन्छ– मलाई मेरो कलम र कागजमा विश्वास छ। तर महासंघको चुनावमा उम्मेदवार छनौटको नाम लेख्ने कलम पनि र कागज पनि एउटा पेशाप्रति इमान्दार गैरराजनीतिक पत्रकारलाई छैन। र, परिणाम पनि आफ्नो कलम र कागजको विश्वासका भरमा आउँदैन, आएन।
अपवादमा केही व्यावसायीक मानिस निर्वाचित हुनु फरक चिज हो। तर पूरै संगठन र नेतृत्व नै व्यावसायीक हुनुपर्छ भन्ने मानक स्थापित गर्न सबैभन्दा पहिला त पत्रकारिता, नेपाल पत्रकार महासंघभित्र शुद्धिकरण हुनुपर्ने देखियो। यो त्यहि महासंघ हो जसले पत्रकारिताको विषयमा भन्दा बढी राजनीतिक विषयमा विज्ञप्ति जारी गर्छ।
अन्त्यमा आम मतदाता, पत्रकार साथीहरूले जुन जस प्रकारले मतदान गरेका छन्, जितेका छन् तिनलाई आगामी दिनका लागि एउटा परामर्शको वाक्यबाट बिट मार्छु।
साथीहरू, महासंघ भनेको कुनै राजनीतिक व्यक्तिलाई जिताउने थलोचाहिँ होइन। हामीसँग विकल्प थियो। हामी रोज्न सक्ने थियौं भन्ने पछि महशुस हुन सक्छ। तर, एउटा कुरा हेक्का राखौं– यदि तपाई पत्रकारितामा विश्वास गर्नु हुन्छ भने एउटा असल पत्रकारको हुर्मत नलिनु होला!
यसले इतिहासको गलत खेस्रा कोर्ने छ भने व्यावसायीकतालाई कन्दनीको जुम्राका रुपमा मात्र बुझ्नेछ। नयाँ निर्वाचित महासंघका पदाधिकारीले जुन जुन दलबाट जसरी नेतृत्वमा पुग्ने मौका पाए पनि पत्रकारिता गर्छन् भने कुनै असल पत्रकारको अपमान नगरुन्।

