बंगलादेशमा भएको ‘कू’को पछाडि अमेरिकी हात छ ? को हो ‘ह्वाइट म्यान’ ?


काठमाडौं– बंगलादेशमा आएको राजनीतिक उथलपुथलपछि अन्तरिम सरकारको प्रमुखमा डा. मोहम्मद युनुस नियुक्त भएका छन् ।

नोबेल पुरस्कार विजेता युनुसलाई राष्ट्रपति मोहम्मद शहाबुद्दीनले अन्तरिम सरकार प्रमुख नियुक्तिको घोषणा गरेका हुन् । मङ्गलबार राति राष्ट्रपति र आरक्षण विरोधी विद्यार्थी आन्दोलनका संयोजकहरुबीचको बैठकपछि युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने निर्णय भएको ढाका ट्रीबुनले उल्लेख गरेको छ ।

यसअघि मंगलबार राष्ट्रपतिले बंगलादेशको संसद भंग गरेर अन्तरिम सरकार गठनको बाटो बनाएका थिए । यसै वर्ष जनवरीमा भएको निर्वाचनमा विजयी भएर पाँचौं पटक बंगलादेशको प्रधानमन्त्री बनेकी शेख हसिनाले देश छाडेर भारतको शरणमा गएपछि त्यहाँ अन्तरिम सरकार गठन गरिने निर्णय भएको थियो ।

चुनावपछि शेख हसिनाका लागि केही महिना राम्रो रहेनन् । पहिले चुनावमा धाँधली भएको आरोप लागे, त्यसपछि कोटा प्रणालीलाई लिएर हप्तौंसम्म प्रदर्शन र अन्तमा शेख हसिनाको राजिनामाको माग ।

ती कारणले शेख हसिनाले प्रदर्शनकारीको अगाडि झुक्नुपरेको छ । त्यहाँका सेनाप्रमुख वाकर–उज–जमानले अघोषित ‘कू’ गरेपछि उनले राजीनामा दिएर देश पनि छोड्नुपर्‍यो । त्यही देश जहाँ शेख हसिना १५ वर्ष सत्तामा थिइन् ।

तर, ‘विदेशी हस्तक्षेप’ का कारण शेख हसिनाले राजीनामा दिएर देश छाड्नुपरेको अवस्था अहिले भएको दाबी गरिएको छ । शेख हसिनाका छोरा सजीब वाजेदले उक्त ‘कू’ को पछाडि अमेरिकाको हात रहेको आशंका व्यक्त गरेका छन् । उनले भने, ‘अमेरिका बलियो सरकार चाहँदैन । उनीहरु बंगलादेशमा कमजोर सरकार चाहन्छन् । आफूले नियन्त्रण गर्ने सरकार चाहन्छन् । तर, शेख हसिनालाई नियन्त्रण गर्न नसकेर यस्तो अवस्था आयो ।’

प्रख्यात विश्लेषक ब्रह्म चेल्लानीले पनि विदेशी कोणको बारेमा चर्चा गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शेख हसिनाले बंगलादेशलाई तीव्र आर्थिक विकास गराइदिइन् । तर शक्तिशाली बाह्य शक्तिहरू उनको विरुद्धमा उभिए । टिस्टा आयोजना भारतलाई दिने निर्णयबाट चीन आक्रोशित भएको छ । दुःखको कुरा, बाइडेन पनि उनको पछि लागे ।

तर, शेख हसिनाले पनि केही महिनाअघि नै बंगलादेशमो ‘कू’ हुनसक्ने संकेत गरेकी थिइन् । शेख हसिनाले अमेरिकाको नाम नलिई आफूमाथि विदेशबाट दबाब आएको बताएकी थिइन् ।

के भनेकी थिइन् शेख हसिनाले ?
यसै वर्ष मे महिनामा शेख हसिनाले बंगलादेशमा एयरबेस बनाउन अनुमति दिएमा चुनावमा सजिलै फर्किने भनी विदेशबाट प्रस्ताव आएको खुलासा गरेकी थिइन् ।

उनले भनेकी थिइन्, ‘यदि मैले कुनै देशलाई बंगलादेशमा एयरबेस बनाउन अनुमति दिएँ भने मलाई कुनै समस्या हुनेछैन ।’ उनले त्यो देशको नाम लिएनन् । तर त्यो अफर आफूलाई ‘ ह्वाइट म्यान’बाट आएको बताएकी थिइन् । उनले त्यसबेला आफ्नो सरकार सधै संकटमा रहने तर चिन्ता लिनुपर्ने अवस्था नरहेको बताएकी थिइन् ।

उनलाई ‘ह्वाइट म्यान’ बारेमा सोध्दा उनले उनले भनेकी थिइन् ‘मैले उनलाई स्पष्टसँग भनेको छु कि म राष्ट्रपिता बंगबन्धु शेख मुजिबुर रहमानकी छोरी हुँ । हामीले हाम्रो मुक्ति युद्ध जितेका छौं । म देशको कुनै भाग भाडामा दिएर वा अरु देशलाई सुम्पेर सत्तामा आउन चाहन्न ।’

बंगलादेशलाई क्रिश्चियन राष्ट्र बनाउने षडयन्त्र !
शेख हसिनाले बंगलादेश र म्यानमारका केही भागलाई टुक्राएर क्रिश्चियन राष्ट्र बनाउने षड्यन्त्र भइरहेको दाबी गरेकी थिइन् । उनले भनेका थिइन्, ‘पूर्वी टिमोर जस्तै बङ्गलादेश र म्यानमारको केही भाग बङ्गालको खाडीमा आधार बनाएर क्रिश्चियन राष्ट्र बनाउनेछ ।’

सन् २००२ मा पूर्वी तिमोर स्वतन्त्र राष्ट्र बनेका थियो । त्यहाँ अमेरिकाको ठूलो उपस्थिति छ । हरेक वर्ष अमेरिकाले यहाँ करोडौं डलर खर्च गर्छ ।

चुनावका बेला पनि खुसी थिएन अमेरिका !
बंगलादेशमा यसै वर्ष जनवरी ७ मा आम निर्वाचन भएको थियो । विपक्षीले यो निर्वाचन बहिष्कार गरेको थियो । यस चुनावमा शेख हसिनाको पार्टी अवामी लिगले संसदको ३०० सिटमध्ये २२४ सिट जितेको थियो । त्यस निर्वाचनमा ४० प्रतिशत मात्रै मतदान भएको थियो । विपक्षीले चुनावमा धाँधली भएको आरोप लगाएका थिए । तर, अवामी लिगले स्वतन्त्र र निष्पक्ष निर्वाचनको दाबी गरेको थियो ।

अमेरिकाले उक्त चुनावी नतिजाहरूमा असन्तुष्टि व्यक्त गरेको थियो । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले भनेका थिए, ‘अमेरिका हजारौं विपक्षी नेताको गिरफ्तारी र चुनावको दिनमा अनियमितता भएको रिपोर्टबाट चिन्तित छ । ती निर्वाचनहरू स्वतन्त्र र निष्पक्ष थिएनन् र दुःखको कुरा सबै दलले यसमा भाग लिएनन् ।’

अमेरिकामाथि ठूलो आरोप
गत वर्ष पनि यस्तै भएको थियो । संसदमा बोल्दै शेख हसिनाले अमेरिकाको नाम नलिई चर्को आलोचना गरेकी थिइन् । उसले चाहेको खण्डमा जुनसुकै देश विशेषगरी मुस्लिम देशको सरकारलाई ढाल्न सक्ने उनले बताएकी थिइन् ।

हसिनाले भनेकी थिइन्, ‘यो देशले हामीलाई आफ्नो शब्दले लोकतन्त्रको भ्रम दिइरहेको छ । हाम्रा विपक्षी दलहरू र केही व्यक्तिहरूले त्यसको प्रशंसा गर्छन् । जबसम्म इस्लामिक देशहरूमा उनीहरूको नियन्त्रण थियो, सबै ठीक थियो ।’

 

प्रतिक्रिया