भारत पुगिन् हसिना, प्रदर्शनकारीले मनाए खुसियाली


काठमाडौं – बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना भारत पुगेकी छन् ।

हसिना चढेको जहाज भारतीय वायु सेनाको हिन्डनस्थित अड्डामा अवतरण भएको भारतीय समाचार संस्थाले जनाएका छन् ।

सोमबार बिहान सुरक्षा खतरा भएपछि हसिनाले राजीनामा दिएर बंगलादेश छाडेकी थिइन् । उनी सेनाको सी–१३० एयरक्राफ्ट, एजेएएक्स १४३१ कलसाइन भएको जहाज चढेर भारत आइपुगेकी हुन् ।

सोमबार साँझ ५ः३६ बजे उनी चढेको जहाज अवतरण भएको इण्डिया टुडेले प्रशारण गरेको छ । बंगलादेशको सेनाको जहाज पटना हुँदै नयाँ दिल्ली नजिकै रहेको भारतीय वायु सेनाको अड्डामा अवतरण गरेको हो । त्यहाँ भारतीय एयर अफिसर कमान्डिङ सन्जय चोपडाले स्वागत गरेका थिए । हसिना भारतबाट बेलायत जाने सम्भावना छ । यद्यपि कहिले जाने भन्ने यकिन भइसकेको छैन ।

सोमबार हसिनाले १५ वर्षे सत्ता छाडेसँगै प्रदर्शनकारीहरूले खुशीयाली मनाएका छन् । प्रदर्शनकारीहरू प्रधानमन्त्री निवासमा प्रवेश गरेका थिए । हसिना सन् २००९ देखि सत्तामा थिइन् ।

१५ वर्षे सत्तामा चलाएकी उनीमाथि शक्तिको दुरूपयोग गरेको आरोप लाग्दै आएको थियो । उनले आफ्ना विपक्षी दलका नेताहरूविरूद्ध शक्तिको दुरूपयोग गरेको आरोप छ । ७६ वर्षीय हसिनाले चार पटक लगातार चुनाव जितेकी छन् ।

बंगलादेशको ढाका अन्तर्राष्ट्रिय विमानस्थल बन्द
काठमाडौं । बंगलादेशको राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । बंगलादेशको सेनाको जनसम्पर्क निर्देशनालयले एक सूचना जारी गरी ढाकाको हजरत सहजलाल अन्तर्राष्ट्रिय रंगशाला साँझ ६ बजेदेखि बन्द भएको जानकारी गराइएको हो ।

विमानस्थलका सबै काम कारबाही पनि बन्द गरिएको छ । प्रधानमन्त्री सेख हसिनाले राजीनामा दिएपछि धेरै मानिसहरु विमानस्थलमा जान थालेपछि सेनाले बन्द गरेको हो ।

 

प्रतिक्रिया