अपरेशन ‘राइजिङ लायन’ : इजरायली आक्रमणमा इरानी सेनाप्रमुख र आणविक वैज्ञानिकको मृत्यु


काठमाडौं— इजरायलले शुक्रबार इरानी भूमिमाथि ‘अपरेशन राइजिङ लायन’ नामक सैन्य कारवाही अन्तर्गत व्यापक हवाई आक्रमण गरेको छ। यस आक्रमणमा इरानी सेनाको मुख्यालय, नतान्जस्थित आणविक भट्टीसहित राजधानी तेहरान आसपासका कम्तिमा ६ स्थानमा लक्षित बमवर्षा गरिएको छ।

इजरायली लडाकु विमानबाट गरिएको आक्रमणमा इरानका सेनाप्रमुख जनरल मोहम्मद बाघेरी, रिभोल्युशनरी गार्ड्सका कमान्डर होसेन सलामी र इमर्जेन्सी कमान्डका प्रमुखको मृत्यु भएको पुष्टि गरिएको छ। साथै, इरानले ६ जना शीर्ष आणविक वैज्ञानिक मारिएको जनाएको छ।

इरानको नतान्ज युरेनियम संवर्धन केन्द्रमाथि पनि आक्रमण भएको पुष्टि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गरेका छन्। आक्रमणपछिको भिडियोमा इस्फाहान प्रान्तस्थित भट्टीबाट धूँवाको मुस्लो उडेको दृश्य देखिन्छ। यद्यपि इरानी अधिकारीहरूले उक्त भट्टीमा गम्भीर क्षति नभएको दाबी गरेका छन्।

इरानी प्रतिक्रिया पनि तीव्र देखिएको छ। इजरायली सेनाका प्रवक्ताका अनुसार, इरानले जवाफस्वरूप ‘अपरेशन ट्रु प्रोमिस’ सञ्चालन गर्दै इजरायलतर्फ १०० भन्दा बढी ड्रोन प्रहार गरेको छ। तीमध्ये धेरै ड्रोनहरू आकाशमै खसालिएको बताइएको छ।

न्युयोर्क टाइम्स र अल-जजीराका अनुसार इजरायली आक्रमणमा आणविक वैज्ञानिक मोहम्मद मेहदी तेहरानची र फरदुन अब्बासी समेत मारिएका छन्। इजरायलले इरानको आणविक कार्यक्रमलाई रोक्ने लक्ष्यसहित ‘राइजिङ लायन’ कारवाही अघि बढाएको जनाएको छ।

प्रतिक्रिया