

छिमेकी भारतमा देखिएको निपाह भाइरस के हो ? एकजनाको मृत्यु, ६० जना ‘हाइ रिस्क’मा

काठमाडाैं- भारतकाे केरलामा भाइरसको कहर रोकिएको छैन । केरलामा १४ वर्षीय बालकको निपाह भाइरसका कारण मृत्यु भएको छ ।
भाइरस संक्रमण भएका ती किशोरको आइतबार हृदयघातको कारण मृत्यु भएको राज्यका स्वास्थ्यमन्त्री गर्गले स्थानीय सञ्चार माध्यममा जनाइएकी छन् । भाइरसका कारण ६० जनालाई ‘हाइ रिस्क क्याटागोरी’मा राखिएको राज्यका स्वास्थ्यमन्त्री वीना गर्गले बताएकी छन् ।
सो भाइरस संक्रमितको सम्पर्कमा भएका २१४ जनालाई प्राथमिक सूचीमा राखिएको र तीमध्ये ६० जना ‘हाइ रिस्क क्याटागोरी’मा भएको जनाइएको छ । केरलको विभिन्न भागमा देखिएको यो भाइरस विश्वव्यापी रूपमा फैलिन सक्ने गत वर्ष रोयटर्सले गरेको एक अनुसन्धानले देखाएको थियो ।
त्यसबाट जोगिन भ्याक्सिन नभएको र उपचार पनि नहुने जनाइएको छ । सो राज्यमा यो रोग २०१८ मा पनि देखिएको थियो । सो भाइरस पहिलोपटक २५ वर्ष अघि मलेसियामा देखिएको थियो । पछि बंगलादेश, भारत र सिंगापुरमा पनि फैलिएको थियो ।
के हाे निपाह भाइरस ?
निपाह भाइरस पशुबाट मानिसमा सर्ने एक गम्भीर प्रकृतिको रोग लाग्ने भाइरसको संक्रमण हो । यस भाइरस प्राकृतिक रुपमा फ्रुट ब्याट भन्ने प्रजातिको चमेरोमा पाइन्छ ।
निपाह भाइरस कसरी सर्छ ?
संक्रमित चमेरोबाट सुँगुर, गाई गोरुजस्ता जनावर हुँदै मानिसमा सर्छ । संक्रमित पशुको संसर्गमा आएको फलफूल प्रयोग गरेमा । संक्रमित व्यक्तिमो रगत दिसा पिसाबसँग प्रत्यक्ष सम्पर्कमा आएमा ।
निपाह भाइरसका लक्षणहरू
ज्वरो आउने, रिङ्गटा लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, स्वाशप्रस्वाशमा कठिनाइ हुने र टन्सिलाइटिस हुने ।
कसरी गर्ने रोकथाम ?
फलफूल राम्रोसँग पखालेर मात्र खाने, तरकारी सकेसम्म पकाएर खाने,गाईवस्तुको गोठ र फार्म सफा राख्ने, मासु काटदा, पकाउँदा पञ्जा र मास्कको प्रयोग गर्ने, सकेसम्म पानी उमालेर मात्र पिउने, बेलाबेलामा साबुनपानीले हात धुने र भिडभाडमा जाँदा मास्क लगाउने ।

