

बिहेको भोज खाँदा धनुषामा जन्तीसहित सय बढी बिरामी

जनकपुरधाम- धनुषाको मिथिला विहारी नगरपालिका–८ स्थित ठेरा कचुरीमा आयोजित विवाह भोज खाँदा सय जनाभन्दा बढी व्यक्ति बिरामी परेका छन्।
नरेश महराको छोरीको बिहेमा सहभागी भएका जन्ती र स्थानीयहरूले खाजामा बुनियाँ, रसबरी लगायतका परिकार खाएका थिए। त्यसपछि केही समयमै उनीहरूमा पेट दुख्ने, वान्ता हुने, र कमजोरी महसुस हुने लक्षण देखिएको हो।
धनुषाका जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख उमेश यादवका अनुसार अहिले ४५ जनाभन्दा बढी बिरामी प्रादेशिक अस्पतालमा भर्ना भएका छन् भने अन्यको स्थानीय स्वास्थ्य संस्था र निजी क्लिनिकहरूमा उपचार भइरहेको छ। केही बिरामीलाई उपचारपश्चात डिस्चार्ज गरिएको छ।
“हामीले खाजाको नमुना ल्याएर परीक्षणमा पठाएका छौं। प्रारम्भिक अनुमान विषाक्त खानेकुराकै कारण भएको हो,” यादवले बताए।

