

धुलिखेल ट्रमा सेन्टर सुधारका लागि जापानले ५७ करोड येन थप अनुदान दिने

काठमाडाैं- धुलिखेल अस्पताल अन्तर्गत ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारले नेपाललाई ५७ करोड ३० लाख येन बराबरको थप अनुदान दिने भएको छ। सो सम्बन्धी सहमति पत्रमा नेपाल र जापानबीच औपचारिक हस्ताक्षर भएको हो।
सहमति पत्रमा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र जापान सरकारका तर्फबाट नेपालका लागि जापानी राजदूत माएडा तोरुले हस्ताक्षर गरेका हुन्।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल तथा जापानका परराष्ट्र मामिलाका उपमन्त्री इकुइना अकिकोको उपस्थितिमा हस्ताक्षर सम्पन्न भएको हो।
यसअघि सन् २०२३ को अक्टोबरमा जापान सरकारले यसै परियोजनाका लागि ३ अर्ब २९ करोड ६० लाख येन बराबरको अनुदान दिने सम्झौता गरिसकेको छ।
हस्ताक्षर कार्यक्रममा लगत्तै अर्थमन्त्री पौडेल र जापानी उपमन्त्री अकिकोबीच द्विपक्षीय भेटवार्ता समेत भएको थियो, जसमा आपसी सहयोग र आगामी परियोजनाबारे छलफल भएको बताइएको छ।

