

संघीय अस्पतालका लागि खरिद गरिएको सफ्टवेयर प्रयोगविहीन

काठमाडौँ – संघीय अस्पतालहरूका लागि खरिद गरिएको इलेक्ट्रोनिक हेल्थ रेकर्डिङ सफ्टवेयर र ‘मेरो अस्पताल’ एप अहिलेसम्म प्रयोगमा नआएको पाइएको छ। महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनले सो सफ्टवेयरहरू प्रयोगविहीन रहेको भन्दै जिम्मेवार पदाधिकारीलाई कारबाही गर्नुपर्ने ठहर गरेको छ।
प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/७८ मा सो सफ्टवेयर निर्माणबापत आपूर्तिकर्तालाई ४९ लाख ५० हजार रुपैयाँ भुक्तानी गरिएको थियो। तर खरिद गरिएको सफ्टवेयर अहिलेसम्म कार्यान्वयनमा नआएको स्पष्ट गरिएको छ।
सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३ मा “आवश्यकताको पहिचान नगरी वस्तु वा सेवा खरिद गर्न नपाइने” प्रावधान छ। तर, लेखापरीक्षणका क्रममा मन्त्रालयका विभिन्न महाशाखामा १५ प्रकारका सफ्टवेयर खरिद तथा अनुदानमा प्राप्त भएको देखिए पनि तीमध्ये धेरैजसोको प्रयोग प्रभावकारी रूपमा नभएको प्रतिवेदनमा उल्लेख छ।
महालेखाले भनेको छ, “आवश्यकताको पहिचान नगरी सफ्टवेयर खरिद गरी भुक्तानी गर्ने जिम्मेवार पदाधिकारीलाई जवाफदेही बनाइनुपर्दछ।”

