वीर अस्पताल सुधारका लागि कार्यदल गठन


काठमाडौँ— स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वीर अस्पतालको सेवा सुधारका लागि वरिष्ठ चिकित्सक डा. मदन उपाध्यायको संयोजकत्वमा कार्यदल गठन गरेका छन्।

तीन सदस्यीय कार्यदलमा दीपक मोहन भट्टराई र डा. सुरेश तिवारी सदस्य छन्। कार्यदलले अस्पतालका सेवा, उपकरण, जनशक्ति र स्रोतको प्रभावकारी उपयोगबारे सुझाव दिनेछ। फार्मेसी, रेडियोलोजी, प्याथोलोजी, अर्थोपेडिक्स सेवा र डिजिटलाइजेसनमा देखिएको चुनौतीबारे पनि सुझाव दिन कार्यादेश दिइएको छ।

मन्त्री पौडेलले थन्किएका उपकरण मर्मतका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिएपछि थुप्रै उपकरण पुनः प्रयोगमा आएका छन्। उनका नेतृत्वमा ओपिडी दुई सिफ्टमा सञ्चालन हुँदै सेवामा सुधार देखिएको छ। सीटी स्क्यान, एमआरआई जस्ता सेवा अधिक क्षमतामा चलिरहेका छन्।

नवौं बुँदे सुधार योजनाअनुसार अनलाइन टिकट प्रणाली सुरु गरिएको छ भने डिजिटलाइजेसन अझ प्रभावकारी बनाउने तयारी भइरहेको छ। अस्पताल निर्देशक डा. दिलीप शर्माले कार्यदलको सुझाव कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया