


झापामा स्वास्थ्य चौकीका इन्चार्ज नै लागुऔषध कारोबारमा संलग्न

झापा – झापाको कचनकवल गाउँपालिका अन्तर्गत घेराबारी स्वास्थ्य चौकीका इन्चार्ज तथा हेल्थ असिस्टेन्ट विक्रम राजवंशी प्रतिबन्धित लागुऔषध कारोबारमा मुछिएपछि सेवा करार सम्झौता खारेज गरिएको छ। गाउँपालिकाले उनको संलग्नतामाथि प्रश्न उठाउँदै उनलाई स्वास्थ्य सेवाबाट हटाएको हो।
राजवंशी बाह्रदशी गाउँपालिका–५ फूलबारीस्थित ‘विक्रम विकास मेडिकल’सँग आबद्ध थिए। स्वास्थ्य सेवा दिइरहेका व्यक्तिको संलग्नता लागुऔषधजस्तो गम्भीर अपराधमा देखिएपछि स्थानीय प्रशासन चनाखो बनेको छ।
विराटनगरस्थित औषधि व्यवस्था विभागको टोलीले वैशाख २५ गते मेडिकलमा अनुगमन गर्दा राजवंशी उपस्थित थिएनन्। त्यसपछि विभागले कचनकवल गाउँपालिका स्वास्थ्य शाखासँग राजवंशीको विवरण मागेको थियो। गाउँपालिकाले सोही दिन फार्मेसीसम्बन्धी कागजात माग्दा पनि उनले वैशाख २८ गतेसम्म कुनै प्रतिक्रिया नदिएको बताइएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काई पोखरेलका अनुसार स्पष्ट जवाफ नआएको र लागुऔषध कारोबारमा संलग्नता देखिएकाले उनलाई सेवाबाट हटाइएको हो।
यसबीच, सोही मेडिकलमा बस्दै आएकी ३९ वर्षीय वन्दना पोखरेललाई प्रहरीले पक्राउ गरेको छ। उनी राजवंशीकी श्रीमती हुन्। विक्रम विकास मेडिकलबाट प्रहरीले ७९५ ट्याब्लेट ट्रामाडोल, ४७० ट्याब्लेट एन्टीकोफ र ८ ट्याब्लेट डिक्लोमिन बरामद गरेको जनाएको छ।
यी औषधिहरू नियन्त्रित वा प्रतिबन्धित सूचीमा पर्छन्।

