


स्वास्थ्य सचिव पदका लागि तीन जनाको नाम सिफारिस, दुई नियुक्त हुने

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिक्त दुई अतिरिक्त स्वास्थ्य सचिव (१२औं तह) पदका लागि तीन जनाको नाम सिफारिस गरिएको छ। मन्त्रालयमा बिहीबार बसेको बढुवा समितिको बैठकले आवेदन दिएका २४ जनामध्ये २३ जनाको मूल्यांकन गर्दै तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको हो।
मन्त्रालय स्रोतका अनुसार सिफारिसमा परेकाहरूमा प्रादेशिक अस्पताल सुर्खेतका डा. केशरबहादुर ढकाल (अब्सर गाइने), पोखराका पेडियाट्रिसियन डा. श्रीकृष्ण श्रेष्ठ, र स्वास्थ्य सेवा विभागकी प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सुधा देवकोटा रहेका छन्।
यसअघि २४ जनाले आवेदन दिएकोमा डा. डेलासिंह जोशीले आवेदन फिर्ता लिएपछि प्रतिस्पर्धा २३ जनाबीच सीमित भएको थियो। बैठकले उनको नाम फिर्ताको औपचारिक निर्णय समेत गरेको छ।
अब स्वास्थ्य मन्त्री प्रदीप पौडेलले ती तीन जनाको नाम मन्त्रिपरिषद्मा पेश गर्ने छन्, जसबाट दुई जनाले अतिरिक्त सचिवको जिम्मेवारी पाउनेछन्।

