

डेङ्गु जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयको सतर्कता अपनाउन आग्रह

काठमाडौं — वर्षा सुरु भएसँगै डेङ्गु रोगको जोखिम बढ्न सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले पानी जम्ने ठाउँहरूमा डेङ्गु सार्ने लामखुट्टेको वृद्धि हुने भएकाले सावधानी अपनाउनुपर्ने बताएका छन्।
डा. दाहालका अनुसार, “पानी जम्दा त्यसमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिका लामखुट्टेले अण्डा पार्छन्। करिब १५ देखि २० दिनभित्र ती अण्डाबाट लार्भा निस्केर वयस्क लामखुट्टे बन्छन्, जसले मानिसलाई टोकेर डेङ्गु संक्रमण फैलाउँछन्।”
उनले आगामी दुई सातालाई उच्च जोखिमको समय मानेर विशेष सतर्कता अपनाउन सबैलाई आह्वान गरे।
स्वास्थ्य मन्त्रालयले गत वर्ष बढी संक्रमित देखिएका ३५ स्थानीय तहलाई पत्राचार गरी संक्रमण रोकथाम र नियन्त्रणमा सहयोग गर्न निर्देशन दिइसकेको जनाएको छ।
स्वास्थ्य तथ्यांक अनुसार, पुस १७ यता हालसम्म ९६८ जनामा डेङ्गु संक्रमण पुष्टि भइसकेको छ। सन् २०२४ मा नेपालभर ७६ जिल्लामा ४१,८६५ जना संक्रमित भएका थिए भने १५ जनाको ज्यान गएको थियो।

