

के कुराले सुरु भएको थियो प्रचण्ड–ओली टकराव ? यस्तो छ भित्रि कथा

काठमाडौं– शनिबार काँग्रेस सभापति शेरबहादुर देउवा पत्नीसहित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास पुगेपछि नेपाली राजनीति तंरगित बन्न पुगेको छ ।
कतिपयले सत्ता राजनीति नै फेरबदल हुने आकलन गरेका छन् । तर नेताहरु यसबारे कोही बोलेका छैनन् । ओली–देउवा भेटपछि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच आइतबार भेटवार्ता भएको छ ।
सोमबार (आज) पनि प्रचण्ड–ओली भेटवार्ता भएको छ ।
तर चर्चा भएजस्तो सत्ता संकट भने अहिल्यै आइनसकेको नेताहरु बताउँछन् । आज नेपाली काँग्रेसले वर्तमान र पुर्व पदाधिकारी बैठक बोलाएको छ ।
बैठकमा राजनीतिक घटनाक्रमबारे छलफल हुने काँग्रेस नेताहरुले बताएका छन् ।
तर प्रचण्ड–ओलीबीच टकराव सुरु भएको भने सत्य हो ।
आगामी वर्षको बजेट र नियुक्ती प्रक्रियामा दुई नेताबीच टकराव बढेको हो ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार विवादको जड थियो, धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष नियुक्त गर्ने प्रक्रिया ।
धितोपत्र बोर्ड का अध्यक्ष नियुक्त गर्ने प्रक्रियामा पनि दुई नेताबीच टकराव नै बढेको हो ।
ओलीले आफुनिकट व्यक्तिलाई अध्यक्ष बनाउनुपर्ने माग प्रचण्डसँग राखेका थिए । तर अर्थमन्त्री वर्षमान पुनले त्यो प्रस्ताव अस्वीकार गरेका थिए । उनले माओवादी निकट व्यक्तिलाई नै अध्यक्ष बनाउने प्रस्ताव अघि सारेका थिए ।
सोही प्रकरणमा ओली–प्रचण्ड टकराव सुरु भएपछि धितोपत्र बोर्डको अध्यक्षको लागि पहिलो चरणमा छनिएका पाँच उम्मेदवारमध्ये तीन जना अन्तर्वार्तामा सहभागी नै भएनन् ।
छानिएका पाँच जनामध्ये सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ मात्रै अन्तर्वार्तामा उपस्थित भए ।
हाल नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज श्रेष्ठ र बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जीवि चापागाई भने अन्तर्वार्तामा उपस्थित भएनन् ।
नेपाल धितोपत्र बोर्ड ऐन अनुसार छनोट समितिले बोर्डको अध्यक्षको नियुक्तिको लागि कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था गरेको छ ।
२ जनामात्रै उपस्थित भएपछि सिफारिस प्रक्रिया अगाडी बढेन् । ३ जनाको नाम सिफारिस गर्नैपर्ने अवस्थामा प्रक्रिया अगाडी बढेन । एमाले अध्यक्ष ओलीले तीनजनालाई अन्तरवार्ताका लागि नपठाउनुको दोष प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनलाई लगाउँदै आएको एमाले नेताहरु बताउँछन् ।
त्यहीबाट ओली प्रचण्डसँग बढी रुष्ट भएका थिए । पाँच महिनादेखि धितोपत्र बोर्ड नेतृत्व बिहिन छ ।
अहिले पनि यसमा माओवादी र एमालेको अडान कायम छ ।
यो अवस्थामा ओलीसंग देउवाको भेट भयो । प्रधानमन्त्री निकट एकले भने,‘सत्ता समिकरण होइन शक्ति बाँडफाँडको विषय प्रमुख हो । अर्थमन्त्री हाम्रो हुने एमालेको कोटालाई धितोपत्र बोर्डमा किन नियुक्ती दिने भन्ने हाम्रो कुरा हो । ओलीजीले थर्काउने शैलीमा हामीलाई नै चाहियो भन्नुभएको हो । अहिलेका भेटघाट प्रधानमन्त्रीलाई तर्साउने र दबाबमा राख्नका लागि मात्रै हो ।’
एमालेले सरकारसँग शक्ति बाँडफाँड सन्तुलित हुनुपर्ने माग राख्दै आएको छ । यसबाहेक बजेटमा पनि एमाले असन्तृष्ट थियो ।
गत फागुन २१ मा माओवादीले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग गठबन्धन बनाएको थियो ।

