कांग्रेस महाधिवेशनमा ओली–प्रचण्डको हाँसीमजाक!


काठमाडौं – शुक्रबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भेटको अवसर नेपाली कांग्रेसको १४ औं महाधिवेशनले जुरायो।

 विगत एक वर्षदेखि एकअर्काको चर्को आलोचना गर्दै आएका उनीहरुको एउटै मञ्चमा भेटको अवसर जुरेको थिएन्। तर, शुक्रबार ओली–प्रचण्ड एउटै मञ्चमा देखिएपछि धेरैको नजर उनीहरुमै केन्द्रीत भयो।

पहिलोपटक सार्वजनिक मञ्चमा एकै ठाउँमा देखिएका ओली–प्रचण्डको बीचमा थिए, काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा। कांग्रेसले मञ्च व्यवस्थापनमा देउवाको दायाँपट्टि प्रचण्ड र बायाँपट्टी ओलीलाई राखेको थियो।

बीचमा देउवा भए पनि ओली र प्रचण्डले हँसिलो मुद्रामा आपसमा केही कुराकानी गरेको देखिने तस्वीर बाहिरिएको छ। तस्वीरमा दुवै जना हाँसेका देखिएका छन्।

राजनीतिक रूपमा चर्को विरोधमा उत्रिने गरेपनि सामुन्नेमै भेट हुँदा ओली–प्रचण्डले हँसिलो मुद्रामा हँसीमजाक गरेको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भाइरल बनेको छ।

त्यस्तै नेकपा एमालेबाट अलग्गिएर नयाँ पार्टी खोलेका माधवकुमार नेपाल समेत काँग्रसेको महाधिवेशनमा सहभागि भएका थिए। नेपाल प्रचण्डकै साइडमा दाँयापट्टी बसेका थिए।

तर, ओली र नेपालबीच केही कुराकानी भएन। ओलीले नेपाल र नेपालले ओलीको नाम समेत लिएनन्। लामो समयपछि ओली, प्रचण्ड र माधवकुमार नेपाल शुक्रवार एकै मञ्चमा देखिएका हुन्।

प्रतिक्रिया