नेवानिका अध्यक्ष अधिकारीको ‘गडबडी’, अनुमतिबिना इटाली पठाइयो वाइडबडी


काठमाडाैं- विभिन्न अनियमिततामा मुछिदै आएका नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको बदमासी छताछुल्ल भएको छ । उनले नागरिक उड्डयन प्राधिकरणको मापदण्ड विपरीत वाइडबडी जहाज सी–चेकका लागि इटाली पठाएको खुलासा भएको हो ।

दुईवटा वाइबडीमध्ये कल साइन नाइनएन एएलवाई भएको जहाज यात्रुसहित आइतबार राति दुबई पुगेको थियो । तर, अधिकारीकै जोडबलमा उक्त जहाजलाई त्यतैबाट इटाली पठाइएको स्रोतले बताएको छ ।

निगमले जहाज सी–चेकका लागि ६ महिना अगाडि नै एयरक्राफ्ट मेन्टिनेन्स अर्गनाइजेसन(एएमओ) छनोट गरिसक्नुपर्ने प्रावधान छ । तर, जहाजको विस्तृत परीक्षण मानिने सी–चेकका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)सँग अनुमति नलिएरै नेपाल एयरलाइन्सले अन्तिम समयमा इटालियन कम्पनी एटिटेक एसपीएलाई जिम्मा दिएको थियो ।

सी–चेक नभए जुन २५ देखि उक्त वाइडबढी ग्राउन्डेड हुने डरले नेवानि अध्यक्ष अधिकारीले उक्त कार्य गरेको बताइएको छ । जहाज इटाली पुगाइसकेपछि अहिले आएर नेवानिले क्यानसँग अनुमति मागिरहेको खुलेको छ । तर, क्यानले भने अनुमति दिएको छैन ।

नेवानिले सी–चेकका लागि आव्हान गरेको टेण्डरमा चीनको ग्राण्ड चाइना एभिएसन र इटलीको एटिटेकले आवेदन दिएका थिए । ग्राण्ड चाइना एभिएसनले २० दिनमा र एटिटेकले ३० दिनमा जहाज सी–चेक गर्ने उल्लेख गरेका थिए । एटिटेकले ७ लाख ४० हजार र ग्राण्ड चाइना एभिएसनले ७ लाख ९९ हजार अमेरिकी डलर प्रस्ताव गरेका थिए ।

ग्राउन्ड चाइनाले २० दिनमै सी–चेक गर्ने भनेतापनि ३० दिन लगाउने अधिकारीको सेटिङ भएको एटिटेकलाई ठेक्का दिइएको थियो । सी–चेक गर्न लाग्ने अवधिमा १० दिन कम हुँदा वाइडबडीले छिट्टै उडान भर्दा आम्दानी बढ्थ्यो भने, कम दूरीमा रहेका चिन जाँदा इन्धन पनि कम खर्च हुने जानकार बताउँछन् । तर, अधिकारीको स्वार्थमा नेवानीलाई बढी खर्च भार पारिएको स्रोत बताउँछ ।

क्यानका प्रवक्ता हंशराज पाण्डेले उक्त विषय गम्भीर भएकाले छानविन प्रक्रियामा गएको बताएका छन् । ‘नेपाल एयरलाइन्स सी–चेकका लागि गइहाल्नुभयो । त्यो कुरा पछि प्राधिकरणको जानकारीमा आयो’ उनले भने, ‘प्राधिकरणको नियम ५८ मा पूर्व अनुमति लिनेबारे व्यवस्था छ । अहिले सोही नियमअनुसार एयरलाइन्सका कर्मचारीमाथि के–कस्तो कारबाही गर्नेबारे अध्ययन गरिरहेका छौं ।’

 

 

प्रतिक्रिया