

सरकार भैरहवा विमानस्थल सञ्चालनमा लागि परेको छः पर्यटनमन्त्री पाण्डे

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले भैरहवा विमानस्थल सञ्चालनका लागि सरकार संवेदनशील भएर लागेको बताएका छन् । सोमबार २५६९औँ बुद्व जयन्तीका अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रममा मन्त्री पाण्डेले लुम्बिनीकै कारणले पनि भैरहवा विमानस्थल चल्ने बताए ।
उनले काठमाडौंबाहिर रहेका भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि बनेको कार्ययोजना तयार भएर लागु भएको बताए । कार्यान्वयनमा अझै केही समस्या रहेको बताउँदै उनले आगामी जेठ ७ गते प्रधानमन्त्रीसहित अन्तरमन्त्रालयको बैठक बसी समस्या समाधान गरिने बताए ।
मन्त्री पाण्डेले लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमि रहेको बताए । “बुद्ध समस्त मानवताको साझा ज्योति हुनुहुन्छ । उहाँको ज्ञान कल्याणकारी छ । सबै प्राणीको हितका लागि प्रज्वलित छ,” उनले भने, “बुद्ध करुणा, ज्ञान, सद्भावजस्ता श्वास्वत शिक्षाले जीनलाई सत्मार्ग र विश्व शान्तिको सन्देश विश्वभर फैलाउन सकिएको छ,” उनले भने ।
मन्त्री पाण्डेले लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन, चिन्तन र मनन केन्द्रको रूपमा पहिचान गराउन सरकार प्रतिबद्व रहेको बताए ।

