इटालियन कम्पनीमार्फत वाइडबडीको सी–चेक गर्दा घाटा, ग्राण्ड चाइनालाई दिए कति फाइदा ?


काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले आफ्नो अनुमतिविनै र आफूले मान्यता नदिएको कम्पनीमा ९ एन–एएलवाई कलसाइनको वाइडबडी जहाज सी–चेक (विस्तृत मर्मत सम्भार)का लागि पठाएको भन्दै पाँचजनालाई कारबाही गरिसकेको छ ।

नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारी, अपरेसन डाइरेक्टर दिपु ज्वारचन, कन्टिन्युइङ एयर वर्दिनेस मेन्टिनेन्स अर्गनाइजेसन म्यानेजर ज्ञानबहादुर कुँवर, क्याप्टेनद्वय रमन घिमिरे र महेश्वरमान डंगोललाई कारबाही गरिएको हो ।

कारबाहीपछि भने संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङको दबाबमा क्यानले इटालियन कम्पनीलाई सी–चेकका लागि अनुमति दिएको छ । शुक्रबार इटालियन एटीटेक एसपीएको एमआरओ (मेन्टेनेन्स, रिपेयर ओभरहल) एप्रुभ गरिएपछि वाइडबडी जहाजको सी–चेक हुने भएको छ ।

विभिन्न अनियमिततामा मुछिदै आएका नेवानिका कार्यकारी अध्यक्ष अधिकारीले स्वार्थका लागि बढी बजेट खर्च हुने इटालियन कम्पनी छनौट गरेको आरोप लागिरहेको छ । निगमले जहाज सी–चेकका लागि ६ महिना अगाडि नै एयरक्राफ्ट मेन्टिनेन्स अर्गनाइजेसन(एएमओ) छनोट गरिसक्नुपर्ने प्रावधान छ । तर, अन्तिम समयमा अधिकारीले इटलीको एटिटेकलाई छनौट गरी वाइडबडी पठाएको बताइएको छ ।

नेवानिले सी–चेकका लागि आव्हान गरेको टेण्डरमा चीनको ग्राण्ड चाइना एभिएसन र इटलीको एटिटेकले आवेदन दिएका थिए । ग्राण्ड चाइना एभिएसनले २० दिनमा र एटिटेकले ३० दिनमा जहाज सी–चेक गर्ने उल्लेख गरेका थिए । एटिटेकले ७ लाख ३४ हजार २५० र ग्राण्ड चाइना एभिएसनले ७ लाख ९८ हजार ५ सय अमेरिकी डलर प्रस्ताव गरेका थिए ।

ग्राउन्ड चाइनाले २० दिनमै सी–चेक गर्ने भनेतापनि ३० दिन लगाउने अधिकारीको सेटिङ भएको एटिटेकलाई ठेक्का दिइएको थियो । सी–चेक गर्न लाग्ने अवधिमा १० दिन कम हुँदा वाइडबडीले छिट्टै उडान भर्दा आम्दानी बढ्थ्यो भने, कम दूरीमा रहेको चिन जाँदा इन्धन पनि कम खर्च हुने जानकार बताउँछन् । तर, अधिकारीको स्वार्थमा नेवानीलाई बढी खर्च भार पारिएको स्रोत बताउँछ ।

ठाडो हिसाब गर्दा इटालीको कम्पनी एटिटेकमार्फत सी–चेकको लागत खर्च ७ लाख ३४ हजार २५० अमेरिकी डलर र ५० डलरको हिसाबले ९ हजार घण्टाको लेबर खर्च ४ लाख ९५ हजार डलर गरी १२ लाख २९ हजार २५० डर खर्च हुन आउँछ ।
भने, चीनको ग्राण्ड चाइना एभिएसनमार्फत काम गराएको भए सी–चेकको लागत खर्च ७ लाख ९८ हजार ५ सय डलर र ५० डलरको हिसाबले ९ हजार घण्टाको लेबर खर्च ३ लाख ६० हजार गरी ११ लाख ५८ हजार ५ सय डलर खर्च आउछ ।

यसरी हेर्दा चिनिँया कम्पनीलाई सी–चेकको जिम्मा दिइएको भए ७० हजार ७५० डर अर्थात् ९४ लाख नेपाली रुपैयाँ बच्ने जानकार बताउँछन् । त्यसरी नै नेपाल वायु सेवा निगमसँग भएका दुईवटै वाइडबडीलाई इटालीमै सी–चेक गर्दा १ लाख ४१ हजार ५ सय डलर अर्थात् १ करोड ८८ लाखभन्दा बढी घाटा हुने देखिन्छ ।

यस्तै इटालियन कम्पनी एटिटेकले सी–चेक गर्न १० दिन बढी लगाउँदा पनि नेवानिले घाटा व्यहोर्नुपर्ने देखिन्छ । १ दिन उडान भर्न नपाउँदा करिब डेढ करोड घाटा लाग्ने हुँदा १० दिन फ्लाइट मिस भएको अवस्थामा १५ करोड घाटा लाग्ने देखिएको छ । यसरी दुवै वाइडबडीको हिसाब गर्दा करिब ३० करोड नेवानिलाई घाटा लाग्ने जानकार बताउँछन् ।

यसरी अध्यक्ष युवराज अधिकारीसहितको टीमले आफ्नो सेटिङ गरेर करिब ३२ करोड नेवानिलाई घाटा लगाएको आरोप लागेको छ । उसै पनि घाटामै रहेको नेवानिमाथि झन् झन् आर्थिक भार बढाउने काम उनीहरुले गरिरहेको देखिएको छ ।

गत आर्थिक वर्षमा नेपाल वायूसेवा निगम ६५ करोड २९ लाख रुपैयाँ घाटामा रहेको तथ्यांक सार्वजनिक भएको थियो ।

 

प्रतिक्रिया