चाडपर्वको मुखमा निगमका दुवै वाइडबडी ‘ग्राउन्डेड’ !


काठमाडौं- नेपाल वायुसेवा निगमसँग भएका दुवै वाइडबडी ‘ग्राउन्डेड’ हुने भएका छन् । २ महिनाअघि असार ९ गते वाइडबडी ‘अन्नपूर्ण’ विस्तृत मर्मत ‘सी–चेक’ का लागि इटालीको नेपल्समा लगिएको थियो । उक्त जहाज अझै फिर्ता हुन सकेको छैन ।

यसैबीच निगमसँग भएको अर्को जहाज ‘मकालु’ लाई पनि ‘सी–चेक’का लागि पठाउने तयारी भएको छ । साउन ८ मै उक्त जहाज ‘सी–चेक’ का लागि लैजानुपर्ने थियो । तर एक महिना ढिलोगरी सो जहाजलाई पठाउन लागिएको छ ।

एकमहिनाअघि लैजानुपर्ने जहाजलाई साउन ८ गते निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको आग्रहमा प्रधानमन्त्री केपी शर्मा ओलीले रोकाएका थिए । प्रधानमन्त्रीको आग्रहमा नागरिक उड्डयन प्राधिकरणले मकालु वाइडबडीलाई ३ सय घण्टा व्यावसायिक उडान गर्न समय थपेको थियो ।

उक्त दिइएको समय सकिन लागेकाले अब भने मंगलबार जापानको नारिताबाट फर्केपछि बुधबार यो वाइडबडी दुबईसम्म यात्रु लिएर जानेछ । त्यसपछि ‘सी–चेक’ का लागि इटाली पठाइने निश्चित भएको छ ।

यसरी पहिले पठाइएको जहाज नफर्किदै अर्को जहाज पनि ‘ग्राउन्डेड’ हुँदा चाडपर्वको बेला निगयले ठूलो घाटा व्यहोर्नुपर्ने भएको छ । नियमका एक अधिकारीका अनुसार दुवै वाइडबडी ‘ग्राउन्डेड’ हुँदा दैनिक ४ करोड घाटा लाग्ने अवस्था आएको छ ।

‘सी–चेक’ नियमित र प्राविधिक प्रक्रिया भए पनि निगम व्यवस्थापनको लापरबाहीले दुवै जहाज ‘ग्राउन्डेड’ हुने अवस्था आएको उनको भनाई छ । साथै चाडपर्वमा निगमका जहाज ‘ग्राउन्डेड’ हुँदा विदेशी कम्पनीले हवाई दर बढाएर दोब्बर पुगाउने सम्भावना रहेको हुँदा स्वदेश फर्कने नेपालीलाई प्रत्येक्ष असर पर्ने बताइएको छ ।

इटालियन एटीटेक एसपीएको एमआरओ (मेन्टेनेन्स, रिपेयर ओभरहल)ले ३० दिनमा फिर्ता गर्ने भनेको ‘अन्नपूर्ण’ विमान नआइसकेको अवस्थामा अर्को ‘मकालु’को ‘सी–चेक’ का लागि मिति दिइएको छैन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने केही दिनअघि निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहितलाई बोलाएर जहाजको मर्मत चाँडो सकेर नेपाल झिकाउन निर्देशन दिइसकेको छ । उक्त दिन अध्यक्ष अधिकारीसहित निगमका चार कर्मचारी अस्ट्रेलिया गएको विषयमा पनि स्पष्टीकरण सोधिएको थियो ।

प्रतिक्रिया