एकैजनालाई ८ लघुवित्तको ऋण, १५ हजार ऋण लिनेमाथि १८ लाखको भारी


 ‘गाई त बाध्यौ ढुङ्ग्रोमा मोही छैन, मोही छैन

गरिबको चमेली बोल्दिने कोही छैन….।’

करिब ५ दशकअघि मेघराज शर्मा नेपाल (मञ्जुल) र रामेश्वर श्रेष्ठ (रामेश)ले यो गीत लेखेका थिए । गीतमा भनिएजस्तै गरिबका लागि बोल्ने कोही नभएपछि सत्यादेवी साह आफैं आफ्नो लागि न्याय मागिरहेकी छिन् । महोत्तरी गौशाला नगरपालिका–९ बस्ने उनी ४५ वर्षकी भइन् । उनले १० वर्षपहिले निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडबाट १५ हजार ऋण लिएकी थिइन् । त्यो पैसाले उनले एउटा पसल खोलिन् ।

तर, वित्तीय संस्थाको किस्ता र ब्याज तिर्न नसकेपछि उनले एकजना गाउँकै साहुबाट फेरि ऋण लिइन् । पसलबाट खासै आम्दानी भएन । र, पसल बन्द भयो । उता १३ प्रतिशत ब्याजमा ऋण दिएको वित्तिय संस्था र साहुले पैसा फिर्ता माग्न थालिसकेका थिए । त्यसपछि उनले कोरुवा लघुवित्त वित्तीय संस्थाबाट फेरि ऋण लिइन् । त्यो पैसाले साहुको ऋण चुक्ता गरिन् । तर, सुरुको निर्धनबाट लिएको ऋण चुक्ता भएन । अनि पुनः अर्को तर्घु भन्ने वित्तिय संस्थाबाट घर घितो राखेर ऋण झिकिन् । जुन घर राखेर अन्यबाट पनि उनले ऋण लिइसकेकी थिइन् ।

यसरी त्यसपछि उनले सलम्बर, फोर्वाड र राजश्रीलगायतगरी ८ वटा लघुवित्तिय संस्थाबाट ऋण लिइसकेकी छिन् । यीनैका ऋण तिर्दा–तिर्दा श्रीमानले ७ वर्षसम्म मलेशियामा कमाएको पैसा सकिसकेको छ । तर, ऋण भने चुक्ता भएको छैन । ‘सुरुमा ७/८ प्रतिशत ब्याजमा ऋण दिएका संस्थाहरुले १३ देखि १४ प्रतिशतसम्म ब्याज लिइरहेका छन् । त्यो बढेर १८ लाख पुगिसकेको छ । अब त्यत्रो रकम कहाँबाट ल्याएर तिर्नु’ उनले भनिन् ।

ऋण तिर्न नसकेपछि राजश्री लघुवित्तले उनको घरमा ताल्चा नै ठोकिदिएको छ । त्यसपछि उनको परिवार जंगलमा टहरा बनाएर बसिरहेको छ । ‘तेरो घर लिलाम गर्छु भन्दै घरमा ताल्चा ठोकेको हो । पैसा माग्ने बहानामा मलाई हेल्मेटले हान्नेदेखि मोटरसाइकलमा घिसार्दै घाउ बनाएका थिए’ उनले रुँदै भनिन्, ‘श्रीमान् बिरामी छन् । मैलै ज्यालामजदुरी गरेर दिनको ४ सय कमाउँछु । त्यसबाट घर खर्च चलाएर लघुवित्तिय संस्थाका ब्याज तिर्छु ।’ त्यसरी सधैंभरी नचल्ने भएपछि उनी खाली खुट्टा ३७ दिन हिँडेर काठमाडौं आएकी थिइन् ।

 

धितो राखेको जग्गा अर्कैको नाममा गरिदिएपछि…

रौतहटको फतुवाबिर्जापुर नगरपालिका–७ की सकुन्तला सकानुले नेश्नल बैंक लघुवित्तिय संस्था, बाराबाट ऋण लिएकी थिइन् । उनले आफ्नो १ कठ्ठा १५ धुर जग्गा धितो राख्दै ७ लाख लिएकी थिइन् । उक्त जग्गामा उनले १० लाख लगानी गरेर भैंसी पालन गर्नका लागि संरचना निर्माण गरेकी थिइन् ।

तर, अर्जुनराम साहु नाम गरेका व्यक्तिले लघुवित्तिय संस्थाका कर्मचारीको मिलेमतोमा उनको जग्गा आफ्नो नाममा गरे । ऋण लिन बैंकको नाममा नामसारी गरेको जग्गा अर्कैको भइसकेको उनले तब थाहा पाइन् जब ती व्यक्तिले उनको भैंसी फर्मका संरचना भत्काए । उनले (अर्जुनराम साहु) संरचना मात्रै भत्काएनन् जग्गा नै कब्जा गरेर त्यहाँ तरकारी खेती सुरु गरे ।

‘मैलै किस्ता र ब्याज तिर्न सक्दैन भनेर अर्जुनराम साहुले लघुवित्तिय संस्थाका कर्मचारीलाई मिलाएर जग्गा आफ्नो नाममा गरेका रहेछन्,’ सकुन्तला भन्छिन्, ‘तर मैले संस्थाको अढाई लाख तिरिसकेको थिएँ ।’

उनका अनुसार संस्थाको उक्त बद्मासीका बारेमा जानकारी पाएपछि जग्गा फिर्ता गराइदिन धेरै प्रयास गरिएको थियो । तर, जग्गा नामसारी गर्दा साहुको १ लाख २० हजार खर्च भएको भन्दै उक्त रकम तिरेपछि मात्रै जग्गा लघुवित्तिय संस्थाको नाममा गरिने बताइयो । ‘मैले अरुबाट ऋण लिएर भएपनि तिर्छु, जग्गा मेरो अथवा लघुवित्तिय संस्थाको नाममा गर्न आग्रह गरेँ तर शाहुले मानेनन् । उल्टै मार्ने डर धम्की दियो । त्यो तनावले मेरो श्रीमानले विष नै सेवन गरे, बल्लतल्ल डाक्टरले बचाए ।’

नेशनल बैंक लघुवित्तिय संस्थाका कर्मचारीसँग मिलेमतो गरेर जग्गा अरुले नै हडपिएपछि उनी न्यायका लागि वडा कार्यालयदेखि प्रहरीसम्म धाइन् । तर, कतैबाट केही पहल नभएको उनको गुनासो छ । ‘त्यो साहु गाउँमा बलियो छ । हामी गरिबको सुन्ने को छ र?’ उनले प्रश्न गरिन् ।

फतुवाबिजयपुर नगरपालिका–७ कै जसोदिया चमारका श्रीमान् नशा सम्बन्धी बिरामी छन् । उनकै उपचारका लागि जसोदियाले निरोधित लघुवित्त वित्तिय संस्थाबाट ३ लाख ऋण लिएकी थिइन् ।

आफू बसेको १ कठ्ठाको घडेरी धितो राखेर महिनाको ९ हजार किस्ता तिर्ने सहमति संस्थासँग भएको थियो । ज्याला मजदुरी गर्ने उनको काम कोरोना महामारीका कारण रोकियो । आम्दानी रोकिएसँगै उनको किस्ता पनि रोकियो । जसोतसो कोरोना महामारी कम भएपछि उनले काम पाउन थालिन् । तर, अब भने उनलाई पहिला तिरेको किस्ता भुलेर सुरुबाट किस्ता तिर्न भनियो ।

‘अहिले निरोधित लघुवित्तले सुरुबाट किस्ता तिर भन्छ । धेरै रकम तिर्दा पनि साँवा जस्ताको तस्तै छ । जसको ब्याज पनि ४० हजार तोकिएको छ’ उनी भन्छिन्, ‘नतिरे घरबाट बाहिर निस्क जग्गा लिलाम गर्छु भनेर कर्मचारीले दैनिक धम्की दिन्छन् ।’ लघुवित्तिय संस्थाको धम्कीका कारण उनी अहिले पनि आजित छिन् ।

 

लघुवित्तको त्रासले रित्तियो गाउँ

डडेल्धुराको अमरगढी नगरपालिका–६ छचोडाकी मानी ताम्राकार उमेरले उमेरले ७३ नाघिन् । अहिले उनी घरमा एक्लै छिन् । एक्लै बस्नुको कारण लघुवित्तबाट लिएको ऋण तिर्न नसक्नु ।

उनका छोरा घनश्याम श्रीमती र छोराछोरीसहित बेपत्ता छन् । एकातिर बुढेसकालको सहारा छोराको अवस्था अज्ञात छ भने ऋणले गर्दा उनको दैनिकी नै तनावपूर्ण बनेको छ ।

आरन व्यापार गर्दै आएका घनश्याम र उनको परिवार लघुवित्तबाट लिएको ऋण तिर्न नसकेपछि फरार छन् । मानीका छोरा घनश्यामलाई ५ वर्ष अगाडि गाउँमा प्रवेश गरेका लघुवित्तकर्मीले बचत पनि हुने र समस्या पर्दा सहजै ऋण पाउन सकिने भन्दै अनेक आश्वासन दिए । त्यसपछि उनले व्यवसाय उकास्ने भन्दै लघुवित्तबाट ५ लाख ऋण लिए । तर, ऋण दिएको लघुवित्त संस्थाले ब्याजदर मात्रै होइन, विभिन्न शुल्कको नाममा असुली धन्दा नै चलाएपछि ऋण तिर्न नसकी उनी श्रीमती र छोराछोरी लिएर बेपत्ता छन् । घरमा एक्लै रहेकी मानीलाई लघुवित्तकर्मीले अनेक डर धम्की दिने गरेका छन् ।

लघुवित्तका कारण अहिले त्यहाँका बस्तीहरू त्यसरी नै रित्तिन थालेका छन् । कतिपयका घरमा संस्थाका कर्मचारी आएर ताला लगाइदिएका छन् भने कतिपय ऋण र संस्थाका कर्मचारीले दिने मानसिक यातनाका कारण गाउँ नै छोडेर अन्यत्र पलायन भएका छन् ।

प्रत्येक टोलमा महिलाको समूह गठित गरी समूहमा बचत गर्ने, कर्जा निकाल्ने र लगानी गर्ने उनीहरूको प्रतिस्पर्धा पनि बढेको छ । आकर्षक ‘स्किम’ ल्याएर ऋण लिन बाध्य बनाउने यी संस्थाले ऋण असुल गर्दा नागरिकलाई प्रताडित बनाउने गरेका छन् ।

प्रतिक्रिया