पूर्व डीएसपीको आरोपपछि गृह मन्त्रालय सतर्क, भिजिट भिसा प्रकरणमा आन्तरिक छानबिन सुरु


काठमाडौं- भिजिट भिसासम्बन्धी अनियमितता छोप्न राजनीतिक चलखेल भएको गम्भीर आरोपपछि गृह मन्त्रालयले आन्तरिक छानबिन थालेको छ। नेपाल प्रहरीका पूर्वडीएसपी गोविन्द पन्थीले सार्वजनिक गरेका दाबीहरूलाई मन्त्रालयले गम्भीर रूपमा लिएको हो।

पूर्वडीएसपी पन्थीले सामाजिक सञ्जालमार्फत आफूले भिजिट भिसाको नाममा भइरहेका व्यापक भ्रष्टाचारको अनुसन्धान थालेकै कारण सरुवा गरिएको दाबी गरेका छन्। उनले अनुसन्धानलाई रोक्न तत्कालीन उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र तत्कालीन प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाएका छन्।

पन्थीका अनुसार, २०८० असोज १९ गते उपत्यका अपराध अनुसन्धान कार्यालयमा १,६४१ वटा शंकास्पद राहदानीसहितका कागजातहरू प्राप्त भएपछि प्रारम्भिक अनुसन्धान मानव बेचबिखन अनुसन्धान ब्युरोले थालेको थियो। तर पछि अनुसन्धान फाइल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा हस्तान्तरण गरियो।

यता, अनुसन्धान सुस्त हुँदा एसएसपी सोमेन्द्र सिंह राठौरको निर्देशनमा पन्थीको टोलीलाई पुनः जिम्मेवारी दिइएको थियो। तर, अनुसन्धान तीव्र बनिरहेका बेला पन्थीको सरुवा गरिएको छ, जसले अनुसन्धानमै अवरोध पुगेको संकेत गर्छ।

पन्थीले भिजिट भिसामा लागू गरिएका मापदण्डहरू पनि मनोमानी रूपमा परिवर्तन गरिएको आरोप लगाएका छन्। उनका अनुसार १७ बुँदे मापदण्डलाई गृहमन्त्री श्रेष्ठको कार्यकालमा घटाएर ६ बुँदे बनाइएको थियो, जसका कारण नेपालीहरू जोखिमयुक्त देशमा अलपत्र परेको अवस्था सिर्जना भएको छ।

यसबीच, पन्थीले भिजिट भिसा प्रकरणमा तत्कालीन प्रधानमन्त्रीको सचिवालय समेत अनुसन्धानको दायरामा आउनुपर्ने बताउँदै अध्यागमन क्षेत्रको अनियमितता छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठनको माग गरेका छन्।

गृह मन्त्रालय स्रोतका अनुसार पन्थीको खुलासालाई लिएर प्रारम्भिक आन्तरिक छानबिन सुरु भइसकेको छ र आवश्यक परे थप अनुसन्धान गर्न स्वतन्त्र संयन्त्रको पनि गठन हुनसक्ने देखिएको छ।

 

प्रतिक्रिया