

पूर्वसभामुख महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला

काठमाडौं- पूर्वसभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लगाउँदै सार्वजनिक भएकी रोशनी शाही आइतबार मृत अवस्थामा फेला परेकी छिन्। भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित डेरामा उनी मृत भेटिएकी हुन्।
प्रहरीका अनुसार उनको कोठाभित्र चुकुल लगाइएको थियो र एक सुसाइड नोट पनि फेला परेको छ। यद्यपि, प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी राखेको जनाएको छ।
पूर्वसभामुख महराविरुद्ध २०७६ सालमा सार्वजनिक बलात्कार आरोपले नेपाली राजनीतिक वृत्तमा ठूलो तरंग ल्याएको थियो। रोशनीले महराले मादक पदार्थ सेवन गरी आफू बसेको कोठामा आएर जबर्जस्ती गर्न खोजेको आरोप लगाएकी थिइन्।
त्यसपछि महराले राजीनामा दिएर केही समय जेल यात्रा पनि गरेका थिए। तर अदालतमा रोशनीले आफ्नो बयान परिवर्तन गरेपछि महरा सफाइ पाउँदै रिहा भएका थिए।
उनका छोराछोरी विदेशमा छन् भने श्रीमान कामको सिलसिलामा उपत्यका बाहिर रहेको प्रहरीको भनाइ छ।

