

काठमाडौंमा लागुऔषध कारोबारमा संलग्न चारजना पक्राउ, सयौँ क्याप्सुल ट्रामाडोल बरामद

काठमाडौं- काठमाडौंको बल्खु क्षेत्रमा लागुऔषध कारोबारमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूको साथबाट ठूलो परिमाणमा ट्रामाडोल क्याप्सुलसहित नगद र मोबाइलहरू समेत बरामद गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार, पक्राउ पर्नेहरूमा सिन्धुलीका २४ वर्षीय होमराज श्रेष्ठ, काभ्रेका २३ वर्षीय रविन श्रेष्ठ, नुवाकोटका २१ वर्षीय सुरेन्द्र अछामी र धादिङका २५ वर्षीय विजय आलेमगर रहेका छन्।
बल्खु क्षेत्रको सडकमा शङ्कास्पद तवरले हिँडिरहेका होमराज श्रेष्ठलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनीसहित अरू तीन जनाको संलग्नता खुलेको हो। प्रहरीले उनीहरूबाट १,०६७ क्याप्सुल ट्रामाडोल, रु १९ हजार ५०० नगद र विभिन्न कम्पनीका छ वटा मोबाइल बरामद गरेको छ।
पक्राउ परेका अभियुक्तहरूमाथि काठमाडौं जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

