कानुनी साक्षरतासम्बन्धी ‘प्रशिक्षक प्रशिक्षण’ सम्पन्न


काठमाडौं – सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई कानुनका आधारभूत विषयमा जानकारी गराउने उद्देश्यका साथ डेमोक्र्याटिक लयर्स एसोसिएसन नेपाल (डिएलए–नेपाल) ले आयोजना गरेको ५ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

देशैभरका सामुदायिक विद्यालयका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूलाई कानुनबारे आधारभूत जानकारी दिने उद्देश्यका साथ विद्यालयमा कानुनसम्बन्धी कक्षा सञ्चालन गर्नका लागि प्रशिक्षकहरूलाई प्रशिक्षण गरिएको थियो ।

आइतबारदेखि सञ्चालन भएको प्रशिक्षणमा ४९ जना कानुन व्यवसायीको सहभागिता थियो । मुख्य प्रशिक्षकका रूपमा इन्द्रनारायण भैलले तालिमको विधि र पद्धतिका विषयमा प्रशिक्षण दिएका थिए । साथै, विषयगततर्फ देवानी संहिता र आजको सन्दर्भमा वरिष्ठ अधिवक्ता हरिहर दाहाल, सम्पत्ति अधिकारमा वरिष्ठ अधिवक्ता गुणनिधि न्यौपाने, शक्ति पृथकीकरण र विधिको शासनमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य, नागरिक अधिकारमा वरिष्ठ अधिवक्ता यदुनाथ खनालले प्रशिक्षण दिएका थिए ।

त्यस्तै, कानुनका सामान्य सिद्धान्त र व्यवहारमा वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र, साइबर कानुनमा अधिवक्ता बाबुराम अर्याल, संघीयता कानुनमा अधिवक्ता रुद्रप्रसाद शर्मा, बालअधिकारमा अधिवक्ता बद्रीप्रसाद भुसाल, फौजदारी कानुनमा अधिवक्ता बलरामप्रसाद राउत, देवानी संहितामा पारिवारिक कानुनमा अधिवक्ता विष्णु बस्याल, मानवअधिकार र कानुनी संरक्षणमा अधिवक्ता कल्याण पोखरेललगायतले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणको समापन कार्यक्रमको सभापतित्व गरेका वरिष्ठ अधिवक्ता तथा डिएलए नेपालका अध्यक्ष सीताराम केसीले ५ दिने प्रशिक्षण कार्यक्रम उपलब्धिमूलक रहेको बताए । साथै केसीले प्रशिक्षणका विषयमा जानकारी गराउँदै पहिलो चरणमा पाइलट परियोजनाअन्तर्गत काठमाडौँ महानगरका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई कानुनबारे कक्षा दिइने र विस्तारै देशका ७५३ वटै स्थानीय तहका विद्यालयमा पुगेर कानुनबारे कक्षा सञ्चालन गर्ने योजना रहेको बताए ।

प्रतिक्रिया