

ज्वेलर्स अनुगमनका लागि टोली पुग्दा व्यवसायी फरार

राजविराज – अनुगमन टोली आउने खबर फैलिएपछि राजविराजका अधिकांश सुनचाँदी पसल बुधबार दिनभर बन्द रहे। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्ज र गुणस्तर तथा नापतौल कार्यालय विराटनगरबाट आएको टोलीले ज्वेलर्स पसल अनुगमन गर्ने जानकारी पाएपछि व्यवसायीहरू अगावै पसल बन्द गरेर हटेका हुन्।
अनुगमन टोलीले खुला रहेका थोरै पसलहरूमा मात्र निरीक्षण गर्न सकेको छ।
सुनचाँदी व्यवसायी संघ राजविराजका अध्यक्ष नारायण रञ्जनले आफू बाहिर रहेको जनाउँदै विषयबारे जानकारी लिएपछि प्रतिक्रिया दिने बताए। उनले आफ्ना सदस्यहरूलाई पसल खोल्न भनेको दाबी पनि गरे।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले अनुगमनको विस्तृत विवरण पछि दिने बताए।

