

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू बीच बालुवाटारमा बैठक

काठमाडौं- सत्तारुढ दुई दल — नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्तामा जुटेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार केहीबेर अघिदेखि सुरु भएको यो बैठकमा समसामयिक राजनीतिक मुद्दा, सरकारको कामकारबाही र आपसी समन्वयका विषयमा छलफल भइरहेको छ।
छलफलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र कृषिमन्त्री रामनाथ अधिकारी सहभागी छन्। कांग्रेसतर्फबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा सहभागी छन्।
भिजिट भिसा वितरणमा अनियमितता सम्बन्धी विवाद चुलिँदै गएको बेला मन्त्री लेखक बैठकमा सहभागी हुनु विशेष चासोको विषय बनेको छ। एमाले सचिवालयको बैठकपछि प्रधानमन्त्री ओली कांग्रेस नेताहरूसँग छलफलमा बसेका हुन्।

