

विदेश पठाउने भन्दै ठगी गर्ने १९ वर्षीया युवतीसहित ५ पक्राउ

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै ठगी गर्ने ५ जनालाई पक्राउ गरेको छ ।
कार्यालयका पक्राउ पर्नेमा सिन्धुपाल्चोकका युवराज सापकोटा, बुढानिलकण्ठकी श्रृती शाही, सोही ठाउँकी मन्दिरा बोम्जन गुरुङ, कैलाली टिकापुरकी अस्मिता बम र सुनसरी भोक्राहाकी अनिताकुमार यादव रहेको प्रहरीले जनाएको छ ।
ती मध्ये सापकोटाले न्यूजिल्याण्ड पठाइदिन्छु भनी जितमाया बलसँग ९० हजार रुपैयाँ ठगी गरेको खुलेको छ भने १९ वर्षीया श्रृती र मन्दिराले मकाउ पठाइदिने भन्दै ३ लाख ९३ हजार ठगी गरेको उजुरी परेको छ ।
त्यस्तै अस्मिताले कोरिया पठाइदिने भन्दै ५ लाख ७१ हजार ठगी गरेको खुलेको छ भने अनिताले कतार पठाउनका लागि ५० हजार रुपैयाँ लिएर ठगी गरेको कार्यालयले जनाएको छ ।

