

गभर्नरका लागि तीन जनाको नाम सिफारिस, एक नम्बरमा काे ?

काठमाडौं — गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ, जसमा अर्थशास्त्री डा. विश्व पौडेलको नाम पहिलो नम्बरमा रहेको छ। समितिको बैठक मंगलबार अपराह्न सिंहदरबारमा बसेको थियो।
स्रोतका अनुसार अर्थमन्त्री विष्णु पौडेल सिफारिस सूची लिएर बैठकपछि सिधै बालुवाटार पुगेका छन्, जहाँ मन्त्रिपरिषद्को बैठक केहीबेरमै बस्दैछ। सो बैठकमा नयाँ गभर्नरको नियुक्तिबारे निर्णय हुने अपेक्षा गरिएको छ।
विश्व पौडेललाई गभर्नर बनाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मंगलबार बिहानै राजनीतिक सहमति भइसकेको स्रोतले बताएको छ।
यद्यपि अन्य दुई व्यक्तिको नाम सार्वजनिक गरिएको छैन, तर विश्व पौडेलको नाम पहिलो नम्बरमा सिफारिस भएकाले उनको नियुक्ति प्रायः सुनिश्चित भएको देखिन्छ।
गभर्नरको नियुक्तिका लागि मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ। त्यसैले अबको केही घण्टामै नयाँ गभर्नरको टुंगो लाग्ने सम्भावना बलियो बनेको छ।

