हसाउने कपिलको रुवाउने कथा
मुम्बई(एजेन्सी)– भारतीय कमेडियन कपिल शर्मालाई जोकोहीले पनि कमेडीको बादशाह भन्छन् । त्यहीकारण उनी प्रत्येक घरमा लोकप्रिय छन् । भारतको अमृतसरमा जन्मिएका कपिल एक निम्न वर्गीय परिवारमा जन्मिएका कलाकार हुन् । कपिलका पिता पुलिस हेड कन्स्टेबल थिए । कपिल सानो हुँदा नै क्यान्सर रोग देखिएका उनका पिताको सन् २००४ मा निधन भएको थियो । त्यहीकारण पनि कमै उमेरमा कपिलमाथि परिवारको जिम्मेवारी आएको थियो ।
सन् २००७ मा कमेडी शो ‘लाफ्टर च्यालेन्ज’को विजेता भएपछि कपिलको जीवनमा एक टर्निङ पोइन्ट आयो । यो त्यही समय हो, जुन बेला कपिलको बहिनीको विवाह हुने तयारी भइरहेको थियो र उनीसँग बहिनीका लागि औठी किन्नेसमेत पैसा थिएन । उनले ‘लाफ्टर च्यालेन्ज’ शोमा जितेको पैसाले उनले बहिनीको विवाह गरिदिएका थिए ।
त्यो समयमा कपिलको कमेडीको चर्चा बलिउडमा हुन थालिसकेको थियो । त्यही समयमा कपिल एकपछि अर्को गर्दै कैयौं शो जस्तै ‘कमेडी सर्कस’, ‘झलक दिखला जा’ र ‘छोटे मियाँ’ को होस्ट गर्न थाले । तर कपिलले आफ्नो शो ‘कमेडी नाइट्स विथ कपिल’ लिएर आएपछि मात्र उनले टेलिभिजन उद्योगमा ठूलो ब्रेक पाए । यो नयाँ कन्सेप्टको शोले भारतमा तहल्कै मच्चायो र कपिल रातारात कमेडीका बादशाह बने ।
यही बीचमा जुन समयमा शोले प्रख्यातीको शिखर चुमिरहेको थियो, त्यही बेला कपिल र यो शोका प्रमुख व्यक्ति सुनील ग्रोवरबीच भएको झगडाले सबै कुरा चौपट बनाइदियो । यसले यस्तो समस्या ल्याइदियो कि कपिलले शो नै बन्द गर्नुपर्यो । त्यहीकारण उनी डिप्रेसनमा परे । यो कपिलको करियरको सबैभन्दा समस्याग्रस्त समय थियो । उनी एक हिसाबले टेलिभिजन उद्योगबाट बाहिर भइसकेका थिए ।
यद्यपि कपिलले आफ्नो पछिल्ला गल्तीबाट पाठ सिक्दै एक नयाँ शो ‘द कपिल शर्मा शो’को शुरुवात गरे, जुन शो सुपरहिट साबित भयो । पुनः एकपटक फेरी त्यही भयो, जुन सबैमा डर थियो । कपिलको खराब बानी, डिप्रेसनमा भएको खबरका बीच यो शो केही दिनका लागि बन्द भयो । यो बेला पनि कपिलको करियर सकिएको धेरैले अनुमान गरेका थिए । तर उनी एक योद्धा भएर निस्किए, किनकी उनको शो पुनः जबरदस्त हिट भयो ।