बाबुले गरेको अपराधको मूल्य चुकाएकी हुन् भागरथी भट्टले?


अल्बर्ट आइन्स्टाइन भन्छन्– कमजोर मानिस बदला लिन्छन्। सहनशक्ति भएका मानिसले माफी दिन्छन्। बौद्धिक मानिसले वास्ता गर्दैनन्।

घटनाको भौगोलिक र सामाजिक परिस्थितिलाई मसिनोगरी केलाउने मौका नपाए पनि मिडियामा आएका र प्रहरीले तयार पारेको अनुसन्धान विवरणलाई आधार मानेर एउटा प्रश्न गर्ने कौतुहलता जागेको छ।

यो कुनै मनोरञ्जनका लागि जागेको उत्सुकता होइन, यो एउटा समाजको चित्र, प्रशासनको विचित्र र मनोविज्ञानले पैदा गरिरहेको सामाजिक चरित्रमाथिको प्रश्न हो।

निर्मला पन्त बलात्कार र हत्या घटनाको कुनै अभियुक्त प्रहरीले उभ्याउन सकेको भए त्यसमाथि पनि प्रकरणपर्यन्त प्रश्नहरू जन्मिन सक्ने थिए। ति प्रश्नहरू जन्मिनेछन् र ति गर्भमा छन् अहिले। जुन दिन सामाजिक अपराधको तस्बिरका प्रारम्भिक बिम्बहरू देखाइनेछन्, अवश्य प्रश्नहरूको गर्भाधान हुनेछ।

अहिलेको प्रसङ्ग बैतडीकी १७ बर्षिया भागरथी भट्टले चुकाएको मूल्य, पाएको कष्टप्रद मृत्युमाथि हुनेछ। यो त्यो समाजका लागि पनि हुनेछ जसले सामाजिक चेतको ठेक्का लिएर अर्बौं डलर खर्चिँदै सामाजिक न्यायको व्याख्या गर्छन्।

डलरवादीसँग ठूला होटलमा बसेर गाउँका मसिना दुखको प्रतिवेदन तयार पार्छन् र दुखित तस्बिर देखाएर आफ्नो नीजि ढिकुटी भर्दै दरबारमार्गका आलिसान रेष्टुरेन्टहरूमा मदिराका मायापिरती गाउँछन्। विदेशका ठूला सहरमा अंग्रेजीमा एकाध भाषण छाँट्छन् र मैमत्ता भएको गीत गाउँछन्।

तिनीहरूको सामुन्ने उभिएर प्रश्नका उरुङ लगाउनु धेरै छन्। एक डालो, एक डोको होइन भकारीका भकारी प्रश्न छन् छरियो भने टुँडीखेलमा विस्कुनसरह हुनेछन्।

तर तत्कालका लागि प्रश्न प्रशासनिक निकायलाई गरिनेछ। त्यसमा पनि प्राथमिक जिम्मेवारी पाएको प्रहरीलाई र त्यसका जिम्मेवार अधिकारीलाई गरिन्छ।

प्रहरीले अनुसन्धानलाई मिडियामार्फत कसरी अभियुक्त पक्राउ गरेको थियो, घटनापछि के कसरी अनुसन्धान गरियो भनेर अब्बलताका प्रमाण पेस गरेको छ। यसमा उसलाई धन्यावाद नै दिने हो। तर, एउटा केटो, १८ बर्षको किशोर, ११ कक्षामा पढिरहेको केटो यो अपराधको चरणमा पुग्ने कारण के थियो?

प्रहरी बोल्न चहाँदैन। उसले भागरथी भट्टको हत्याको मुख्य कारणलाई केलाएको छ तर सुनाउन चहाँदैन। अभियुक्तका रुपमा अनुसन्धानका लागि म्याद थपिएको दिनेश भट्टको बयान मध्यको एउटा वाक्यांश छ– भागरथीका बाबुले मेरी फुपूलाई अन्याय गरे, त्यहि भएर प्रतिशोध लिएको हुँ।

तर दुनियाँलाई भन्न चहाँदैन प्रहरी– प्रतिशोध लिएको तर किन? समाचारको मूल्य नै किन भन्ने प्रश्नमा उधिनिएको हुन्छ। हामी हरेक मुद्दामा किन खोजीरहेका हुन्छौं तर भागरथी हत्या प्रकरणमा किनको उत्तर किन छैन? यो प्रश्न प्रहरीतिर तेर्सिन्छ। यदि यो किनको उत्तर थिएन भने हतारमा किन गरियो पत्रकार सम्मेलन र दिइयो अपूरो जानकारी?

त्यसका लागि पत्रकार मनबहादुर बस्नेतले शिलापत्रमा लेखेको एउटा समाचारको अंशलाई सन्दर्भ सामग्रीका रुपमा यहाँ प्रस्तुत गर्दछु।

किशोरको बदलावभाव पहिल्याउन भने चार दशकअघि फर्कनुपर्ने हुन्छ ।

भागरथीका बुबा कृष्णानन्दले अनैतिक सम्बन्ध राखेर दिनेशकी एक नातेदार गर्भवती बनेको आधा दर्जन स्थानीयबासीले दाबी गरे। घटना २०४० सालतिरको भएको बैतडी दोगडाकेदार गाउँपालिका–७ का वडासदस्य महादेव भट्टले लख काटे। ‘घटनाचाहिँ भएको हो । ठ्याक्कै तिथिमिति याद छैन,’ उनले टेलिफोनमा भने, ‘हामी सानै थियौँ ।’

राजनीतिक दलका नेता, प्रधानमन्त्री पूर्वप्रधानमन्त्रीहरू हामी यहाँ छौं भनी कहाँ थिए? दिनेशको गरिब परिवारको घरमा तिम्रा लागि हामी यहाँ छौं भन्न पुगेको रहेछ? भागरथी जस्ती एउटी आमाकी साहराका निम्ति हामी यहाँ छौं भन्न पुगेको रहेछ? भौतिक पुग्ने कुरा होइन, हामी यहाँ छौं भन्ने चेत मात्र पुगे पनि हुन्थ्यो तर कहाँ रहेछन् त नेताहरू?

भागरथीका बुबा कृष्णानन्दबाट दिनेशकी आफन्तको पेटमा गर्भ रहेपछि कृष्णानन्द गाउँ छोडेर भारत भागेका थिए। भारतको हिमाञ्चल प्रदेशमा ४ वर्ष काम गरेर फर्किएपछि कृष्णानन्दलाई प्रहरीले पक्राउ गरेको महादेव बताउँछन्। आफू त्यतिबेला १०–११ वर्षको भएको उनी सम्झन्छन्।

कृष्णानन्द बैतडी कारागारमा छ महिना सजाय भोगेको आफूले सुनेको स्थानीय भूमिराज माविका प्रधानाध्यापक प्रजापति भट्ट बताउँछन् । ‘धेरैअगाडिको कुरा हो अब त बिर्सिसक्यौँ,’ उनी भन्छन्। जबर्जस्ती करणी मुद्दामा पक्राउ परेर जेल बसेको भन्ने आफूले थाहा पाएको उनको भनाइ छ।

अदालतले छ महिना कैद सजाय तोकेर भागरथीका बुबा जेलमुक्त भएका हुन् वा सफाइ पाएका हुन् भन्नेचाहिँ खुलेको छैन।

महादेवका अनुसार हत्या आरोपित दिनेश र पीडित भागरथी दुवै गरिब परिवारमा पर्छन्। दुवै परिवार खेतीकिसानीबाट मात्र खानलाउन नपुग्ने भएकाले ज्याला मजदुरी पनि गर्छन्।

दिनेशका बुबाआमा ज्यालामजदुरी गर्छन्, गाउँमै। दिनेशका दुई बहिनी र एक भाइ छन्, जो सबै सुस्त मनस्थितिका छन्। ‘चार जना सन्तानमध्ये तीन जना सुस्त मनस्थितिका छन्।

उपर्युक्त वाक्यांशमा उल्लेख गरेको आइन्स्टाइनको भनाईलाई यहाँ जोड्न चहान्छु। अभियुक्त दिनेश सहनशक्ति बुझ्न सक्ने मानिस होइनन्। बौद्धिक बनिसकेका छैनन्। उनी कमजोर थिए र छन्। त्यसैले उनले बदला लिनका लागि भागरथीको जीवन खोसेका हुन्?

यो प्रकरण अदालतमा पुग्न बाँकी छ। अहिले नै दिनेशलाई अपराधी करार गर्नु अन्याय हुनेछ, पत्रकारिताको धर्ममा। तर, उनले साबिती बयान दिएको भन्ने प्रहरीको भनाई र सार्वजनिकीकरण नै गरेपछि अब, समाजमाथि पनि प्रश्न गर्नुपर्छ। यहाँनेर डलरधारीहरू र स्थानीय सरकार पनि जोडिनेछ। राजनीति त अनिवार्य जोडिनेछ।

नेपथ्यका दुखदायी प्रश्नहरू

जब भागरथीको बलात्कार र हत्या भयो, राजनीतिक विवादमा उँचा उँचा मञ्च बनाएर सुकिला सोभामा करोडौंका गाडी चढेर आएकाहरूका तेजिला भाषण सरकारतिर सोझिए। केही थान महिला अधिकारकर्मी गृहमन्त्रीलाई भेट्ने बाहनामा सिंहदरबारतिर पुगे। प्रहरी खुसी भएर पत्रकार सम्मेलनमा उत्रियो। गृहमन्त्रीले फेसबुकमार्फत ठूलो अपराधलाई समाप्त पारेको प्रष्ट पारे।

दिनेश पूरापूर अपराधी बनिसकेको छ, अब। उ अभियुक्त त समाचारका शव्दमा मात्र होला। कतिपयले त ‘हत्यारा’ भनी करार गरिसके। स्थानीय सरकारले त प्रहरीलाई फूलमाला लगाएर युद्ध मैदानमा जितेको जस्तो भनिसक्यो।

तर दिनेशहरू कसरी जन्मिए? दिनेशहरू किन अपराधी बनिरहेका छन्? दिनेशहरूलाई प्रतिशोध लिनका लागि या त्यो बाटोमा हिँड्नका लागि समाजको कुन यस्तो चिजले बाध्य पारेको छ? मानिस अपराध गर्न प्रेरित हुन्छ र? बाध्य हुँदैन? त्यो बाध्यकारी अवस्था के हो? उसको लाचारी। न्याय पाइँन भन्ने मनोविज्ञान होइन?

त्यति कमजोर परिवारको मानिसमा ४० बर्षदेखिको त्यो प्रतिशोधको ज्वारभाटा किन गडिरहेको थियो? के उसको पारिवारिक कमजोरी र लाचारीमाथि कुनै डलरवादीको आँखा पुगेको थियो? उसको लाचारी, गरिबी र परिवारको दयनिय अवस्थाले जन्माएको मनोवैज्ञानिक त्रास र बदलाको भावनामाथि स्थानीय सरकारको नजर पुगेको थियो?

उसले लिएको बाटो र बनाइरहेको आपराधिक सोचको मार्गलाई निमिट्यान्न पार्ने राजनीतिक दलको चेत उसको दैलोसम्म पुगेको रहेछ? देशमा ठूला ठूला लोकतन्त्र हरण भयो भन्ने मिडियाका कयन चित्कारहरूका ठूला अक्षर उसको बाध्यता र कमजोरीका आवाज सम्बन्धित निकायमा पहुँच बनाइदिनका लागि प्रतिनिधि बनेको थियो त? के भागरथीको जीवन रक्षाको, उसको स्वतन्त्रता र अवस्था आउन सक्ने आँकलनका निम्ति कुनै पुगेको थियो?

के भागरथीका बुवा त बिते तर बाबुले त्यस्तो अपराध गरेकै हो भने उनले त्यसको मुल्य चुकाउनुपर्ने अवस्था नआओस् भन्ने समाजको सृष्टि भएको रहेछ? गराइएको रहेछ? अनि, के परिवर्तन? यी नेपथ्यका दुखदायी प्रश्नहरू निर्मला हुँदै भागरथीसम्म पुगेका छन्। तर राजनीति गर्ने समाजमा चेतना, समस्याको समाधानका निम्ति मनोवैज्ञानिक खुसी पुराउने कोही पुगेका रहेछन् त?

तितो लाग्न सक्छ यी नेपथ्यका दुखदायी प्रश्नहरू हुन्। राजनीतिक दलका नेता, प्रधानमन्त्री पूर्वप्रधानमन्त्रीहरू हामी यहाँ छौं भनी कहाँ थिए? दिनेशको गरिब परिवारको घरमा तिम्रा लागि हामी यहाँ छौं भन्न पुगेको रहेछ? भागरथी जस्ती एउटी आमाकी साहराका निम्ति हामी यहाँ छौं भन्न पुगेको रहेछ? भौतिक पुग्ने कुरा होइन, हामी यहाँ छौं भन्ने चेत मात्र पुगे पनि हुन्थ्यो तर कहाँ रहेछन् त नेताहरू? नेपथ्यका प्रश्न दुखदायी छन्।

प्रश्नहरू मर्ने छैनन्। अब निरन्तर चलिरहनेछन्। उठीरहनेछन्। हाम्रो काम उठान गर्ने हो, हामी उठाउँछौं। राज्यको त कुरै छाडौं यो त कहीँ पनि छैन। बस्, पशुपतिनाथको चरणमा छ र देश हाँकिरहेका छन्, पशुपतिनाथले। त्यसैले सबैको कल्याण भइरहेको छ।

प्रतिक्रिया